भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री, स्थानीयले ज्ञापनपत्र बुझाउने | Khabarhub Khabarhub

भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री, स्थानीयले ज्ञापनपत्र बुझाउने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर शुरुङ खन्ने मेसिन (टिबिएम)लाई सुरुङबाहिर निकाल्नेछन्  । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मङ्गलबार बिहान ११ बजे आयोजना हुने ‘ब्रेक थ्रु’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो ।  २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए ।

‘नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन जडान गरी निर्माण भइरहेको यो नमूना आयोजना हो,’ आयोजनाका निर्देशक बरालले भने, ‘विभिन्न अवरोध, आशङ्काकाबीच निर्धारित समयभन्दा ठीक एक वर्षअघि नै सुरुङ निर्माण गर्न सफल भयौंँ, यसले आयोजनालाई मात्र होइन सिङ्गो मुलुकलाई ठूलो हौसला मिलेको छ, त्यही सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको उपस्थितिमा ‘ब्रेक थ्रु’ को तयारी गरेका हौँ ।’

सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् ।

प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् ।

विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।

त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब ४ अर्ब ३ करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक ३ अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

आयोजनास्थलका बासिन्दाले रोजगारी पाउनुका साथै प्रभावित क्षेत्रका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।  १० अर्ब ५० करोडमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार सुरुङ निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न  ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य छ ।

प्रभावित क्षेत्रलाई सम्बोधन गर्न माग

प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारीजस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने बताएका छन् । स्थानीयवासीले यही विषयमा मङ्गलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

गुर्भाकोट, भेरीगङ्गा र लेकबेँसी नगरपालिकाका भेरी र बबई किनारका बासिन्दाको भेलाले भेरी–बबई सरोकार समाज गठन गरेको छ । संयोजक जेवी सुनारले भेरी बबई आयोजनाले पुर्‍याउने क्षतिको न्यूनीकरण गर्न समयमै सम्बन्धित निकायलाई सचेत गराएको बताए । ‘प्रवेशद्वार र निकास दुवै भेरीगङ्गा नगरपालिकामा पर्छ, हामीले पाउने लाभ के हो ? अहिलेसम्म यकिन छैन’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा हामी अवरोध गर्न चाहदैनौँ, तर स्थानीयका मागलाई कुनै न कुनै हिसाबले सम्बोधन हुन जरुरी छ ।’

भेरी बबई सरोकार समाजले आयोजनाबाट उत्पादन हुने विद्युतमा स्थानीय जनताको शेयर तथा स्थानीय सरकारलाई निःशुल्क शेयर दिनुपर्ने माग अघि सारेको छ । त्यस्तै, भेरीगङ्गाका साथै प्रभावित क्षेत्रमा पर्ने गुर्भाकोट र लेकबेँसी नगरपालिकाले सिँचाइ सुविधा र विद्युतकाे स्वामित्व पाउनुपर्ने र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग छ ।

– शुरबहादुर सिंह र प्रकाश अधिकारी/रासस

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ५६ बजे

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स

काठमाडौं – प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म

जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद

जनकपुरधाम– विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र

अर्थमन्त्रीले ठेकेदारलाई भने – ‘२२ अर्ब रुपैयाँ भुक्तानी दिइसकेँ, कानूनअनुसार चल्नुस्‌’

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा

भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त