काठमाडौं– दिल्ली–काठमाडौं चल्ने सवारी साधानमा तस्करी हुने गरेको सार्वजनिक भएका एकपछि अर्को घटनाले प्रष्ट्याएको छ । रक्तचन्दन, अवैध कपडा तस्करी हुने गरेको घटना यसअघि नै सार्वजनिक भइरहेका बेला पुनः अहिले तस्करीकै अर्को घटना सार्वजनिक भएको हो ।
गाडी नम्बर – ना ५ ख ४८४२
समय – चैत ३० गते साँझ
स्थान – स्वयम्भु, काठमाडौं
दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसबाट सामान तस्करी भइरहेको छ भन्ने सूचना पाए लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोली खोजीमा जुट्यो । प्रहरीमा आएको सूचना बमोजिम प्रहरीले चमतीमा (स्वयम्भू नजिकै) ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बस फेला पार्यो । तर, प्रहरीले बस नियन्त्रणमा लिंदै गर्दा चालक भने फरार भए ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामा भन्छन् – चालक फरार भएलगत्तै प्रहरीको एउटा टोलीले चालकलाई पिछा गर्यो भने अर्को टोली गाडी खानतलासीमा जुट्यो ।
एसएसपी लामाका अनुसार यही क्रममा प्रहरीलाई सामान र गाडी छाडेमा २१ लाख रुपैयाँ घुस दिने प्रलोभन सहितको फोन आयो । जब घुस दिने फोन आयो तब प्रहरीले माथिल्लो तहसम्म सल्लाह गरेर उसलाई कसरी पक्राउ गर्ने भन्ने योजना बनायो ।
प्रहरीलाई नै प्रलोभन पार्न खोज्दा
योजना अनुसार प्रहरीले फोन गर्ने व्यक्तिलाई भने- तपाईंले भने बमोजिम हुन्छ पैसा लिएर आउनुस् हामी सामानसहित गाडी छाडिदिन्छौं ।
एसएसपी लामा भन्छन् – प्रहरीले डाकेको केही बेरमा नै सर्लाहीका श्याम विश्वकर्मा (गाडी चालक) प्रहरी भएको ठाउँमा पुग्छन् ३ लाखको बिटो बोकेर । तर, प्रहरीले २१ लाख घटी हुँदै हुदैन भनेपछि उनले फोन गरेर आफ्ना साथीहरुलाइ डाक्छन् ।
केहीबेरमा सुर्खेतकी ३२ वर्षीया दीपा राना र नुवाकोटका भरत तामाङ पनि पुग्छन् र ५० हजार रुपैयाँ निकालेर दिन्छन् । यही क्रममा प्रहरीले तीनै जनालाई पक्राउ गर्छ ।
करिव ६० लाख बराबरको सामान बरामद्
एसएसपी लामाका अनुसार गाडीबाट प्रहरीले कुर्ता ६ सय ६० पिस, टप्स २ हजार २ सय ९५ पिस बरामद् गर्न सफल भएको छ । यसबाहेक पाइन्ट २ सय ३४ पिस, सर्ट ८ सय २९ पिस, टि–सर्ट १ सय ४१ पिस, समिज १ सय २२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७ सय पिस समेत बरामद् गरेको छ ।
उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ, ५० लाख भन्दा बढीको अवैध तरिकाबाट भित्र्याइएको लत्ताकपडा, मोवाइल सेट लगायत बरामद् गरेको एसएसपी लामाले बताए ।
पक्राउ परेकाहरुलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे ।
प्रतिक्रिया