काष्ठकलामा रमेका प्रकाश– एउटा झ्याल बनाउँदा २ लाख आम्दानी « Khabarhub

काष्ठकलामा रमेका प्रकाश– एउटा झ्याल बनाउँदा २ लाख आम्दानी



काठमाडौं-जेठ महिनाको चर्को घाम । वरीपरि सवारी साधनको आवाज उस्तै । कता कता केही काम गरिरहेको जस्तो ‘ट्क—ट्क’ आवाज सुनिरहेको थियो ।

कालोपुलस्थित एक सटरमा यी सबै होहल्लालाई वेवास्ता गर्दै निहुँरिएर एक व्यक्ति काम गरिरहेका थिए । जसको हातमा छिनो र बासिलो देखिन्थ्यो । उनी काठमा विभिन्न बुट्टा भरिरहेका थिए । उनले निकै मिहेनत गरेर काठमा बुट्टा बनाएको हेर्नेहरु उभिइरहेका थिए ।

आफूले काठमा बुट्टा भरेको अरुले अडिएर हेर्दा काम गर्न थप प्रोत्साहन मिल्ने महशुस गर्छन् ललितपुरका—प्रकाश मालाकार ।

नेपाली समाजमा पुस्तौँदेखिको पेशा सम्हालेर बस्ने व्यक्ति लोप हुँदै गइरहेको अवस्थामा प्रकाश कलाका साधकको रुपमा खटिएका छन् ।

पढेलेखेकाहरु राम्रो काम खोज्दै रोजगारीको लागि भौतारिने र नभए विदेश जाने गर्छन् । ‘पैसा कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच युवा वर्गमा विकसित भइरहेको छ ।

तर प्रकाश यस्ता व्यक्ति हुन् जसले कामलाई सानो ठूलो भनेर कहिल्यै लिएनन् । ‘जुन कामबाट आफूलाई सन्तुष्टी हुन्छ त्यही काम गर्नुपर्छ’ भन्ने मूलमन्त्रका साथ उनी अघि बढेका छन् ।

बाबु गंगाबहादुर मालाकार र आमा सुर्जमाया मालाकारको कोखबाट वि.सं. ०४१ सालमा ललितपुर जिल्ला स्थित बुङमतिमा जन्मिएका थिए प्रकाश। उनका बाबु गंगाबहादुरको पेशा काष्ठकला थियो ।

प्रकाशलाई बाल्यकालदेखि नै काष्ठकलाप्रति रुचि थियो । ललितपुरकै एक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे उनले । पढाइ सँगसँगै कामप्रति पनि जागरुक थिए उनी ।

‘दिउँसो स्कुल पढ्थे बिहान बेलुका बुवाले गरेको काम हेरेर बस्थें’ विगतलाई स्मरण गर्दै प्रकाश भन्छन् । स्कुल पढिरहँदा पनि पढेर भन्दा व्यवहारिक बनेर केही गर्ने सोच आफुमा त्यसबेला नै आएको उनी बताउँछन् ।

फ्रेमबाट सिकेको काष्ठकला

आजभन्दा ३३ वर्ष अघिको कुरा हो । जुनबेला उनी काष्ठकलातिर धेरै नै आकर्षित भएका थिए ।

बुवाले गरेको काष्ठकलालाई बढो नियालेर हेर्ने प्रकाशमा त्यतिबेला नै आफूलाई पनि काष्ठकलामा समर्पित गर्ने सोच आएको बताउँछन् ।

उनका बुवाले घरमै बसेर काष्ठकलाको काम गर्ने गर्दर्थे । घरमा बसेरै काम गर्दै पैसा कमाएको देखेर उनी पनि त्यही पेशाप्रति आकर्षित भए। ‘विदेश जाने पैसा कमाउने भन्दा पनि नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोच थियो’ प्रकाशले भने ।

८ वर्षको उमेरदेखि काष्ठकला सुरु गरेका उनी अहिले निकै प्रख्यात भइसकेका छन् । ‘फोटोफ्रेमबाट सुरु गरेको थिएँ’ सुरुवाती दिनको स्मरण गर्दै प्रकाश भन्छन्,‘अहिले त काठबाट बन्ने सबै प्रकारका सामग्री बनाउन आउँछ’।

विगतका दिनमा उनी बाबुसँगै बसेर काम गर्थे । आफैँले व्यवसायिक रुपमा काम गर्नुपर्छ भन्ने सोचले ३ वर्षदेखि कालोपुलमा सटर भाडामा लिइ काम गरिरहेका छन् ।

उनको वरीपरि काठमा बुट्टा काटेर सजाइएका झ्याल, ढोका, चौकोस, विभिन्न भगवानको तस्वीर, फोटोफ्रेम, खापा, खुकुरी र तरबारको दाप आदि रहेका छन् ।

भूकम्पपछि फस्टाएको काष्ठकला

जब उनी सानो थिए त्यतिबेला उनका बुवाले काठलाई टुक्रा पारी बुट्टा भर्नै गर्थे । त्यो बेला बजारमा त्यसको माग पनि थियो ।

पछिल्लो समय काष्ठकलाको व्यापार सुस्ताउन थालेको बताउँदै उनले भने ‘भूकम्पपछि भने व्यापार फस्टाउने क्रममा रहेको छ’ ।

भूकम्पले भत्काएका ऐतिहासिक तथा साँस्कतिक सम्पदाको झ्याल ढोका बनाउन उनी लागि परिरहेका छन् । ‘माग आएमा जस्ता पनि बनाउन सक्छु’ प्रकाशले भने ‘पोखराका केही मन्दिरको लागि पनि झ्यालढोका बनाएर पठाएको थिएँ’।

सम्पदा पुरानै शैलीमा बनाउनुपर्ने हुँदा झ्यालढोकामा कालीगढ बनाउन धेरै दिन लाग्ने उनी बताउँछन् । ‘एउटै झ्याललाई दुई महिनासम्म लागेको थियो’ उनले भने ‘२ लाख अर्डर लिएर त्यो झ्याल बनाएको थिएँ’ ।

मेहनत लगाएर बुट्टा भर्नुपर्ने बताउँदै प्रकाश भन्छन्, ‘गणेश भगवान बनाउन २ दिन लाग्छ, सामान्य फोटो फ्रेमहरु दिनमा एउटासम्म बन्छ’ ।

झ्यालढोकामा भने बुट्टा निकै बनाउनुपर्ने हुँदा धेरै दिन लाग्ने सुनाउँदै उनी भन्छन्, ‘सामान्य झ्यालढोका भयो भने छिट्टै बन्छ, बुट्टा धेरै भर्दा भने ढिला हुने हो’।

माग धेरै, जनशक्ति अभाव

काष्ठकलामा काम गर्नेहरु अहिले विस्तारै हराउँदै गइरहेको बताउँछन् प्रकाश । ‘नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि काष्ठकलाको माग छ तर कला भएकाहरु कम छन्’ उनले भने ।

फोटो फ्रेम र झ्यालको माग आएपछि प्रकाशले केही वर्षअघि जर्मनीसम्म पुर्‍याएका थिए । भन्छन्,‘जति धेरै माग आयो त्यति काम गर्न आनन्द लाग्छ’।

‘पछिल्ला केही सयम यता काष्ठकलाको क्षेत्रमा केही युवाहरु लागि परेका पनि छन्, तर उलेख्य मात्रामा भने छैनन्’ उनले भने ‘बजारको माग पुरा गर्नका लागि यो क्षेत्रमा ठुलो जनशक्ति आवश्यक छ’।

महिलाको संख्या कम

काष्ठकलाका क्षेत्रमा महिलाको संख्या न्यून रहेका प्रकाश बताउँछन् । ललितपुरस्थित बुङमतिमा केही महिलाहरु काष्ठकला सिक्न जाने गर्छन्, सीप सिक्न गएपनि धेरैले त्यो व्यवसाय अपनाउन नसकेको उनको भनाइ छ ।

कतिपय महिलाहरु घरमै बसेर काष्ठकलाको काम गरिरहेका छन्, ‘उनीहरु बाहिर आएर बुट्टा भर्ने काम गर्न सकेका छैनन्’ उनले भने ‘प्रायजसो महिलाहरुले बुट्टा चिल्लो पार्ने, रङ लगाउने, खाक्सी लगाउने काम गरिरहेका छन्’।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ९ : ५२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका