भारतीय बाँध मात्रै नेपाल डुबानको कारण होइन ! | Khabarhub Khabarhub

भारतीय बाँध मात्रै नेपाल डुबानको कारण होइन !



केहीदिन देखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण कम्तिमा ६५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३०  जना बेपत्ता भएका छन् । वेपत्ता भएकाहरु फेला पर्ने सम्भावना न्यून देखिएको छ । यसहिसावमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमानउनेको संख्या १०० बढी पुग्ने अनुमान गर्न सकिन्छ ।

बाढीपहिरो प्रकृतिक विपत्ति हुन् । यसलाई कसैले चाहेर रोक्ने भन्ने हुँदैन । यो सरकारको सट्टा अर्को सरकार भएको भएपनि बाढी पहिरो लगायतका विपत्तिलाई रोक्न सकिँदैन थियो । तर प्रश्न के हो भने प्राकृतिक विपत्तिबाट भएको हुने र भएको क्षतिलाई भने न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसमा वर्तमान सरकार चुकेको छ ।

डुवानको कारण भारत होइन !

वर्षापछिको बढी आउँदा नेपालको तल्लो तटीय क्षेत्र डुवानमा परेको छ । तल्लो तटीय क्षेत्रसहित माथिल्लो तटीय क्षेत्रमा भएको वर्षाले आएको बाढीका कारण तराई डुवानमा परेको छ । केहीले ज्यान गुमाएका छन् भने कयौं घर परिवार प्रभावित भएको छ भने खेती योज्य जमिन कटानमा परेको छ ।

सामाजिक सञ्जालहरुमा आएका प्रतिक्रियाहरुलाई हेर्न हो भने भारतले बनाएका उच्च बाँधहरुका कारण नेपालको तराई क्षेत्र डुवानमा परेको हो । यदी भारतले बाँधहरु नबनाएको भए तराई डुब्दैन थियो त ? अवश्य डुब्थ्यो । भारतले बनाएको बाँध मात्र नेपालको तल्लो तटीय क्षेत्र डुवानको एकमात्र कारण होइन ।

रौतहट डुवानको कारण निश्चय्नै भारतले बनाएको बाँध नै हो । राप्तिमा पनि त्यो समस्या छ । तर अन्य भूभाग पनि डुवानमा परेको छ । जस्तो बर्दिवासमा भएको डुवान भारतका कारण भएको हो त ? ट्याङ्ला खोलामा आएको बाढीले मान्छे मर्नु कोसीको ढोका नखोलेर हो त ? हामीकहाँ एउटा समस्या छ, त्यो हो भारतलाई गाली गर्ने ‘तथाकथित’ राष्ट्रियता । जल उत्पन्न राष्ट्रियताको प्रकोपबाट धेरै नेपाली पीडित छन् । जो बाढीको सम्पूर्ण कारण भारतलाई ठान्छन्, जुन सत्य होइन ।

के हो त कारण ?

तराईको बाढीको कारण भारत हुँदै होइन म भन्दिन । त्यसको कारण भारत पनि हो । तर, भारतले बनाएको बाँधले डुवान गरेको विषयमा चर्चा गर्नुभन्दा पहिला सामान्य अवस्थाको डुवानको चर्चा गरौं ।

पहिलो, तराईमा सबैभन्दा तल्लो दक्षिणी क्षेत्रमा हुलाकी राजमार्ग छ, माथी महेन्द्र राजमार्ग छ । त्यसलाई जोड्ने ठाडा राजमार्ग र उत्तर दक्षिण राजमार्गहरु छन् । ति सडकहरुले गर्दा तराई आयाताकार पोखरीहरुको रुपमा परिणत हुन गएको छ वा भनौं धेरैवटा आयाताकार पोखरीको रुपमा परिणत भएको छ ।

जमिनको सतह भन्दा सडक माथि हुन्छ । सडक बनाउँदा निश्चित स्थानबाट मात्र पानी पास हुने गरि बनाइएको छ । जति पानी पर्ने हो त्यो पानी पास नभएर पोखरी पोखरीमा परिणत हुन गयो जसले गर्दा परेको पानी ‘व्लक’ हुन गएको छ । पानीको निकासमा अवरोध भएपछि स्वभाविक रुपमा त्यो जम्मा हुन्छ र जलमग्न बन्न जान्छ । जसका कारण थप समस्या सिर्जना भएको छ ।

दोस्रो, विकासको नाममा महाभारत, चुरे, हिमाली र पहाडी क्षेत्रमा डोजर कुदाउने काम नेपालमा भइरहेको छ । हामी दुईवटा घरलाई बाटोसँग जोड्न केही किलोमिटर बाटो खन्न र डाँडाँ भत्काउन पछि पर्दैनौं । जसले गर्दा भू–क्षय र भू–स्खलन भइरहेको छ । यसका लागि हामी वैज्ञानिक बसोबासको योजना अघि सार्दैनौ भने समस्या उत्पन्न हुन स्वभाविक हो ।

केही घर र वस्तीका लागि डाँडै भर बाटो खनिएको छ जसले गर्दा पहिरो गएको छ र तल्लो तटीय क्षेत्रमा माटोको मात्रा बढाएको छ । जसले गर्दा खोलाहरु अग्ला भएका छन् र प्रवाहको गती कमजोर भएपछि खोलाहरु फिजारिने अवस्था बन्न जान्छ । नदी माथि आउँदा डुवानको समस्या थप बढिरहेको छ । यसलाई रोक्न पहाडमा डोजर कुदाउनु नै विकास हो भन्ने अवधारणालाई परिवर्तन गर्न जरुरी छ ।

हामीले प्रकृतिले दिएको सम्पत्ति पानी र संस्कृतिले दिएको सम्पत्ति पशुपतिनाथ, मुक्तिनाथको उपयोग गर्न सक्दैनौं, किनकी हामी राष्ट्रवादी हौं । संस्कृतिले दिएको सम्पत्तिबाट समृद्धि हासिल गर्न हामी पशुपतिनाथको दैलो टेक्दैनौं बरु होली वाइन खान जान्छौं ।

तेस्रो कुरा जलवायु परिवर्तनका कारणले पनि समस्या निम्तिएको छ । यो बाढीपहिरो नेपाल मात्र होइन अमेरिका, चीन भारत लगायतका देशमा पनि आएको छ र डुवानमा पारेको छ ।

जुन १० मा अमेरिकाको लुजियाना र टेक्सासमा महिना भरमा पर्ने पानी २४ घन्टामा पर्न गयो । एक महिनाभर पर्ने पानी २४ घन्टामा परेपछि त समस्या परिहाल्छ । अब यसका लागि त संरचनाहरु बनेका हुँदैनन् । त्यसले गर्दा त क्षति बढ्ने हुन्छ । यो किन भइरहेको छ भने जलवायु परिवर्तनका कारण ।

अहिले नेपालको स्थिति हेर्ने हो भने उत्तरी क्षेत्रमा हिमालय रेन्जमा धेरै हिमाल काला पहाडमा परिवर्तन भएका छन् । यसको अर्थ के हो भने पहिला जति नै पानी परे पनि जुन आयतनमा हिउँको रुपमा पानी माथि रहन्थ्यो, सञ्चित हुन्थ्यो र बाँकी पानीमात्र बाढीको रुपमा आउँथ्यो, त्यो हुने अवस्था छैन । जसका कारण अहिले हिँउ कम, बाढी वा पानी बढी भएको छ । र सँगसँगै वर्षामा बाढी बढी आउने र हिँउदमा हिउँको आयतन नै कमी भएपछि हिँउ कम पग्लने अवस्था बनेको छ ।

त्यसले गर्दा हिँउदमा नदीहरुको प्रवाह एकदमै कमजोर भएको छ र वर्षायाममा प्रवाह अत्याधिक हुन गएको छ । यसको अर्थ ‘हिँउ’ पानीको एउटा ‘बचत खाता’को रुपमा थियो र त्यही बचत खाताबाट नदीको रुपमा पानी आउँथ्यो र त्यसलाई सम्पत्तिको रुपमा हामीले प्रयोग गरेका थियौं । तर अब हिउँको ‘बचत खाता’ बग्दै गएकाले बैकल्पिक बचत खाताको रुपमा व्यवस्थापन गर्न आवश्यक छ ।

कसरी गर्ने व्यवस्थापन ?

हरेक वर्ष बाढीबाट हुने क्षतिलाई न्यूनीकरणका लागि जल व्यवस्थापन महत्वपूर्ण पाटो हो । यसले पानीको व्यवस्थापन मात्र होइन समृद्धिमा समेत टेवा पुग्छ ।

पानीलाई खोचहरुमा जम्मा गरेर सन्तुलित रुपमा उपयोग गरेनौं भने यो विपद् हरेक वर्ष यस्तै रहन्छ वा अझ बढ्दै जान सक्छ । हामीहरुलाई त समस्या हुन्छ/हुन्छ सँगसँगै तल्लो तटीय क्षेत्रमा रहेका भारत र बंगलादेशलाई पनि त्यतिकै सारो हुने छ ।

त्यसका लागि नेपालको पहाडी क्षेत्रका खोंचहरुमा तटबन्ध बनाउनुको विकल्प छैन ।

तर हामी जल उत्पन्न राष्ट्रियताको प्रकोपबाट पीडित छौं । बाँध बनायो भने राष्ट्रियता खतम भइहाल्छ भन्ने सोच राख्छौं । बरु हामी बिजुली उताबाट(भारतबाट) ३/४ सय मेगावाट किन्न तयार हुन्छौं ।

भारतबाट बिजुली ल्याएर काठमाडौंमा लोडसेडिङ अन्त्य गर्दा हामी खुसी हुन्छौं वा राष्ट्रवादी हुन्छौं । तर हामीले प्रकृतिले दिएको सम्पत्ति पानी र संस्कृतिले दिएको सम्पत्ति पशुपतिनाथ, मुक्तिनाथको उपयोग गर्न सक्दैनौं, किनकी हामी राष्ट्रवादी हौं । संस्कृतिले दिएको सम्पत्तिबाट समृद्धि हासिल गर्न हामी पशुपतिनाथको दैलो टेक्दैनौं बरु होली वाइन खान जान्छौं ।

भारतले बताएका उक्त बाँधबाट समाधान चाहने हो भने बागमतिको माथि मकवानपुर र सिन्धुलीको बीचको कुनै खोंचमा अधिकतम जलाधार क्षेत्रलाई समेट्ने गर्ने गरी त्यहाँ एउटा बाँध बनाउन सकिन्छ

प्रकृतिले दिएको सम्पत्ति पानी हो । त्यो पानीको उपयोग नगरेर हामीले विपत्ति निम्त्याएका छौं । यो सुन्दा दुनियाँ हाँस्छ ।

वर्तमान सरकार भन्दा अघिका पञ्चायतकाल देखिका शासन सत्तामा बस्नेहरुको गलत काम, गलत सोच र क्षमता विहीनताको कारणले बाढीले मानिसहरु मरिरहेका छन् । यो त एक किसिमले ‘कोल्ड ब्लडेड मर्डर’ हो ।

भारतीय बाँध जिम्मेवार छैनन् त ?

तराई डुवानका कारण नेपाल मात्र होइन भारत पनि हो भन्ने कुरा मैले माथि नै उल्लेख गरेको छु । अब त्यसमाथि चर्चा गरौं । भारतले पनि आफ्ना नागरिकको जीउधनको रक्षा गर्ने तर्फ निश्चय नै कदम चाल्छ ।

भारतले जतिसक्दो आफू जोगिनका लागि आफ्नो भूमिको माथिल्लो क्षेत्रमा बाँधहरु बनाउँछ । त्यो बनाएपछि रौतहट मात्र होइन अरु ठाउँले पनि यो नियती भोग्नुपर्ने हुन्छ । उसले त्यो क्षेत्रमा पुरै चार लेनको अग्लो बाटो बनाइरहेको छ । बोर्डरमा एक खालको ड्याम नै बनाएको छ भारतले । त्यसले नेपालको पूर्वदेखि पश्चिम सम्मका भूभाग थप डुवानमा पर्ने सम्भावना छ ।

यसको रोकथामका लागि नेपाल सरकारले पहल गरेको खण्डमा केहीमात्रामा भएपनि त्यसको उचाइ घटाउन सकिन्थ्यो तर नेपाल सरकार भारतसँग कुरा गर्नै सक्दैन । जहिले पनि नेताहरुले भारतको विरोधमा प्रतिक्रियात्मक राजनीति गरेका छौं । क्रियात्मक राजनीति नेताहरुले बुजेकै छैन । त्यसैले उनीहरु प्रतिक्रिया दिएर काम गर्छन् । छलफल गरेर अघि बढ्दैनन् ।

भारतले बाँधेका बाधहरुमा पानी जम्मा भएपछि पानीको वहाव रोकिँदा वा पछाडि फर्कदा नेपाली भूमि डुवानमा पर्छ ।

उदाहरणका लागि रौतहटमा ठूलो समस्या छ । यदी भारतले बताएका उक्त बाँधबाट समाधान चाहने हो भने बागमतिको माथि मकवानपुर र सिन्धुलीको बीचको कुनै खोंचमा अधिकतम जलाधार क्षेत्रलाई समेट्ने गर्ने गरी त्यहाँ एउटा बाँध बनाउन सकिन्छ । यस्ता अन्य खोंचहरुमा पनि बाँध बनाउँदा सबै पानी त्यहाँ तलाउ बनेर जम्मा हुन जान्छ ।

त्यसले बिजुली पनि निकाल्थ्यो र हिँउदमा प्रवाह सन्तुलन पनि मिलाउन सकिन्थ्यो । त्यो गरेको भए भारतको ठ्यामले कहाँ नेपाल डुबान हुन्थ्यो र ? हाम्रो छिमेकीसँगको झगडाको विउ पनि अन्त्य हुन्थ्यो । तर हाम्रा सरकार र राजनीतिक नेतृत्वले यो विषयमा सोच राख्ने हिम्मत गरेन र हामीले स्मरण गराउँदा पनि वेवास्ता गर्‍यो ।

भारत र बंगलादेशसँगको सहकार्य

सन् १९७२ मा बंगलादेशले नेपालमा ७ वटा उच्च बाँध दुबै पक्षको लगानी बनाउँ भन्ने प्रस्ताव गरेको थियो । ति ड्याममा हामी पनि सहभागी हुन्छौं भन्दै उसले केही दिनको समय दिएर प्रस्ताव गरेको थियो । तिनै मध्ये एउटा बुढीगण्डकी उच्च बाँध हो ।

नेपालमा बाँध बनाउँदा लाभ तल्लो तटीय क्षेत्रका रुपमा रहेका भारत र बंगलादेशलाई हुन जान्छ । तल्लो तटीय लाभवको मूल्यांकन गरेर तिमीहरुपनि यसमा सहभागी हौं भन्नका लागि हामी नीतिगत रुपमा जान पर्नेथियो तर हामी त्यसो गर्न सकिरहेका छैनौं ।

बरु त्यसलाई राष्ट्रवादको नाममा अड्काउने, ल्याप्चे हानेर चीनबाट कर्जा लिएर त्यो आयोजना बनाउने तर्फ जान्छौं जुन अहिलेको सरकारले गरिरहेको छ ।

तल्लो तटीय क्षेत्रको रुपमा लाभ भारत र बंगलादेशलाई छ/छ । त्यो बनाउँदा भारत र बंगलादेशलाई पनि सहभागी बनाएको भए हाम्रो बिजुलीको लागत पनि घट्थ्यो, बिजुली नै सस्तो पर्थ्यो । भारतको विरोध गर्नु मात्र राष्ट्रियता होइन पहिला हामी यसबाट मुक्त हुनसक्नुपर्छ ।

‘ल अफ फिजिक्स’ अनुसार पानी तल जान्छ अब त्यसलाई मुर्दावाद भन्न सकिएन । अब तलतीर भारत नै छ, नेपालको भुगोल उठाएर प्रशान्त महासागमा टापु बनाउन नि सकिँदैन । त्यसैले देशको भूगोललाई मध्यनजर गर्दै ‘आर्ट अफ लिभिङ’ सिक्न जरुरी छ ।

बंगलादेशको जमुनाबाट भारतभित्र मालबाहक जहाज हुलेर मानस नदी हुँदै भुटानले पनि जलयातायातको सुविधा लिने भएको छ । मानसभन्दा ठूला नदी हामीसँग छन् ।

बाँधको केहीमाथि अर्को बाँध बनाउन नपाउने अन्तर्राष्ट्रिय कानुन छ । तर कोसी बाँध बनाउँदा त्यो भन्दा माथि नेपालले बाँध बनाउन पाउने व्यवस्था छ । नेपालले एकल निर्णयले बाँधहरु बनाउन पाउने व्यवस्था छ

भुटानले यसो गरिसकेको छ तर हामी चाँही जहिलेपनि हाम्रो सम्पत्तिलाई, सम्पन्नताको साधनलाई राष्ट्रवादको अव्यवहारिक मानक मानेर अनुपयोग गरेर बसिरहेका छौं । यसर्थ नेपाली दरिद्र हुनु स्वभाविक छ । राष्ट्रवादको नाममा यो राष्ट्रद्रोह हो ।

माथिल्लो तटीय राष्ट्रमा नेपाललाई फाइदा

संसारमै तल्लो तटीय राष्ट्र उपल्लो तटीय क्षेत्रमा बाँध बनाउन सहमत हुने भनेको बंगलादेश र भारत मात्र हो । जसले नेपालमा बाँध बनाउन अनुमति मात्र होइन सहभागीता नै खोजेका छन् ।

यस्तो दुनियाका अरु देशमा छैन । ‘इन्डुर्स रिभर त्रिटी’ हेर्नु भयो भने सिन्धुनदीका पश्चिमका तीन सहायक नदीमा १ घनमिटर पानी जम्मा हुनेगरी भारतले बाँध बाँध्न पाउँदैन ।

टर्कीमा बाँध बनाउँदा सिरिया र इराकले तल्लो तटीय क्षेत्रमा भएका कराण यस्तो गर्न पाइँदैन भनेर विरोध गरे । सिरियाले असद बाँध बनाउँदा त्यसरी नै इराकले विरोध गरेको थियो । अहिले पनि व्लू नाइल बनाउँदा त्यतिनै धेरै सुडान र इजिप्टले विरोध गरेका छन् ।

त्यसैले तल्लो तटीय राष्ट्रले उपल्लो तटीय राष्ट्रमा बाँध बनाउँदै दिँदैन । तर नेपालमा भने बनाउन सक्छौं र तल्लो तटीय क्षेत्रले बनाउँ भन्दा हामी तर्कन्छौं ।

बाँधको केहीमाथि अर्को बाँध बनाउन नपाउने अन्तर्राष्ट्रिय कानुन छ । तर कोसी बाँध बनाउँदा त्यो भन्दा माथि नेपालले बाँध बनाउन पाउने व्यवस्था छ । नेपालले एकल निर्णयले बाँधहरु बनाउन पाउने व्यवस्था छ ।

गण्डक भन्दा कोसी धेरै लाभको छ । महाकाली, पञ्चेश्वर नेपालका लागि बम्पर उपहार नै हो । यसमा नेपाललाई धेरै लाभ छ भनेर नै भारतले यी योजना नबनाएको हो ।

(भूराजनीतिक विश्लेषक सुवेदीसँग खबरहबका लागि कश्यप न्यौपाने र विनोदकुमार पाठकले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०७ बजे

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा

औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको

जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल

एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प

काठमाडौं– अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी

पूर्वका पहिचानवादी संगठनबीच मोर्चाबन्दी, पार्टी नै बनाउने

सुनसरी – पूर्वका चार पहिचानवादी संगठनबीच एउटै पार्टी बनाउने गरी