सम्झनामा दीक्षित : उहाँजस्तो महर्षिले पत्याउनु मेरो अहोभाग्य | Khabarhub Khabarhub

सम्झनामा दीक्षित : उहाँजस्तो महर्षिले पत्याउनु मेरो अहोभाग्य


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

“लेख्न सक्न छाड्यो जस्तो लाग्यो कि क्या हो तपाईंलाई ? म त लेखिराख्या छु है ।”

मुसुमुसु हाँस्दै श्रद्धेय मदनमणि दीक्षितले यसो भन्नु हुँदा हामी मज्जाले हाँस्यौँ । हामी अर्थात् उहाँका जेष्ठ सुपुत्र विनोद दीक्षित र म ।

कुरा दुई साताभित्रैको हो । त्यो दिन म मञ्जरी पब्लिकेशनबाट प्रकाशित उहाँको पछिल्लो कृति ‘ऋग्वैदिक नारी चरित्र’का दश प्रति र पेश्की लेखकस्व लिएर उहाँको निवासमा पुगेको थिएँ । हाँसोकै बीचमा मैले उहाँलाई भनेँ, “हैन बुबा, हामी हजुरको ‘त्रिदेवी’ मा काम गरिरहेका छौँ । त्यसपछि ‘मेरो देश, मेरो संसार’ र ‘त्यो युग’को पालो छ । हजुरका कृतिहरु हामीले तीन–तीन महिनामा पालैपालो छाप्ने योजना बनाएका छौँ ।”

“केही दिन अगाडि राजा महेन्द्रका बारे लेखेको थिएँ । तपाईं आउनु भएन । डोलेन्द्रले आएर लगिहाल्यो । छाप्यो कि के गर्‍यो केही थाहा छैन । किताब लगेदेखि आएको पनि छैन ।” उहाँले खिन्न भावमा भन्नु भयो ।

“बुबा, बैशाखदेखि असारसम्मको समय म पूर्वतिर अलि व्यस्त भएँ । त्यसैले हजुरले पटकपटक फोन गरेर बोलाउनु हुँदा पनि आउन पाइनँ । अब अर्को कृति चै हजुरले मलाई दिनुपर्छ ।” उहाँले सहमति जनाउनु भयो ।

‘आ’ माने आमाको आँशु

हुन पनि बैशाखदेखि असारसम्मको अवधिमा उहाँले सातपटक जति मलाई फोन गर्नु भयो । उहाँको फोन आउँदा मलाई असाध्यै पीडा हुन्थ्यो । किनकि उहाँले बोल्नु भएको म सुन्थेँ तर मैले बोलेको उहाँ सुन्न सक्नु हुन्नथ्यो । कहिलेकाहीँ उहाँका जेष्ठपुत्र विनोद दीक्षित दाजुलाई फोन गरेर आफ्नो परिस्थितिबारेको खबर जानकारी गराइदिन अनुरोध गर्थें ।

काठमाडौं आउनासाथ भेट्नका लागि पहिलो प्राथमिकता उहाँलाई नै दिन्थे । किनकि उहाँसँगका हरेक भेट अविष्मरणीय हुन्थे । हरेक भेटमा केही न केही नयाँ कुरा सिक्न पाउँथें । ९७ वर्षको उमेरमा पनि अध्ययन गरिरहने, आफूमा भएको ज्ञान पुस्तकमार्फत् नयाँ पुस्तामा बाँड्ने उहाँको उत्कण्ठाले मलाई भित्रैबाट उर्जा प्रदान गर्दथ्यो ।

मैले उहाँलाई चिनेको चाहिँ ०५३ सालमा । उहाँ त्यो बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइरालाजस्तो कट्टर काङ्ग्रेसले पनि जीवनभरि बामपन्थी पत्रिका समीक्षा चलाएका बाम झुकावका उहाँलाई उपकुलपति छनोट गरेको कुराबाट म आफू आश्चर्यचकित थिएँ ।

काङ्ग्रेसीहरुले पनि बामपन्थीलाई कसरी पत्याएका होलान् जस्तो लाग्थ्यो । कुनै विषयको रिपार्टिङ गर्न गएका बेला मैले उहाँलाई यस विषयमा सोधेको पनि थिएँ । “तपाईंलाई के लाग्छ ?” यसो भन्दै उहाँ मुसुमुसु हाँस्नु भएको थियो । पछि थाहा पाएँ– उहाँको प्रकाण्ड विद्वता, पञ्चायतकालभरि उहाँले भोग्नु भएका कहर, प्रजातन्त्र स्थापनाका लागि समीक्षा साप्ताहिक मार्फत् पुर्‍याउनु भएको योगदानको कदर पो गरिएको रहेछ ।

उहाँसँगको निकटताचाहिँ मञ्जरी पब्लिकेशन शुरु गरेपछि हो । प्रकाशनका लागि पुराना, ओझेल परेका तर समाजोपयोगी कृतिहरु खोज्ने क्रममा राम लोहनी सरले हो या कसैले हो, मलाई ‘हिन्दू संस्कृतिको परिशीलन’को स्मरण गराइदिनु भयो । उहाँकी सुपुत्री इल्या भट्टराई प्रकाशक भएर २०५९ सालमा प्रकाशित उक्त कृति कुनै बेला मैले पनि पढेको थिएँ । बजारमा अप्राप्य तर समाजोपयोगी उक्त कृति छाप्ने अनुमति माग्दै इल्या दिदीको निवासमा पुगेँ । उहाँले सहर्ष अनुमति मात्र दिनु भएन बुबासँग भेटका लागि मेसो पनि मिलाइदिनु भयो ।

प्रकाशनपछि उक्त कृतिको मैले निकै राम्रोसँग बजार प्रवद्र्धन गरेँ । एघार सय प्रति सकिएर एक वर्षको अवधिमै नयाँ संस्करण छापिने भयो । अर्को संस्करण छाप्नका लागि अनुमति माग्न जाँदा उहाँ छक्क पर्नु भयो । आफ्ना ३४ (त्यो बेला) वटा पुस्तकहरुको सूची मतिर अघि सार्दै उहाँले भन्नु भयो– “यहाँले अब कुनकुन छाप्न सक्नु हुन्छ, छापे हुन्छ ।”

उहाँको त्यसखालको विश्वास देखेर भावुक भएँ म । आँखाका चेपहरु एकाएक रसाएर आए । अवरुद्ध भएको गलालाई रोक्दै मैले भनेँ, “बुबा, एकैचोटि सबै किताब छाप्ने मेरो हैसियत छैन । हरेक छ महिनामा एउटा चै गर्न सक्छु ।”

त्यसपछि मैले राम लोहनी सरकै सल्लाहमा ‘भूमिसूक्त’मा काम गरेँ । एक लाख ८० हजार शब्दको ‘मेरो देश, मेरो संसार’मा काम गरिरहेका बेला उहाँले नै ‘मेरी माता’लाई प्राथमिकता दिन अनुरोध गर्नु भयो । गएको दशैंअघि हामीले त्यसलाई बजारमा ल्यायौँ । त्यसपछि बजारको मागलाई ख्याल गर्दै ‘ऋग्वैदिक नारी चरित्र’ प्रकाशित गर्‍यौँ ।

अहिले पनि म त्यो क्षण सम्झिरहेको छु । आफ्ना लगभग सबै कृतिहरु भएको सूची प्रकाशनका लागि मतिर अघि सार्नु मेरो लागि मामुली कुरा हुँदै होइन ।

करोडौं लगानी भएका, ब्राण्ड र गौरवशाली इतिहास भएका प्रकाशन संस्थाहरुको साटो मजस्तो कमजोर आर्थिक अवस्था भएको, नाती उमेरको फुच्चेलाई उहाँजस्तो महर्षिले पत्याउनु मेरो अहोभाग्य हो ।

मैले जीवनमा पाएको सबैभन्दा ठूलो पुरस्कार हो । उहाँले मप्रति देखाउनु भएको स्नेहको सदा ऋणी रहने भएँ । यतिबेला लाग्दैछ मैले सबैभन्दा नजिकको साहित्यिक अभिभावक गुमाएको छु ।

तस्विर : सुन्दर बस्नेत

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ०८ बजे

काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय

नझुकिनुस् रंगीचंगी जंगली च्याउले लिन्छ ज्यान

गएको जेठ ११ गते आइतबार विषाक्त च्याउ खाएर बिरामी परेका

कञ्चनपुरका चार पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुर– कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन