काठमाडौं- ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’भन्ने नाराका साथ आज बाल दिवस मनाइँदैछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।
बाल दिवसको शुरुवात
विसं २०२१ सालको भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन शुरु गरियो ।
नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहको पालाबाट मनाउन थालिएको हो । उनले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको देखेपछि भारतबाट फर्केर आफ्नो जन्म दिनपारी विसं २०२१ भदौ ४ मा नेपाल बाल दिवस मनाउन थालिएको थियो।
उनले बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिरमार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउने गरिएको पाइन्छ ।
४ भदौका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात बालदिवसको मिति परिवर्तन गरिएको हो ।
४ गतेबाट २९ गते सारियो
२०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो ।
जसअनुसार अहिले भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ ।
२०६३ साल अघिसम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि-१०८९ २० नोवेम्बरलाई सन् १९९० १४ सेप्टेम्बर २९ भदौ मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो ।
२९ भदौलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ ।
बाल दिवसको महत्त्व के ?
बालदिवस कस्तो हुनुपर्दछ त ? बालदिवस कसरी मनाउनुपर्दछ ? यो आम रुपमा उठिरहेको बिषय हो । तर पनि हामीले बालदिवसलाई औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं ।
त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो ।
कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरूको पुनर्ब्याख्या गरिनुपर्दछ ।
नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको बिषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं ।
ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य छ ।
जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।
प्रतिक्रिया