आलमका वकिलका १२ सय प्रश्न– सरकारी वकिलको ६ लाइन जवाफ | Khabarhub Khabarhub

आलमका वकिलका १२ सय प्रश्न– सरकारी वकिलको ६ लाइन जवाफ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब १२ वर्ष अगाडिको बम विस्फोट घटना र विस्फोटमा घाइते भएका व्यक्तिलाई ज्यूँदै इटाभट्टामा हालेर मारेको घटनामा मुछिएका नेपाली कांग्रेसका नेता तथा सांसद (सेवासुविधा रोकिएका) मोहम्मद अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले जारी गरेको आदेशमा भनिएको छ–पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादी मोहम्मद अफताव आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी जिल्ला कारागार कार्यालय रौतहट पठाइ दिनू…

गत बिहीबारदेखि जारी थुनछेक बहसको आठौं दिनमा अदालतले आदेश जारी गरेको हो ।

११ जना प्रतिवादी बनाइएको मुद्दामा अहिलेसम्म आलम मात्रै अदालतको ‘सम्पर्क’मा थिए । अरु, १० जना प्रतिवादीहरु फरार छन् ।

आलमले संविधानसभाको पहिलो निर्वाचन (२८ चैत २०६४) को नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोटको योजना बनाएको र बम बनाउने क्रममै विस्फोट हुँदा २४ जना घाइते भएका घटनाका प्रत्यक्षदर्शी (सकारी साक्षी)हरुले आफ्नो बयानमा बताएका छन् । घाइते भएकामध्ये २३ जनालाई ज्यूँदै इटाभट्टामा जलाएर मारेको आरोप आलममाथि लागेको छ ।

तत्कालीन अवस्थामा प्रहरीकै ‘संरक्षण र सहयोग’मा बच्न सफल भएका आलम अन्ततः मुद्दाको पुर्पक्षका लागि थुनामा गएका छन् ।

करिब १२ वर्षपछि अदालतमा पुगेको मुद्दाको पक्ष (वादी तर्फ) बाट ५ जना सरकारी वकिलले बहस गरे भने जाहेरीकर्ता (पीडित पक्ष)को तर्फबाट करिब ७ जना कानून व्यवसायीले बहस गरे ।

प्रतिवादी (आलम)का तर्फबाट करिब ३८ जना कानून व्यवसायीले वकालतनामा दर्ता गराएकोमा करिब २८ जनाले मात्रै बहस गर्न पाए ।

आलमका वकिलका १२ सय प्रश्न

गत असोज २६ गते रौतहटको गौर–चपुर सडकखण्डको शेख इद्रिस गेट अगाडिबाट पक्राउ परेका आलममाथि प्रहरीले करिब २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले ८ सय ३३ पृष्ठको अनुसन्धान प्रतिवेदन (मिसिल) तयार पारेको थियो । सोही मिसिलका आधारमा जिल्ला सरकारी वकिल कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध ३९ पृष्ठको अभियोग पत्र जिल्ला अदालत रौतहटमा दायर गरेको थियो ।

प्रहरीले पक्राउ गरेदेखि नै उनको रिहाइको माग गर्दै गौरमा प्रदर्शन भए । अदालतमा थुनछेक बहस चलिरहँदा सरकारी साक्षी र जाहेरीकर्ताका परिवारबाट समेत मुद्दामा ‘होस्टायल’ गराउने प्रयास पनि भए ।

आलमको बचाउमा वरिष्ठ अधिवक्ताहरु समेत बहस गर्न रौतहट पुगेका थिए ।

आलमका कानून व्यवसायीहरुले मात्रै अदालतमा ६ दिनसम्म बहस गरे ।

आलमको पक्षमा बहस गरेका कानून व्यवसायीहरुले थुनछेक बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालयको अभियोग पत्रमाथि विभिन्न टिप्पणीसहित १२ सय वटा प्रश्न उठाएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवालले आलमको पक्षमा बहस गरेका कानून व्यवसायीले १२ सय वटा प्रश्न उठाए पनि प्रतिबहसका क्रममा आफूहरुले ६ लाइनमा जवाफ फर्काएको बताए ।

आफूहरुको उक्त जवाफबाट अदालत ‘कन्भिन्स’ भएको कटुवालको भनाइ छ ।

कटुवालका अनुसार आलमको पक्षका वकिलहरुले शव नै नभेटिएको अवस्थामा कुनै व्यक्तिलाई हत्या गरियो भनेर कसरी दाबी गर्न सकिन्छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रतिबसमा उत्रिएका सरकारी वकिलले सरकारी साक्षीको बयानलाई ‘दलिल’को रुपमा पेश गरे ।

आलमका पक्षका वकिलहरुको अर्को प्रश्न थियो इटाभट्टाको खरानी जाँच गर्दा मृतकको कुनै अवशेष र रगतको नमूना नै फेला नपरेको अवस्थामा कसरी इटाभट्टामा जलाइयो भनेर भन्न मिल्छ ?

उक्त प्रश्नमा सकारी वकिलको जवाफ थियो– हजारौं डिग्रीको तापक्रम रहने इटा पोल्ने चिम्नीमा जलाइएका व्यक्तिको रगत विश्वका जुनसुकै ठाउँमा जाँच गर्दा पनि भेटिँदैन ।

आलमका पक्षका कानून व्यवसायीहरुको अर्को प्रश्न थियो– अहिले आएर अरु ५ जना प्रतिवादी कसरी थपिए ?

सरकारी वकिलको जवाफ थियो– अनुसन्धानबाट देखिएमा ५ जना मात्रै हैन, पचासौं जना पनि प्रतिवादी हुन सक्छन् ।

आलमका पक्षका कानून व्यवसायीहरुको अर्को प्रश्न थियो– विस्फोटक पदार्थअन्तर्गतको मुद्दा जिल्ला अदालतले कसरी हेर्न मिल्छ ?

सरकारी वकिलको जवाफ थियो– संविधानको धारा ३०४ र न्याय प्रशासन ऐन २०७३ को दफा ७ बमोजिम विस्फोटक पदार्थको मुद्दा जिल्ला अदालतले हेर्न मिल्छ ।

आलमका पक्षका कानून व्यवसायीको प्रश्न थियो– १२ वर्ष अगाडि भएको भनिएको घटनामा अहिले कसरी मुद्दा चलाउन मिल्छ ? यो मेरो (हाम्रो) पक्षलाई ‘फसाउन’ खोजिएको षड्यन्त्र हो ।

सरकारी वकिलको जवाफ थियो– ज्यानसम्बन्धी मुद्दामा हदम्याद लाग्दैन ।

आलमका कानून व्यवसायीहरुको प्रश्न थियो– अभियोगपत्रमा उल्लेख गरिएका साक्षी (घटना प्रत्यक्षदर्शी)ले घटना भएको समय नै फरक फरक बताएका छन् । साक्षीहरुकै बयानलाई मान्दा पनि घटना नै नभएको प्रमाणित हुँदैन र ?

सरकारी वकिलको जवाफ थियो– बहसकै क्रममा विद्वान अधिवक्ताहरुले त कतिपय विषयमा त्रुटी गर्नुभएको हुन्छ भने वर्षौं अगाडिको घटनामा घटना घटेको समयलाई लिएर साक्षीहरुको फरक फरक कुरा आउनु सामान्य हो ।

आलमका पक्षका कानून व्यवसायीको बहस सकिएपछि शुक्रबार नै सरकारी वकिलको तर्फबाट प्रतिबहस भएको थियो । प्रतिबहसमा जाहेरकर्ता (पीडित) पक्षका वकिलले समेत अभियोग पत्रका सन्दर्भमा उठाइएका प्रश्नको जवाफ दिएका थिए ।

प्रतिवादी (आलम)का कानून व्यवसायीले उठाएको प्रश्नमा जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवाल,  सहायक जिल्ला न्यायाधीवक्ता रामप्रसाद पन्थी र जाहेरीकर्ताको पक्षका कानून व्यवसायी पुष्पराज पौडेलले जवाफ दिएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : १५ बजे

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा

पाँच महिनामा बागमतीको करिब १२ प्रतिशत मात्र बजेट खर्च

बागमती– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो पाँच महिनाको अवधिमा

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

ढाका – बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको

रामप्रसादराईका वडा-वडामै योजना सम्झौता

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती

वीरगञ्ज – वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा