प्रधानमन्त्रीले स्वीच थिच्दा भेरी किनारमा निस्कियो बबईबाट छिरेको टिबिएम | Khabarhub Khabarhub

प्रधानमन्त्रीले स्वीच थिच्दा भेरी किनारमा निस्कियो बबईबाट छिरेको टिबिएम


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको महत्वपूर्ण मानिएको सुरुङ छिचोल्ने कामले मंगलबार पूर्णता पाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बटन (स्वीच) थिचेर मंगलबार सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री ओलीले स्वीच थिच्दा बबई नदीको किनारबाट पेसको सुरुङ खन्ने टिबिएम मेसिन भेरी नदीको किनारमा निस्कियो ।

२०७४ कात्तिक मसान्तदेखि बबई नदीको किनार (हात्तीखाल)बाट टनेल बोरिङ मेसिन (टिबिएम)को सहायताबाट भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न थालिएको थियो । टिबिएमको सहायताबाट १७ महिनामा १२ हजार २ सय १० मिटर चुरे पर्वत छितोलिएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।

सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।

प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् ।

विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक सञ्जीव बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।

४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब ४ अर्ब ३ करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक ३ अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

१० अर्ब ५० करोडमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार सुरुङ निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न  ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य छ ।

तस्वीरहरु– प्रधानमन्त्रीका फोटोग्राफर कृष्ण पौडेलबाट सौजन्य

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  २ : ४५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार