काठमाडौं– मलेसियास्थीत नेपाली दूतावासले नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्दा संयमता अपनाउन आग्रह गरेको छ ।
दूतावासले विभिन्न संघसस्थालाई धार्मिक तथा साँस्कृतिक महोत्सव, विदाको अवसरमा कलाकारहरुलाई निम्ता गरेर कार्यक्रम आयोजना गर्दा संयम अपनाउन आग्रह गरेको हो ।
नेपाली कलाकार बोलाएर धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्दा सम्बन्धित देशको समुदायलाई असर नपार्न दूतावासले विज्ञप्तिमार्फत सूचित गराएको छ ।
धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम आयोजना गर्न र प्रक्रिया पूरा गरेको जानकारी दूतावासलाई गराउन पनि विज्ञप्तिमा भनिएको छ ।
यसैगरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय भाषा, धर्म र संस्कृतिका बारेमा ख्याल राख्न र त्यस विपरित कुनै काम नगर्न समेत दूतावासले अपिल गरेको छ ।
मलेसियामा कार्यक्रमका लागि आउने कलाकारलाई सम्वन्धित भिसा (भिजिट पास प्राफेसनल) प्राप्त भएपछि मात्र कार्यक्रममा सहभागि गराउन सम्बन्धी निकायलाई भनिएको छ ।
मलेसियामा केहि दिन अगाडी तीनजना कलाकारसहित केहि नेपाली कार्यक्रमकै दौरान पक्राउ परेका थिए । उनीहरुलाई भिजिट भिसामा गएर कार्यक्रम गरेको अभियोगमा मलेसिया प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया