अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय | Khabarhub Khabarhub

अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  उत्तर कोरियाली नागरिकको अवैध लगानीमा नेपालमा सञ्चालित उद्योग तथा व्यवसायहरु अन्ततः बन्द हुने भएका छन् ।  सरकारले उत्तर कोरियाली नागरिकहरुको लगानीमा सञ्चालित उद्योग तथा व्यवसायहरु बन्द गर्न निर्देशन दिएको हो ।

उद्योग विभागले भदौ तेस्रो सातादेखि लागू हुने गरी २ महिनाको समयसीमा (अल्टिमेटम) तोकेर उत्तर कोरियाली नागरिकहरुलाई आफ्ना उद्योग तथा व्यवसाय बन्द तथा बिक्री गर्न निर्देशन दिएको हो ।

विभागको निर्देशनानुसार अब नेपालमा व्यवसाय सञ्चालन गरिरहेका उत्तर कोरियाली नागरिकहरुले अक्टुबर मसान्तसम्म आफ्ना व्यवसाय तथा उद्योग बन्द गरेर स्वदेश फर्किसक्नुपर्ने छ ।

उद्योग विभागका अनुसार उत्तर कोरियाली नागरिकहरुको लगानीमा ९ वटा उद्योग तथा व्यवसायहरु सञ्चालित छन् । जसमध्ये ५ वटा मात्रै होटल तथा रेस्टुरेन्ट छन् ।

संयुक्त राष्ट्र संघले पछिल्लो ३ महिनामा गरेको अनुसन्धानअनुसार उत्तर कोरियाले नेपालमा अवैध धन्दा चलाएर आफ्नो देशमा रकम भित्र्याइरहेको फेला पारेको थियो ।

विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले परराष्ट्र मन्त्रालयमार्फत उत्तर कोरियाली नागरिकहरुको लगानीमा सञ्चालित उद्योग तथा व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको बताए ।

‘संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका कारण हामीले पनि यहाँ रहेका उसका व्यवसाय बन्द गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेका छौं,’ लुइँटेलले खबरहबसँग भने, ‘भदौ तेस्रो साताबाट लागू हुने गरी २ महिनाभित्र अर्थात् अक्टुबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्नुपर्छ ।’

उत्तर कोरियामाथि नाकाबन्दी लगाउने राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय नेपालले पालना नगरेको भन्दै राष्ट्र संघीय बैठकमा दबाब दिने भनेर राष्ट्र संघ र अमेरिकाले नेपाल सरकारलाई सचेत गराउँदै आएका थिए । खबरहबले उत्तर कोरियालीले नेपालमा अवैध लगानी गरी उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेको समाचार प्रकाशन गर्दै आएको थियो ।

लुइँटेलका अनुसार गत साउन १५ गते नै परराष्ट्र मन्त्रालयले उत्तर कोरियन व्यवसाय बन्द गर्न पत्राचार गरेको थियो । त्यसपछि उत्तरकोरियाका प्रतिनिधि र लगानीकर्ता राखेर छलफल पनि गरिएको थियो । सोही छलफलअनुसार आगामी अक्टुबर मसान्त सम्मको समय सीमा तोकेर उत्तर कोरियाली नागरिकहरुलाई आफ्नो उद्योग तथा व्यवसाय बन्द गर्न पत्राचार गरिएको लुइँटेल बताउँछन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार उत्तर कोरियाली नागरिकको लगानीमा नेपालमा ९ वटा उद्योग तथा व्यवसाय सञ्चालित छन् । जसमध्ये ५ वटा रेस्टुरेन्ट विभागमा दर्ता रहेका छन् । रेस्टुरेन्टका अतिरिक्त अस्पताल र सफ्टवेयर कम्पनीमा पनि उत्तर कोरियाली नागरिकको लगानी रहेको विभागले जनाएको छ । यद्यपि उत्तर कोरियालीहरुको लगानीमा सञ्चालित अस्पताल र केही सफ्टवेयर कम्पनीहरु भने यसअघि नै बन्द भइसकेका छन् ।

यस्तो छ, नेपालमा उत्तर कोरियाली नागरिकहरुको उद्योग तथा व्यवसाय दर्ताको विवरण

– २०६४ असार २५ गते Tong Min Ri को नाममा काठमाडौंको गोलढुंगामा चलाउने भन्दै १६ बेड ३२ सिट क्षमताको होटल एण्ड रेस्टुरेन्ट सर्भिस दर्ता

– २०६४ साउन ३० गते Young Ju Kim को नाममा २०० सिट क्षमताको रेस्टुरेन्ट सर्भिस दर्ता

– २०७५ असार ८ गते, Hwang UN HA, Sin Yong IM र Ri Chang Nam को नाममा १५० सिट क्षेमताको बोतोङगाङ्ग रेस्टुरेन्ट एण्ड बार प्रा.लि. (Botonggang Restaurant and Bar pvt. ltd) दर्ता

– २०७५ भदौ २० गते जु ओके ह्वाङ (Ju Ok Hwang) र इल ह्याङ काङ (Ri Chang Nam) को नाममा १ सय सिट क्षेमताको हिमालय सोजे रेस्टुरेन्ट प्रालि दर्ता

– २०७५ असोज १५ गते, Jong Kum Yong, Pak Son Hui र Ho Il Ram को नाममा १ सय सिट क्षमताको मिनास रेस्टुरेन्ट एण्ड बार प्रा.लि. दर्ता

उद्योग विभागको रेकर्ड अनुसार, हिमालय सोजे रेष्टुरेन्ट प्रालि २०७५ भदौ २० गते जु ओके ह्वाङ र इल ह्याङ काङको नाममा दर्ता भएको देखिन्छ । काठमाडौंको लाजिम्पाटमा सञ्चालन गर्ने भनेर दर्ता भएको उक्त रेस्टुरेन्ट भने ललितपुरको सानेपामा सञ्चालन गरिएको छ ।

१ सय सिट क्षमता र २३ जना कामदार राख्ने भनेर दर्ता गरिएको यो रेस्टुरेन्टमा कामदारलाई भने अबैध रुपमा काममा लगाउने गरिएको थियो ।

उद्योग विभागको सूचीमा हेर्ने हो भने अहिले १०० प्रतिशत उत्तर कोरियाली नागरिककै लगानी ५ वटा रेष्टुरेन्ट दर्ता भएको देखिन्छ ।

विभागले नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका उत्तर कोरियाली नागरिकको अब भिसा अवधि थप नहुने पनि जनाएको छ ।


यो पनि पढ्नुहोस्

अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ५ : ३६ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप