आमाको पीडा– दोस्रो श्रीमानबाट त माया पाइएला भनेको छोरीमाथि बलात्कार गर्‍यो ! | Khabarhub Khabarhub

आमाको पीडा– दोस्रो श्रीमानबाट त माया पाइएला भनेको छोरीमाथि बलात्कार गर्‍यो !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा ४ वर्षीया एक बालिका जीवन–मरणको दोसाँदमा छिन् । सौतेलो बाबु दोलखाका अर्जुन श्रेष्ठले बलात्कारपछि कुटपिट गर्दा उनी अहिले बेहोस छिन् ।

बालिकाकी १९ वर्षीया आमा रमा श्रेष्ठ (नाम परिवर्तन) ट्रमा सेन्टरको आईसीयूको बाहिरपट्टि टोलाउँदै बसीरहेकी थिइन् । बालिका बैशाख २४ गतेदेखि ट्रमा सेन्टरको आईसीयूमा छिन् । बालिकाको उपचारमा संलग्न चिकित्सकका अनुसार बालिकाको टाउकोमा रगत जमेका थियो । बालिकाको शल्यक्रिया गरेर जमेको रगत निकालिएको छ ।

यसरी भयो घटना

१३ वर्षकै उमेरमा भारतीय नागरिकसँग विवाह गरेकी रमा पतिबाट हिंसामा परेपछि छोरी सहित एकवर्षदेखि माइतमै थिइन् ।

पहिलो पतिबाट हिंसामा परेकी रमाले दोस्रो पटक आफैले मन पराएर अर्जुनसँग विवाह गरिन् । ‘लभ परेर’ विवाह गरेकी रमाले आफूले पतिको माया पाउने र छोरीले पनि बाबुको माया पाउलिन् भन्ने आसा पालेकी थिइन् ।

‘मसँग शुरुमा फोनबाट कुरा हुन्थ्यो । उसको पनि बुढीले छाडेको रहेछ । एउटा छोरा पनि थियो । मलाई फोनमा सम्झाउँथ्यो,’ रमाले अर्जुनसँगको प्रेम र विवाहबारे सुनाइन्, ‘तिम्रो पनि बुढाले छाडेको, मेरो पनि बुढीले छाडेको, हाम्रो दुःख पनि मिल्छ, म तिम्रो छोरीलाई पनि माया गर्छु तिमिलाई पनि काठमाडौंमा राख्छु, भनेर फकायो ।’

माइतीमै बसेर छोरी हुर्काइरहेकी रमाको नजिकैका आफन्तको माध्यमबाट दोलखाका अजुर्न श्रेष्ठसँग टेलिफोनमार्फत चिनजान भएको थियो । रमाले आमालाई पनि जानकारी नदिइ अर्जुनसँग घण्टौसम्म टेलिफोनमा कुराकानी गर्न थालिन् ।

फोनमा सुनिने अर्जुनको ‘मिठो बोलिले’ रमाको मन पग्लियो । भर्खरै १९ वर्षमा पुगेकी रमालाई अर्जुनले राखेको ‘विवाहको प्रस्ताव’ राम्रै लाग्यो । आमासँग कुरा गरेर अर्जुनलाई पनि माइतमै बोलाइन् ।

छोरीले अर्जुनसँग नियमित कुरा गरिरहन थालेपछि रमाकी आमाले नै छोरीको पूर्व पति र नातिको विषयमा सबै कुरा बताइन् ।

आफूलाई पनि पहिलेकी श्रीमतिले छाडेर गएकाले रमासँग विवाह गर्न चाहेको भन्दै अर्जुनले रमाकी आमालाई पनि मनाए । अर्जुनले रमासँगै सानी ‘छोरी’को पनि राम्रोसँग ख्याल गर्ने वचन दिए । आफ्नी आमासँग पनि रमाकी आमाको फोनमै कुरा गराए ।

पहिलो घरमा पतिबाट हिंसामा परेकी रमालाई माया गरेर राख्छु भन्ने अर्जुन भेटाएपछि रमाकी आमाले पनि सजिलै विश्वास गरिन् । रमाको माइतमा सबैसँग चिनजान गरेर अर्जुनले रमा र छोरी दुवैलाई काठमाडौंमा सुखसँग राख्ने वचन दिएका थिए ।

रमाको माइतीमा फोनमा कुराकानी भएपछि अर्जुन भोलिपल्ल रमालाई लिन गए । रमाकी छोरी घरमै थिइन् । तर छोरीले आमा खोज्न थालेपछि १० दिनपनि रमाकी आमाले नातिनीलाई पनि छोरीकै साथमा छाडेर आइन् । नातिनीलाई रमाको दोस्रो घरमा छाडेर आएपछि दुई महिनासम्म त राम्रै चलेको थियो । तर, समय वित्दै गएपछि रमाको दोस्रो पतिको माया पनि घट्दै गयो । रमाको भाग्यमा सोचेजस्तो पति दोस्रो पटक पनि परेन ।

शुरु–शुरुमा छोरी र आफुलाई पनि निकै माया गरेजस्तो गर्ने अर्जुनले विस्तारै आफ्नो असली रुप देखाउन थालेको रमाले सुनाइन् । अर्जुनले ४ वर्षकी छोरीलाई विभिन्न बाहानामा कुटपिट गन थाले ।

‘दुई महिनाजति राम्रै गरेको थियो । छोरीलाई मैले स्कूल पढाउन लगे । स्कुलमा आमाबाबुको नागरिकता चाहिने भएपछि उसँग विवाह दर्ता र नागरिकता बनाइदिनु भने,’ रमाले सुनाइन्, ‘तर मेरो न विवाह दर्ता गरिदियो न नागरिकता पाए । छोरी भर्ना नभइ स्कुलमात्रै जान थालि ।’

छोरी स्कुल जान थालेपछि अर्जुनले रमा र छोरी दुवैलाई दुर्व्यवहार गर्न थाले ।
‘पढ्न लेख्न मानिन् भन्दै ४ वर्षीया छोरीमाथि अर्जुनले कुटपिट गर्न थाले, छोरीलाई नपिट्नु भन्दा मलाई नै पिट्न आउने,’ रमाले खबरहवसँग भनिन्, ‘हरेक साँझ मलाई सामान किन्न एक्लै पठाउँथ्यो । छोरीलाई आफूसँगै राख्थ्यो । म फर्केर आउँदा छोरीले बाबाले कुटो भन्दै रुन्थी ।’

माइतबाट अर्जुनकै साथमा दोलखाको चरिकोट आएकी रमाले माइत फर्किने बाटो पनि चिनेकी थिइनन् । अर्जुनले जस्तोसुकै दुर्व्यवहार गर्दा पनि सहेर बस्नुबाहेक अर्को विकल्प उनका लागि थिएन ।

‘गाउँमा कसैलाई चिनेको थिइनँ, ४ तिरको बाटो थियो, कुन बाटो कता जान्छ थाहा थिएन, माइत फर्किन न बाटो चिनेको थिएँ, न मसँग पैसा नै थियो,’ रमाले सुनाइन्, ‘उसले जे गरे पनि सहेर बस्नुबाहेक केही गर्न सकिनँ ।’

छोरीमाथिको अर्जुनको हिंसा रोकिएन । अति नै भएपछि रमाले सासुलाई फोन गरेर चरिकोट बोलाइन् । सासु र जेठाजुले अर्जुनलाई सम्झाए । सासु घरमै भएपछि रमालाई केही दिन छोरीको चिन्ता भएन । छोरी सासुकै साथमा खेल्ने, हिँड्ने र सुत्ने गर्न थालिन् । तर केही दिनमै सासुको पनि व्यवहार परिवर्तन भयो । छोरीले ओछ्यानमै पिसाव गर्छे भन्दै सासुले रमाकी छोरीलाई वास्ता गर्न छाडिन् ।

अर्जूनले रमालाई ४ वर्षीया छोरीसँगै लिएर सुत्न समेत दिँदैनथे ।

‘छोरीसँग सुत्दै दिँदैन थियो, त्यसलाई एक्ले सुत्न दे भनेर मलाई कपाल समातेर जानै दिएन,’ रमाले भनिन्, ‘छोरीलाई मेरै आगाडि कुट्ने, जाडोमा पनि चिसो पानीले नुहाएर छाला नै निस्किने गरी माड्दिने गथ्र्यौ ।’

बैशाख २० गते रमाकी छोरीलाई अर्जुनले खाली ड्रमको विर्कोले टाउकोमा हिकाए । रमाकी ४ वर्षीष छोरी केही बेर रन्थनिइन् । सौतेलो बाबुको कुटाइबाट उनको टाउकोमा ठूलो टुटुल्को उठ्यो । रमाले छोरीलाई बचाउन जाँदा आफूले पनि कुटाइ खाएको बताइन् ।

‘छोरीलाई नकुट्नु भन्दा मलाई पनि कुट्यो, छोरी रातभरी टाउको दुख्यो भनेर रोइरहि, मैले केही गर्न सकिन्,’ रमाले रुँदै सुनाइन्, ‘छोरीले रातभर उल्टी गरि, दुई दिनसम्म छोरी बिरामी भइ्, म अभागी आमासँग छोरीलाई अस्पताल लैजान पैसा पनि थिएन ।’

बैशाख २० गते आमा–छोरीको रात रोएरै बित्यो । सौतेलो बाबुको कुटाइ खाने डरले छोरीले रमालाई विहानै स्कुल लगिदिनुस् भनिन् । दुई दिन स्कूल गएपछि छोरी (निसा)को अनुहार बिरामीको जस्तै देखिन्थ्यो । २३ गते स्कुलबाट फर्किएपछि रमाले निसालाई नुहाइदिइन् ।

‘छोरीलाई नुहाइदिन लाग्दा उसको पिसाब फेर्न ठाउँमा रातो रातो भएको थियो, ठूलो मान्छेको जसरी फोहोर पानी बगेको थियो,’ रमाले भनिन्, ‘के भएको छोरी भन्दा दुखेको छ मात्रै भनि, पाछ्छिएको होला भन्ने सोचेर नुहाएपछि तेल लगाइदिएँ ।’

२३ गते बेलुका छोरी निदाउन लागेकी थिइ । अर्जुनले रमालाई राति ९ बजे अण्डा किन्न पसल पठाए । उनले छोरीलाई पनि लिएर जान्छु भनिन्, तर अर्जुनले छोरीलाई लान दिएनन् । रमा अण्डा किनेर आउँदा अर्जुन निसालाई आँगनमा लगेर उनको जिउमाथि पानी छ्यापिरहेका थिए ।

‘म पसलबाट अण्डा किनेर ल्याउँदा छोरीलाई आगनमा लगेर पानी छ्याप्दै थियो, छोरीको शरीर चिसो भइसकेको थियो,’ रमाले भनिन्, ‘मैले छोरीलाई के भयो भन्दा तैले नुहाइदिएर चिसो लागेको, जता पनि लैजाने त्यहि भएर बोक्सी लागेको भने ।’

अस्पताल लैजाउँ भन्दा पैसा नभएको भन्दै अर्जुनले भोलीपल्ट ऋण खोजेर लैजाउला भने । रमा रातभरी छोरीलाई काखमा लिएर बसिन् ।

रमाले भनिन्, ‘छोरी बोल्न नसक्ने अवस्थामा थिइन् । राती दाल तताएर खाना र पानी खुवाए, छोरी बोल्नै सकिनन्, रातभरी छटपटाइन् ।’

जब २४ गते बिहान छोरीलाई चरिकोट अस्पतालमा लगिन् तब रमाको होस् उड्यो । त्यहाको स्वास्थ्यकर्मीको कुरालाई रमाले विश्वास गर्नै सकिनन् । विश्वास गरुन् पनि कसरी जब त्यहाँका स्वास्थ्यकर्मीले आफ्नी ४ वर्षीया छोरीको बलात्कार भएको बताए ।

‘अस्पतालमा डाक्टरहरुले घरको विषयमा सबै कुरा सोधे, डाक्टरहरुले छोरीलाई बलात्कार भएको भन्दा मैले विश्वास नै गर्न सकिन्,’ रमाले भनिन्, ‘त्यहाका महिलाहरुले तिम्रो छोरीमाथि बलात्कार भएको हो भनेपछि मैले घरमा अर्जुनले गर्ने व्यवहारको विषयमा सबै बताए ।’

चरिकोटमा चिकित्सकहरुले बालिकाको बलात्कार भएको र टाउकोमा पनि रगत जमेकाले काठमाडौं रेफर गर्‍यो ।

रमाले दिएको बयानका आधारमा प्रहरीले अर्जुनलाई पक्राउ गर्यो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार ४ वर्षीया बालिका निसामाथि वैशाख २३ गते राति बलात्कार भएको देखिएको छ । अर्जुनले राति ९ बजे रमा (आफ्नी श्रीमती)लाई अण्डा किन्न लगाएर सौतेली छोरी (४ वर्षीया) निसामाथि बलात्कार गरेको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

चरिकोटका अस्पतालकै चिकित्सक र प्रहरीको सहयोगमा रमाले छोरीलाई लिएर बैशाख २४ गते काठमाडौंको ट्रमासेन्टर ल्याएकी हुन् ।

‘मैले छोरीलाई यहाँ ल्याउँदा उसलाई प्रहरीले लगेको थियो, मेरो छोरी बलात्कार गर्नेलाई जीवनभर जेलमै विताउन परोस् भन्ने चाहन्छु,’ रमाले भनिन्, ‘ त्यसले मेरो छोरीलाई मृत्युको मुखमा पुर्‍याएको छ, त्यसलाई पनि मृत्युदण्ड नै दिनुपर्छ ।’

अर्जुन प्रहरी हिरासतमा

आफ्नै सौतानी छोरीमाथि बलात्कार र कुटपिट गर्ने अजुर्न अहिले प्रहरीको हिरासतमा छन् । बालिकाकी आमा छोरीको उपचारको लागि काठमडौं आएकाले परिवारले प्रहरीमा जाहेरी भने दिइसकेका छैनन् । दोलखा प्रहरीका अनुसार कुटपिट गरेकै अरोपमा हिरासतमा राखिएको र घटनाको थप अनुसन्धान हुन बाँकी रहेको छ ।

यता अस्पतालको रिपोर्टमा भने बालिकाको यौनाङ्गमा पनि ‘समस्याहरु’ देखिएको उल्लेख छ । ट्रमा सेन्टरले बालिकाको लागि स्वस्थ्य परिक्षणको लागि स्त्रीरोग चिकित्सकलाई ट्रमामा बोलाएको छ ।

‘बालिकाको यौनाङ्गको अवस्था हेर्दा उसको यसअघिपनि धेरै पटक बलात्कार भएको जस्तो देखिन्छ,’ स्रोतले खबरहवसँग भन्यो ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : १२ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्