'विपद्‌को पूर्वतयारी कागजमा मात्रै सीमित भयो' | Khabarhub Khabarhub

‘विपद्‌को पूर्वतयारी कागजमा मात्रै सीमित भयो’


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 10 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढिला गरी सुरु भएको मनसुन सक्रिय भएसँगै बाढीपहिरोको प्रकोपमा परी पछिल्लो समय मुलुकभर ७८ जनाको ज्यान गयो । ३२ जना अझै बेपत्ता छन् । यस किसिमको क्षति नेपालमा बर्सेनि दोहोरिने गर्छ । हरेक वर्ष बर्खाको समयमा हुने जनधनको क्षतिलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गर्दछन् ।

बाढीपहिरोबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने विषयमा समयमै सरकार जिम्मेवार नबन्दा नागरिकले यति ठूलो क्षति व्यहोर्नु परेको भन्दै सरकारको आलोचना पनि भइरहेको छ । प्राकृतिक विपदलाई रोक्न सम्भव हुँदैन । तर यसबाट बच्न पूर्व तयारीहरु भने गर्न सकिन्छ । यसतर्फ सरकारको ध्यान जान नसकेको विज्ञहरु बताउँछन् । आवश्यक तयारी गर्नु पर्ने बेलामा सरकार र जिम्मेवार निकायले ध्यान नदिँदा विपदको घडीमा थप समस्या भोग्नु परेको उनीहरुको भनाइ छ ।

नेपालले बर्सेनि भोग्दै आएको प्राकृतिक प्रकोपको क्षतिलाई न्यूनिकरण गर्न तथा नागरिकको जनधनको सुरक्षाका लागि सरकारले के–कस्ता विषयमा ध्यान दिन आवश्यक छ ? हाम्रा पूर्व तयारीहरु किन प्रभावकारी हुन सकेनन् ? तत्काल र दीर्घकालका लागि के गर्न आवश्यक छ ? यिनै प्रसंगमा केन्द्रीत रहेर नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक नवराज ढकालसँग खबरहबले गरेको प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

हरेक वर्ष नेपालमा बाढीपहिरोको प्रकोपका कारण ठूलो जनधनको क्षति हुँदै आइरहेको छ । सुरक्षाकर्मी पनि त्यतिकै रुपमा उद्धार तथा राहतमा खटिन्छन् । क्षति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले पूर्व तयारी र गम्भीर रुपमा यो विषयलाई नलिएको देखिन्छ । सरकार कहाँ चुकिरहेको छ भन्ने लाग्छ तपाईंलाई ?

तपाईं, हामीले बाढीपहिरोका कारण बर्सेनि ठूलो जनधनको क्षति भइरहेको देखिरहेका छौँ, सुनिरहेका छौँ । थुप्रै परिवारले आफ्नो परिवारको सदस्य गुमाउनु परिरहेको छ । हामीले जनजीवनमा प्रभाव पारिरहेको दर्दनाक पीडा देखिरहेका छौँ । पछिल्लो समयलाई हेर्ने हो भने यो विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सचेतना बढ्दै गएको देखिन्छ ।

सञ्चारमाध्यमलगायत विभिन्न माध्यममार्फत यो विषयबारे सूचना प्रवाहको काम पनि भइरहेको छ । सरकारी संयन्त्रले पनि संघीयतापछि प्रदेश, स्थानीय तह तथा जिल्ला सबै तहमा विपत व्यवस्थापन समिति बनाएको छ । नीतिगत तथा कार्यान्वयन क्षेत्रको काम पनि गरेको देखिन्छ ।

साथै एक–दुई दशकयता नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा रेडक्रसलगायतका संस्थालाई प्राकृतिक विपद व्यवस्थापनका सम्बन्धमा तालिम प्रदान गर्ने र विपद व्यवस्थापनका कार्यमा पूर्व तयारी अवस्थामा राखेको देखिन्छ । विपदका बेला गरिनु पर्ने ठूल्ठूला उद्धार तथा राहत, बेपत्ताको खोजीलगायतका कार्य गर्न तालिम प्रदान गरेको देखिन्छ । तर ति तयारीहरु कहाँ देखिन्छ भने, तथ्यांकमा मात्र देखिन्छ । सामान्य अवस्थामा देखिन्छ ।

जब हाम्रोमा बाढीपहिरो वा ठूलो वर्षात हुन्छ, अचानक ति सबै कुरा फेल भयो कि जस्तो लाग्छ । आम नागरिकले चासो राख्नु पनि स्वभाविक हो ।

के–के कारण यो भइरहेको छ ?

जंगल सखाप भएर बाढीपहिरो धेरै जान थाल्यो । पानी परेपछि त्यसलाई रोकथाम गर्ने कुनै संरचना भएन, त्यसले पनि यस्ता विपत्ति आइरहेको भन्ने कुराहरु हुने गर्छन् ।

अर्को विषय भनेको ठूल्ठूला खोला तथा नदीमाथि अतिक्रमण बढ्दै गएको छ । जग्गाको भाउँ बढ्न थालेपछि अतिक्रमणका कारण त्यस्ता खोला तथा नदी अहिले नालीमा सीमित हुन पुगेका छन् । साना खोल्साखोल्सीको त कुरै नगरौँ । त्यसमा पनि नेपालमा तीन किसिमका खोला, नदी छन् । जुन चाहिँ वर्षाको समयमा जनमानसमा प्रभाव पार्ने खाल्का हुन्छन् ।

पहिलो ठूला नदीहरु कोशी, नारायणी, गण्डकी, महाकाली, राप्तीलगायत छन् । यिनीहरुमा हिमाल तथा पहाडबाट आएका साना–साना खोलाखोल्सी मिसिँदा बर्खाको समयमा निक्कै ठूलो आकार लिन्छन् । पहाडबाट तीव्र गतिमा आएका यस्ता नदीले तराईमा गएर क्षति पुर्‍याउने गर्छन् । यस्ता नदीबाट हुने क्षति आफ्नो ठाउँमा छँदैछ ।

अर्को सामान्य खाल्का खोलाहरु, यसमा मेची खोला, विरिङ, कन्काईलगायतका पर्छन् । यी खोलाहरु हिउँदमा निकै सानो आकारका हुन्छन् । तर यी खोलाहरुमा बर्खाको समयमा मध्य पहाडबाट आएका साना खोलाहरुको पानी मिसिँदा ठूलो आकार लिन्छन् । र ठूलो क्षति पुर्‍याइरहेको देखिन्छ । यस्तै, अर्को हो खहरे । यस्ता खहरे चाहिँ वर्षा हुने बित्तिकै गड्गडाएर आउने र वर्षा सकिएसँगै सुकेर जाने हुन्छन् ।

यी तीनवटै नदी तथा खोलाका विषयमा पहिले नै राष्ट्रियस्तरमा तथा विभिन्न सहयोगी संघसंस्थाहरुको पहलमा अध्ययन भएको मैले पाएको छु ।

सुरक्षाकर्मीलाई त सलाम गर्नु पर्छ । सुरक्षाकर्मीले प्राप्त तालिम, सामूहिक भावनाका साथै देश र नागरिकप्रतिको मायाले मात्रै जोखिम मोलेर कार्य गरेका हुन् । नत्र उनीहरुले पनि उद्धारको समयमा साधन आउँदै छ, एकछिन पर्खनुहोस् भन्ने हो भने अहिले जति भइरहेको छ त्यति पनि उद्धार तथा राहतको काम हुँदैनथ्यो ।

यिनीहरुका लागि अलग–अलग योजना बनाउनु पर्छ । त्यसअनुसार जनधनको क्षति नहुने गरी प्रवाधान मिलाउनु पर्छ भन्ने कुरा दशकौँ अगाडिदेखि नै मुलुकका सम्बन्धित मन्त्रालय तथा सम्बन्धित निकायसँग नभएको होइन । त्यति हुँदाहुँदै पनि हामीले पानीलाई त रोक्न सक्दैनौँ । कहिले सोचेँभन्दा बढी आउँछ, कहिले कम आउँछ ।

बाढी आउने बित्तिकै, त्यसको सम्पूर्ण भेल खोलामा आउँछ । पहाडमा जति क्षति गर्न सक्छ, गर्छ । काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने आफ्नै कथा छ । यहाँका सबै नदी तथा खोलालाई अतिक्रमण गरेर नाली बनाइएको छ । यस्तो अवस्थामा धेरै पानी हुने बित्तिकै बाढीले आफ्नो क्षेत्र लिनका लागि खोला (नाली) को सतहभन्दा माथि आएर टोल–टोल, बस्तीभित्र छिरेर घुम्दा यस पटक पनि ठूलो क्षति पुर्‍यायो ।

धेरै घरहरु डुबानमा परे, बाढीले बगाउँदा कतिको ज्यान गयो । यसलाई व्यवस्थापन गर्न पनि ठूलो रकम, समय लाग्ने अवस्था यहीँ राजधानीमा सिर्जना भएको छ । यी सबैलाई हेर्ने हो भने हामी यस्ता विपद पूर्व गरिनु पर्ने पूर्व तयारीमा चुकिरहेका छौँ ।

अर्को विपदको मुख्य कारण चुरेको विनाश पनि हो । विगतभन्दा पछिल्लो समय सरकारले चुरे संरक्षणमा गम्भीरता देखाउँदै गएको छ । तर विगतको क्षतिबाटै हामी निस्कन सकेका छैनौँ । त्यसैको असरले अहिले पनि पानी पर्ने बित्तिकै ढुंगा बालुवा, सोतर सबै बगाएर तराईंलाई हिर्काइरहेको छ, क्षति पुर्‍याइरहेको छ ।

अर्को पटक–पटक उब्जिरहेको विषय छिमेकी मुलुक भारतले बाटो तथा तटबन्ध बनाउँदा हाम्रो भूभाग डुबान हुने गरी काम गरिरहेको भन्ने कुरा पनि आइरहेको छ । नेपालतर्फको जमिनभन्दा अग्लो स्थानमा बाटो बनाइदिँदा डुबानको समस्या देखिएको छ ।

यसको पीडा जनताले भोगिरहेका छन्, देखिरहेका छन् । त्यसैले यो विषयमा सत्यतथ्य जे हो, हरेक सरकारले जनतालाई भन्नु पर्छ । यदि अन्तर्राष्ट्रिय तथा दुई देशबीचको मापदण्ड विपरित त्यस्ता संरचना निर्माण गरिएको छ भने हटाईनु पर्छ । हरेक वर्ष यस्तै अवस्था रह्यो भने यस्ता क्षेत्रका जनताको जीवनस्तर कहिल्यै पनि सुध्रिँदैन ।

गृहमन्त्रालयदेखि प्रदेश, स्थानीय तहसम्म नै विपद व्यवस्थापन समिति छ । तर यसको काम किन प्रभावकारी हुन सकेन ?

पूर्व तयारीको एउटा चरणमै हामी चुक्यौँ । विपत पूर्वका विषयमा सधैँ गरिनु पर्ने कार्य तथा तयारीका विषयमा हामी चुकेका छौँ । तीन सुरक्षा संयन्त्रले जे गर्‍यो, त्यसैमा सबै चुप लागेर बसेका छन् । तर उनीहरुसँग पनि आवश्यक उपकरण तथा स्रोत साधन त हुनु पर्‍यो नि ?

कुनै विपद आइपर्‍यो भने सुरक्षा निकायसँग त्यस्ता साधन नहुन सक्छ । यस्तो अवस्थामा सडक विभागसँग छ भने उसँग सम्पर्क गर्नु पर्‍यो । भनेको समयमा सम्पर्क हुँदैन । भइहाल्यो भने पनि त्यस्ता उपकरण चलाउने व्यक्ति त्यहाँ उपलब्ध हुँदैन । मान्छे उपलब्ध भयो भने, चाबी भेटिएन भन्छ । चाबी भेटियो भने इन्धन छैन भन्छ ।

यता मान्छेको ज्यान जाने अवस्था भइसकेको हुन्छ । उता आवश्यक साधन बाहिर निस्कने छाँटकाँट नै देखिन्न । यस्ता विषयमा पूर्व तयारी हुन अत्यन्तै आवश्यक छ । यसका साथै विद्यायलहरु, स्थानीय क्लबहरु तथा स्थानीय तहबाट मानिसहरुलाई सचेतना प्रदान गर्ने, विपत आइ पर्दैछ भन्ने पूर्व जानकारी सबै जनतामा पुर्‍याउने तथा सुरक्षित रहन सचेत गराउने कार्यमा जुट्न आवश्यक छ ।

यसका साथै सुरक्षित स्थानमा जानुपर्ने अवस्था आएमा केही दिनका लागि पिउने पानी, ड्राई फुडलगायत आवश्यक सामाग्री लिएर जानका लागि सम्बन्धित निकायले सचेतना दिनु पर्ने हुन्छ ।

बाढीबाट बच्नका लागि आवश्यक तरिकाहरु सिकाउने, टोलटोलमा टायरहरु फुलाएर राख्ने जस्ता कार्यमा ध्यान दिन आवश्यक छ । जुन विपतमा ज्यान जोगाउन सहयोगी हुनेछ । सबै स्थानमा सुरक्षाकर्मी त पुग्न सक्दैनन् । यस्तो अवस्थामा मानिसहरु आफै पनि सचेत हुनु पर्छ । सुरक्षाकर्मीलाई त सलाम गर्नु पर्छ । किन भने उनीहरु पनि पूर्ण रुपमा स्रोतसाधन सम्पन्न छैनन् ।

त्यो उद्देश्य त दुःख, पीडामा परेका जनतालाई बचाउने होइन रहेछ नि ? मैले दिएको तैले खाईस्, त्यसैले जीवनभरका लागि तँ मेरो हुनु पर्छ भनेर दिन खोजेको होनी । विपदका बेलामा राज्यले पनि यस्ता विषयमा ध्यान दिन सकिरहेको हुँदैन । त्यही बेला यस्ता तत्वले खेल्ने अवसर पनि पाउँछन् ।

उनीहरुले आफ्नो ज्यान जोखिममा राखेर उद्दार तथा राहतको कार्यमा खटिएका छन् । सुरक्षाकर्मीले प्राप्त तालिम, सामूहिक भावनाका साथै देश र नागरिकप्रतिको मायाले मात्रै जोखिम मोलेर कार्य गरेका हुन् । नत्र उनीहरुले पनि उद्धारको समयमा साधन आउँदै छ, एकछिन पर्खनुहोस् भन्ने हो भने अहिले जति भइरहेको छ त्यति पनि उद्धार तथा राहतको काम हुँदैनथ्यो ।

यहाँ भन्नु खोजेको कुरा के हो भने यत्रो वर्षदेखि यस किसिमको विपत खेपिरहँदा कुन स्थानमा बढी क्षति हुन्छ, कुन स्थान जोखिमयुक्त अवस्थामा छ भन्ने कुरा त पहिचान भइसकेको छ । त्यसैले यस्ता स्थानहरुमा विपद आउनु अघि नै साधनस्रोतसहित सुरक्षाकर्मी परिचालन गर्ने, पूर्व तयारीहरु गर्न सक्नु पथ्र्यो । अहिले त मौसमको पूर्वानुमान पनि केही दिन अगाडि नै हुन्छ । डुबान तथा पहिरोको जोखिम भएका स्थानका मानिसहरुलाई अगाडि नै अन्यत्र सार्ने तथा सुरक्षाकर्मी परिचालन गर्ने कार्यमा ध्यान दिनु पथ्र्यो । तर यी विषय कहिल्यै सम्बोधन भएको पाइँदैन ।

यस्तै, समन्वयको विषय पनि उत्तिकै उठ्ने गर्छ । जिल्लामा विपद व्यवस्थापन समिति छ । तर सुरक्षाकर्मीलाई छोडेर उनीहरुले आ–आफ्नो ढंगले काम गरिरहेका हुन्छन् । नागरिकप्रतिको दायित्व त सबैमा छ नि ! आ–आफ्नो उपलब्ध स्रोतको उपयोग गर्दै सुरक्षाकर्मीलाई सूचना दिने, समन्वय गर्ने विषयमा ध्यान दिएको देखिँदैन । यस्तो अवस्थामा उल्टै मानिसहरुको अनावश्यक भीड जम्मा गर्ने र सुरक्षाकर्मीलाई उद्धार कार्यमा बाधा पुग्ने खालका कार्य हुने गर्छन् । उद्धार कार्यमा जुट्नु पर्ने सुरक्षाकर्मी भीड नियन्त्रण तथा हटाउन व्यस्त हुनु पर्छ । यो कुरामा पनि हामी चुकिरहेका छौँ ।

विपतको समयमा सुरक्षाकर्मी विभिन्न जिम्मेवारीमा खटिएका हुन्छन् । तर उनीहरुलाई एउटा ढंगले मात्रै हेरिन्छ । अहिले पछिल्लो समय भने हेभी किसिमको उद्धार कार्यमा नेपाली सेना, मध्यम किसिमको उद्धार कार्यमा सशस्त्र प्रहरी र सामान्य तथा पहिलो उद्धार कार्यमा नेपाल प्रहरी खटिने गरी प्राथमिक चरणको डिजाइन गरिएको छ ।

तर हाम्रोमा भौगोलिक अवस्था र आकस्मिक रुपमा आउने बाढीका कारण सबै क्षेत्रमा उस्तै प्रभाव हुने भएकाले मभन्दा माथिल्लो स्तरको उद्धार दल आउँछ कि भनेर पर्खिनु पर्ने स्थिति पनि छ ।

तपाईंको अनुभवमा उद्धार कार्यमा खटिने सुरक्षाकर्मीका लागि साधनस्रोतको चाहिँ कस्तो अवस्था छ ?

पहिलो नम्बरमा भन्नु पर्दा जति हुनु पर्ने थियो, त्यो पर्याप्त छैन । अहिले भएको साधनलाई वृद्धि गर्नै पर्छ । अर्को के छ भने आवश्यक नपरेको अवस्थामा यहाँ यति छ, त्यहाँ त्यति छ भनेर हिसाब गरिन्छ । तर चाहिएको बेला सही समय त्यस्ता साधन नआउने समस्या छ । साधन परिचालनका लागि व्यवस्था मिलाउँदै गर्दा यता भने क्षति भइसकेको हुन्छ ।

अर्को विषय भनेको बाँधको समस्या । यो निकै अफ्ठ्यारो विषय हो । सीमामा बसेका दुवै देशका नागरिक, नागरिक नै हुन् । तर कसलाई कति क्षति भएपछि यसको प्रभावका विषयमा कुरा गर्ने ? सधैँ यो विषय विवादित बनिरहेको छ ।

लामो समयदेखि सरकारले यो विषय सम्बोधन गर्ने प्रयास गरिरहेको जानकारीहरु बाहिर आइरहेका छन् । तर ति प्रयास कार्यान्वयन नभएसम्म नागरिकले त आफ्नै सरकारलाई दोष दिन्छन् नि ! त्यसैले यस्ता विषय सल्टाउनु पर्ने देखिन्छ । दुवै देशको सरकारले दुवै देशका नागरिकको सुरक्षामा ध्यान दिनु पर्छ । मेरा चाहिँ बचुन्, तेरा चाहिँ मरुन् भन्ने त सोच्नु भएन ।

त्यसैले हिउँदको समयमा डुबान हुनबाट जोगिन कुन–कुन स्थानमा के–कस्तो संरचना बनाउनु पर्ने हो उक्त कार्य गरिनु आवश्यक छ । एक दिनको भारी वर्षाले कति क्षति पुर्‍याउँदो रहेछ भन्ने कुरा हामीले हालैको घटनाले देखिसकेका छौँ । लगातार रुपमा तीन दिनमात्रै भारी वर्षा हुने हो भने हाम्रो अवस्था बेहाल हुने रहेछ ।

यस्तो विपदको समयमा नागरिकलाई भड्काउने गतिविधि पनि हुन्छन् । १२ बैशाख २०७२ को भूकम्पले मानिसको ज्यान गइरहेको बेला सहयोगको नाममा पठाइएको चामलको बोरामा बाईबल हामीले भेटेको होइन र ? त्यो हामीले नै हेरेको होइन र ?

त्यो उद्देश्य त दुःख, पीडामा परेका जनतालाई बचाउने होइन रहेछ नि ? मैले दिएको तैले खाईस्, त्यसैले जीवनभरका लागि तँ मेरो हुनु पर्छ भनेर दिन खोजेको होनी । विपदका बेलामा राज्यले पनि यस्ता विषयमा ध्यान दिन सकिरहेको हुँदैन । त्यही बेला यस्ता तत्वले खेल्ने अवसर पनि पाउँछन् ।

मूलत हरेक वर्ष भइरहेको यस किसिमको क्षतिमा राजनीतिक नेतृत्व, प्रशासन वा नागरिक समाज को जिम्मेवार हुन् ?

यो देश सिंगापुर, बेलायत जस्तो विकसित मुलुक बन्यो भने तपाईं कसलाई जस दिनुहुन्छ ? राजनीतिक नेतृत्वलाई होनी ! अनि जस लिनेले अपजस नलिने ? यो देश राम्रो भयो भने त्यसको जिम्मेवारी नागरिकको भन्दा पनि उहाँहरुको हो ।

त्यसपछि विभिन्न संयन्त्र छन् । कर्मचारीतन्त्र छ, नागरिक समाज छ, संघसंस्था छन्, सञ्चारमाध्यम छन् । मेरो विचारमा मिडियाको भूमिका ठूलो छ । कहाँ भन्दा सचेतना अभिवृद्धि र सूचना आदानप्रदानमा । संसारमा विपत्तिलाई कसैले रोक्न सक्दैन । तर यी सबै संयन्त्रले आ–आफ्नो भूमिका निर्वाह गरेको खण्डमा प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न चाहिँ सकिन्छ ।

यो जुन क्षति भयो, यस्तो क्षतिलाई आगामी दिनमा रोक्नका लागि सरकारले तत्काल र दीर्घकालका लागि के गर्न आवश्यक छ ?

पहिलो कुरा त सरकारले गर्छ कि गर्दैन ? वा गर्न सक्छ कि सक्दैन भन्ने कुरा हाम्रो देशमा बढो सजिलो रुपमा उठ्ने गर्छ । हामी कार्यान्वयनका क्षेत्रमा धेरै तल छौँ । तर पनि गर्नै पर्छ र गर्छ भन्ने कुरामा म चाहिँ विश्वास राख्छु ।

यो निराश हुनु पर्ने समय पनि होइन र हुनु पनि हुँदैन । हामी अगाडि बढ्दै जाने हो, राम्रो गर्दै जाने हो । यस्तो बेलामा सरकार तथा राजनीतिक दल पनि सँगै अगाडि बढ्नु पर्छ । दलगत हिसाबले छुट्टिनु हुँदैन ।

यतिबेला विपदमा परेका नागरिकको जनधन बचाउने, उनीहरुलाई पुर्नस्थापना गर्ने, उनीहरुको जीविकालाई चलाउने विषयमा सबै लाग्नु पर्छ भन्ने मेरो पहिलो विचार हो । दोस्रो डुबान भएका क्षेत्रमा पानीको तहलाई घटाउने, जोखिमा रहेका जनतालाई सुरक्षित स्थानमा सार्ने, त्यसरी बसेकाहरुका लागि कम्तीमा सुरक्षित पिउने पानी, खाने र बस्ने व्यवस्था मिलाउन अत्यन्त जरुरी छ । यस्तै महामारी पनि फैलन सक्छ । झाडापखाला फैलन सक्ला, लामखुट्टेले टोकेर मलेरियाको संक्रमण देखिएला ।

यसलाई रोक्न हाम्रो क्षमताले भ्याउँछ भने तत्काल औषधि तथा अन्य व्यवस्था गरिनु पर्छ । यदि क्षमताले भ्याउँदैन भने यिनै नागरिकको लागि देश र सरकार भएकाले छिमेकी मुलुकहरुको सहयोगमा २४ घण्टाभित्र आवश्यक व्यवस्था सरकारले मिलाउनु पर्छ ।

जब स्थिति सामान्य हुन्छ । विस्थापितहरु पुर्नस्थापित हुन्छन् । त्यसपछि भने जनजीविका चलाउने विषयमा सरकारले ध्यान दिनु पर्छ । किन भने उनीहरुले ठूलो क्षति व्यहोरेका हुन्छन् । उनीहरुको जीविकाका लागि कुन किसिमको सहयोग आवश्यक पर्छ, त्यसतर्फ ध्यान दिइनुपर्छ । केही समयका लागि भएपनि पीडित व्यक्तिहरुका लागि रोजगारीको व्यवस्था गर्नेलगायतका कार्यमा सहयोग गरेको खण्डमा उनीहरुको दैनिकीमा सहजता आउनेछ ।

आजभन्दा ३०–३५ वर्ष अगाडिको कुरा गर्ने हो भने टुकुचा मलाई ठूलै खोला लाग्थ्यो । अहिले टुकुचा कहाँ छ, भेट्दा पनि भेटिँदैन । हुँदाहुँदा नालीमा परिणत भएको छ । त्यसमाथि पनि सिमेन्टको स्ल्याप लगाएर तरकारी पसल राख्ने, मोटरसाइकल पार्किङ गर्ने स्थल भइसक्यो ।

विद्यालय, कलेज तथा अस्पताल खुलाउने विषयमा पनि त्यस्तै ध्यान दिनु पर्छ । बाढीपहिरोले अवरुद्ध सडक सञ्चालनलगायतका कार्यमा पनि त्यसैअनुसार कार्य गरिनु पर्छ ।

यस्ता कार्य गर्न सरकार एक्लैको प्रयास पर्याप्त हुन सक्दैन । त्यसैले विपदको घडीमा विभिन्न संघसंस्थाहरु पनि सहयोगमा जुटेका हुन्छन् । जहाँ–जहाँ राहत तथा सहयोग आवश्यक छ, सरकारले समन्वय गरेर त्यस्ता संस्थाहरुलाई विभिन्न ठाउँको जिम्मेवारी दिएर खटाउँदा पनि प्रभावकारी ढंगले काम हुने देखिन्छ ।

यसरी परिचालन गरिएको सहयोग तथा राहत वास्तविक पीडितले पाउने व्यवस्थाको ग्यारेन्टी हुन आवश्यक छ । यी सबै कुरालाई एउटा चेक लिस्ट लिएर गरियो भने पक्कै पनि प्रभावकारी बन्नेछ । किन भने हामीले विगतमा पनि यस्ता केही विपदको सामाना गरिसकेका छौँ । अझै पनि त्यस्ता विपद आउँलान् । विगतको अनुभवलाई सदुपयोग गर्दै विपद व्यवस्थापनको कार्य गर्ने हो भने त्यति धेरै मुस्किलको सामना गर्नु पर्दैन भन्ने लाग्छ ।

हाम्रो जस्तै विकटता भएका अन्य मुलुकमा पनि प्राकृतिक प्रकोप हुने गर्छन् । तर हाम्रोमा चाहिँ यस्ता प्रकोप आउँदा छिनमै तहसनहस बनाउने गर्छ । यसको मूल कारण के हुन सक्छ ?

धेरै टाढा जानै पर्दैन । काठमाडौं बाहिरको दुर्दशा हेर्ने हो भने चुरे क्षेत्रका जंगल मासिएका छन् । खोलामा अतिक्रमण, अवैध रुपमा गिट्टी, बालुवा उत्खननले पारेको असर ज्वलन्त रुपमा  देखिरहेकै छौं । यहीँ काठमाडौं आसपासको क्षेत्रलाई हेर्नुहोस्, तपाईं बुढानिलकण्ठमाथि जानुहोस्, पूरा डाँडै काटेर बेहाल बनाएको देखिन्छ । व्यक्तिको निजी सम्पत्ति भनेपनि राज्यले निर्धारण गरेको नीति नियम र कानूनको त पालना हुनु पर्‍यो नि ?

कतै डोजर लाउने, सम्याउने, निखार्ने, घर बनाउने यस्ता नियमभन्दा बाहिरको काम गर्न पाइन्न । आजभन्दा ३०–३५ वर्ष अगाडिको कुरा गर्ने हो भने टुकुचा मलाई ठूलै खोला लाग्थ्यो । अहिले टुकुचा कहाँ छ, भेट्दा पनि भेटिँदैन । हुँदाहुँदा नालीमा परिणत भएको छ । त्यसमाथि पनि सिमेन्टको स्ल्याप लगाएर तरकारी पसल राख्ने, मोटरसाइकल पार्किङ गर्ने स्थल भइसक्यो ।

विष्णुमति लगायतका खोला माथिल्लो भागमा जुन क्षेत्रमा फैलिएका छन्, तल–तल आउँदा अतिक्रमण गर्दै लगेर पहिलेको टुकचाको अवस्थामा पुर्‍याइएको छ ।

यस्ता सबै गतिविधिलाई हेर्दा हामीले अहिले प्रकृतिलाई चुनौति दिइरहेका छौँ । प्रकृतिको फाइदा लिने कुरा नगरेर प्रकृतिलाई चाहिँ मेरो बसमा पार्छु भन्ने काम भएको छ । यो त कुनै हालतमा हुँदैन । यिनै कुराले अहिले हामीले धोका खाईरहेका छौँ । यसले गर्दा दीर्घकालिन रुपमा नेपाल राज्य रहुँञ्जेल हाम्रा भावी सन्ततीको भविष्यमाथि अहिले हामीले खेलबाड गरिरहेका छौँ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : २१ बजे

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता

अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा– अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र