लागुऔषधको भयावह रुप, हिप्पीले भित्र्याएको बरबादीको बाटो | Khabarhub Khabarhub

लागुऔषधको भयावह रुप, हिप्पीले भित्र्याएको बरबादीको बाटो



अहिले नेपाली यूवामाझ ठूलो समस्याका रुपमा देखिएको छ, लागुऔषधको कुलत । यो समस्याबारे अधिकांश मानिसहरु जानकार र सजग भएपनि यस्तो कुलत नेपालमा कसरी भित्रियो भन्ने रहस्य धेरैलाई थाहा नहुन सक्छ । अझ साथीसंगत र लहलहैमा लागेर कुलतमा फस्नेहरु स्वयंलाई यसबारे जानकारी नहुन सक्छन् । लागुऔषध सम्बन्धी नेपालको केही तथ्य यस्तो छ-

वि.सं.२०२५ साल साउनमा तत्कालीन अन्तःशुल्क विभागले गोरखापत्रमा प्रकाशित गरेको टेण्डरले पनि लागुऔषधको तत्कालीन अवस्थाको चित्रण गर्छ । त्यो समयमा पत्रिकामा नै गाँजा चरेशको ठेक्का भनेर खोलिन्थ्यो । यतिमात्र होइन, गाँजा, चरेश यहाँ बिक्री हुन्छ भनेर खुलेआम होर्डिङ्बोर्ड समेत राखिन्थ्यो र बेचविखन गरिन्थ्यो ।

यतिसम्म कि लागुऔषधकै नाममा रेष्टुरेण्ट र खानेकुराको सूची समेत तयार गरिएको प्रमाण यो तस्विरमा स्पष्ट देखिन्छ । जहाँ रेष्टुरेण्टको नाम स्पष्ट लेखिएको इडन ह्यासीस् सेन्टर, मेनुमा हरेक खानेकुराको अगाडि ह्यासीस् राखिएको छ ।  यी तस्वीर वि.सं. २०२५ देखि ०३०/३१ को अवधिका हुन् । त्यो समयदेखि फष्टाउँदै गएको लागुऔषधले अहिले आएर भयावह रुप लिएको छ ।

यसरी शुरु भयो लागुऔषधको कुलत

लागुऔषध प्रशिक्षक तथा विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार, सन् १९६० को दशकमा नेपालमा पर्यटकका लागि ढोका खुलेसँगै विदेशी पर्यटकहरु धमाधम भित्रन थाले । उनीहरुसँगै छरिएको कपाल, भरिएको गाँजा, लथालिंगे लुगा अर्थात हिप्पी संस्कृतिको प्रवेश भयो ।

लागुऔषध विश्लेषक त्रिपाठी भन्छन्– त्यही हिप्पी संस्कृतिसँगै लागुऔषधको कारोबार र प्रयोग भित्रिएको हो । त्यो समयमा कानून कडा थिएन, त्यसैको फाइदा उठाउँदै सन् १९७१ को दशकमा आइपुग्दा नेपालमा लागुऔषधले भयावह रुप लियो । यसले नेपाली संस्कृतिमाथि घिनलाग्दो प्रहार गर्‍यो ।

ढेड लाख बढी लागुऔषध प्रयोगकर्ता

केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अनुसन्धान अनुसार नेपालमा ४६ हजार व्यक्ति लागुऔषध प्रयोग गर्थे । २०६९ सालमा आइपुग्दा लागुऔषध प्रयोगकर्ताको संख्या बढेर ९१ हजार १ सय ५० पुग्यो ।

विभागले निकालेको तथ्यांकमा यो संख्या प्रतिवर्ष ११ दशमलव ६ प्रतिशतले वृद्धि हुने उल्लेख थियो । त्यसयता सरकारले नयाँ तथ्यांक निकालेको छैन । २०६९ सालको तथ्यांकमा कुल ९१ हजार ५ सय ३४ मध्ये पुरुष ८५ हजार २ सय चार जना (९३.१) प्रतिशत र महिला ६ हजार ३ सय ३० (६.९) प्रतिशत थिए ।

प्रतिवर्ष ११.६ प्रतिशतले वृद्धि हुँदा पछिल्लो ६ वर्षको २०७५ सम्मलाई आधार मान्ने हो भने १० हजार ६ सय १७ जनाको दरले बढेको देखिन्छ । २०६९ यताको पाँच वर्षलाई आधार मान्दा प्रतिवर्ष ११.६ प्रतिशतको वृद्धि जोड्दा ६३ हजार ७ सय १० जना बढेको देखिन्छ ।

२०६९ मा थपिएको संख्या जोड्दा अहिले नेपालमा डेढ लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेका छन् । यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ बर्ष उमेर समुहका यूवापुस्ताको संख्या झन्डै ८० प्रतिशत छ ।

पुरुषको संख्या बढी भए पनि महिला पनि लागुऔषधको कुलतमा फसेका छन् । दुई वर्षअघिको तथ्यांकमा महिला दुर्व्यसनीको संख्या ६ हजार ३ सय ३० थियो । तर, लागुऔषधमा फसेका पुस्तालाई सामान्य जीवनमा फर्काउन सरकारसँग खासै ठूलो कार्यक्रम पनि छैन, बजेट पनि नभएको बताइन्छ ।

कुलतमा कलेज पढ्ने युवा

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यका अनुसार लागुऔषध प्रयोतकर्ता सबैभन्दा बढी युवा देखिएका छन् । त्यसमा पनि कलेज पढ्ने र हुनेखाने परिवारका बढी छन् ।

प्राविधिक र विज्ञान विषय पढ्नेहरुमा नशालु पदार्थको लत बढी देखिएको प्रहरी अधिकारी बताउँछन् । कठिन कोर्स हुँदा ध्यान केन्द्रित गर्न पनि उनीहरुले लागुऔषधको प्रयोग गर्ने गरेको बयान दिने गरेको डीआईजी अमात्य बताउँछन् ।

२०६९ को तथ्यांकअनुसार कुल प्रयोगकर्ताको २० देखि २४ वर्ष मुनिका ३३ प्रतिशत, २५ देखि २९ वर्षमुनीका २२ र १५ देखि १९ वर्षमुनीका २० प्रतिशले लागुऔषधको प्रयोग गरेको पाइएको छ ।

विशेष गरी काठमाडौं, कास्की, चितवन, झापा, सुनसरी, मोरङ, बाँकेसहित तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या अधिक छ ।

५७ प्रतिशत सुईमार्फत प्रयोग

विश्लेषक त्रिपाठीका अनुसार लागुऔषधलाई प्राकृतिक, अर्ध–प्राकृतिक वा अर्ध–कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि । अर्ध प्राकृतिक वा अर्ध कृतिमतर्फ हिरोइन, कोकिन आदि पर्छन् भने कृतिमतर्फ बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, स्रोतको आधारमा ७०.१ प्रतिशत दुर्व्यसनीले अन्य दुर्व्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुर्व्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्यांक छ । लागुऔषध सेवन गर्ने दुर्व्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुर्व्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ ।

नियन्त्रणमा समस्या

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याए पनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यतिसम्म कि कुन लागुऔषध हो ? कुन होइन ? त्यसलाई सहजरुपमा छुट्याउने प्रविधि समेत छैन प्रहरीसँग ।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विश्वराज पोखरेल भन्छन्– अनुमानका भरमा लागुऔषध चिन्नुपर्ने अवस्था छ । अनुसन्धान भन्छ – लागुऔषधको प्रयोग बढ्दो छ ।

यसले हजारौं युवालाई बरवादीको बाटोमा पुर्‍याएको छ । अपराध बढाएको छ । प्रहरी भन्छ – हामी सक्रिय छौं, चलखेल कम गर्छौं । अनि विज्ञहरु भन्छन् – खुला सीमानाका कारण लागुऔषधको कारोबार बढेको हो ।

जे भएपनि अहिले लागुऔषध ठूलो समस्याको रुपमा देखिएको भने पक्का हो । यसको प्रकोप रोक्न हरेक क्षेत्रबाट प्रयास हुनु जरुरी देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ