काठमाडौं– सार्वजनिक भएको छोटो समयमै चर्चा र विवादमा आएको ‘लुट्न सके लुट…’ बोलको गीत पुनः युट्यूबमा अपलोड गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अनुरोध गरेको छ ।
आइतबार बसेको वैठकपछि प्रतिष्ठानले गायक पशुपति शर्मालाई उक्त गीत जस्ताको त्यस्तै युट्यूबमा राख्न अनुरोध गरेको हो ।
सार्वजनिक भएको केही समयमै विवादित बनेपछि शर्माले युट्यूबबाट गीत हटाएका थिए । सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश लेख्दै गायक शर्माले आफ्ना शुभेच्छुकको सल्लाह बमोजिम केही शब्द परिमार्जन गर्न भनेर गीत युट्यूबबाट हटाएका थिए ।
शर्माले गीत हटाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएको छ । शर्माले गीतमार्फत सरकारको आलोचना गरेकाले सरकारी पक्षले गीत हटाउन लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
यसै सन्दर्भमा आइतबार लोक दोहोरी प्रतिष्ठानको बैठक बसेको थियो । बैठकमा गायक शर्मा समेतलाई बोलाइएको थियो । वैठकमा शर्माले युट्यूबबाट गीत हटाउनुको कारण उल्लेख गरेका जनाइएको छ ।
आइतबारको वैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार शर्माले गीतका केही शब्द आफैंलाई ‘फेर्न योग्य’ लागेर युट्यूबबाट हटाएको बताएका छन् ।
प्रतिष्ठानले भने गायक शर्मालाई उक्त गीत पुनः जस्ताको त्यस्तै युट्यूबमा अपलोड गर्न आग्रह गरेको छ ।
गायक शर्माले भने गीत अपलोड गर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि लोक दोहोरी प्रतिष्ठानका पदाधिकारीहरुले भने छिट्टै उक्त गीत युट्यूबमा अपलोड हुनसक्ने बताएका छन् ।
यस्ताे छ प्रतिष्ठानको विज्ञप्ती,
प्रतिक्रिया