विश्लेषण : कश्मीर आक्रमणले भारतीय चुनावमा पार्ने प्रभाव « Khabarhub

विश्लेषण : कश्मीर आक्रमणले भारतीय चुनावमा पार्ने प्रभाव



गत विहीबार भारत प्रशासित कश्मीरको पुलावामामा भारतीय अर्धसैनिक बल सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवान सवार सवारी लस्करलाई लक्षित गरी पाकिस्तानी गुप्तचरको सहयोग प्राप्त जैश–ए–मोहम्मदको एक लडाकुले आत्मघाती बम आक्रमण गर्दा ४० भन्दा धेरै सुरक्षाकर्मीको ज्यान गएपछि भारतभर आक्रोश छाएको छ ।

लामो समययता कश्मीरमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमणले वाह्य मात्र नभएर आन्तरिक राजनीतिमा समेत ठूलो प्रभाव पार्ने देखिएको छ । भारतले आतंकवादी हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्‍याउँदै कारबाहीको लेखाजोखा गरिरहँदा आगामी मे महिनामा हुन गइरहेको आसन्न संसदीय निर्वाचनमा समेत प्रभाव पार्ने देखिन्छ । यो आक्रमणले चुनावलाई कसरी र कति प्रभावित पार्ला भन्नेबारे पनि बहुआयामिक कोणबाट विश्लेषण गरिएको छ ।

कुनै पनि आतंकवादी आक्रमणले सो देशको कट्टर दक्षिणपन्थी तथा राष्ट्रवादीमाथि जनताको सहानुभूति बढ्ने गरेको केही देशहरुमा उदाहरण पनि देखिएका छन् । फ्रान्समा केही वर्षअघि भएका आतंकवादी आक्रमणलगत्तै दक्षिणपन्थी पार्टी तथा नेताहरुको लोकप्रियता ह्वात्तै बढेको देखियो भने अमेरिकामा डोनाल्ड ट्रम्पले आतंकवादविरुद्ध लिएको आक्रामक नीतिले समेत राष्ट्रवादीहरुको मत र सहानुभूति बटुल्न सफल भएको थियो ।

त्यस्तै आतंकवादी आक्रमण तथा अल्पसङ्ख्यकहरुबाट भएका आपराधिक घटनाले बेलायतमा पनि इंग्लिस डिफेन्स लिग तथा ब्रिटेन फस्र्ट लगायतका दक्षिणपन्थी पार्टीको लोकप्रियताले नयाँ उचाई हासिल गरेको थियो ।

भारतीय संचार माध्यमले पाकिस्तानविरुद्धका आक्रामक समाचार र विचारहरु प्रवाह गरिरहेका छन् । भारतीय टेलिभिजनहरु आजतक, जी न्युज, एबीपी न्युज लगायतले पाकिस्तानविरोधी भाव र सैन्य कारबाही गर्न ढिलाइ गर्न नहुने मनसायका समाचारहरु प्रसारण गरिरहेका छन् ।
भारतमा पाकिस्तानको विरोध गर्दा राष्ट्रवादी भइन्छ भन्ने आम जनतामा बुझाइ छ भने राजनीतिक नेतृत्वले पनि राजनीतिक उद्देश्य सिद्द गर्ने हतियारका रुपमा यही मनोविज्ञान पालेको पाइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘राष्ट्रवादी’ सरकारलाई तत्कालै पाकिस्तानविरुद्ध सीमित स्तरको सैनिक कारबाहीसँगै कुटनीतिक कदम चाल्न चरम दबाब छ । बढ्दो जन–दबाब र त्यसलाई आगामी निर्वाचनमा मतदाताको मनोविज्ञान प्रभावित पार्न मोदी नेतृत्वको सरकारले पाकिस्तानविरुद्ध सैनिक आक्रमण गर्नसक्ने र त्यसलाई ठूलो प्रचारको हतियार बनाउन सक्ने सम्भावना पनि देखिन्छ ।

पछिल्लो समय भारतमा मोदी सरकारको अलोकप्रियता चुलिएको छ र यसअघि दुई तिहाई भन्दा बढी सीट जितेको सत्तारुढ भारतीय जनाता पार्टी ‘बीजेपी’ हाल गिरिरहेको जनमतबाट निकै त्रसित छ । मोदी सरकारले पुलावामा आक्रमणको पाकिस्तानलाई कडा जवाफ दिएर गिर्दै गएको लोकप्रियता माथि उठाउन हरतवरबाट प्रयत्न गर्नेछ ।

पाकिस्तानमाथिको कारबाहीले क्षति नपु¥याउने तथा ठूलो युद्ध नभड्कियोस् भन्नेमा सचेत रहँदै भारतीय जनता पार्टी कुनै पाकिस्तानबिरुद्धको सैन्य कारबाहीलाई चुनावको प्रचार सामाग्री बनाउँदै मतदातालाई खुशी पार्ने रणनीति लिन सक्छ ।

पुलावामा आक्रमणले भारतको निश्चित जनतामाझ एक हदसम्म मुसलमान तथा पाकिस्तान विरोधी भावनालाई मलजल गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका कार्यकर्ताहरु अरुप्रति असहिष्णु तथा आक्रामक छन् । उनीहरुले धार्मिक अल्पसंख्यकमाथि गर्दै आएका आक्रमण र दुर्व्यवहारको श्रृंखलाले अन्तर्राष्ट्रिय समुदायलाई झस्काइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी त्यसै पनि हिन्दू राष्ट्रवादी छवि बनाएका नेता हुन् भने बीजेपी यसअघि काँग्रेस सत्तामा भएका बेला भएको आतंकवादी हमलापछि पाकिस्तनविरुद्ध आक्रामक कारबाही नगरेको भनी सरकारको आलोचना गर्ने पार्टी पनि हो । यसअघि सन् २००८ मा भएका मुम्बई आक्रमणपछि तात्कालीन विपक्षी दल बीजेपीले काँग्रेस सरकारसमक्ष पाकिस्तानविरुद्ध कठोर कदम चाल्न सार्वजनिक दबाब दिएको थियो ।

तर, अहिले विपक्षमा रहेको काँग्रेसले सार्वजनिक रुपमै त्यस्तो दबाब दिएको सुनिएको छैन बरु काँग्रेस प्रमुख राहुल गान्धीले आफ्नो पार्टी पुलवामा आक्रमणपछि सरकार र सेनाको पक्षमा रहेको जनाएका छन् । यसको अर्थ काँग्रेसले सरकारलाई पाकिस्तानविरुद्ध तत्कालै कठोर कदम चाल्न प्रत्यक्ष दबाब दिएको छैन ।

आतंकवादी हमलापछि काँग्रेस पार्टी पाकिस्तानविरुद्ध लचिलो रुपमा प्रस्तुत भएको भनि बीजेपीले राजनीति गर्नसक्ने सम्भावना रहेको छ । बीजेपीको वर्तमान सरकारले पाकिस्तानविरुद्ध सीमित स्तरको सैन्य कारबाही गर्ने र त्यसैलाई प्रचार गर्दै काँग्रेसको छवि जनतामाझ धुमिल गराउने प्रयत्न गर्नसक्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ३० बजे

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी