काठमाडौं-घरको भित्ताभरि पेन्टिङ। बाहिर कार्पेट बिछ्याएको ठाउँ । जहाँ बालबालिका नाँच्दै र गाउँदै थिए।
काठमाडौंको धापासीस्थित एक रोपनी जग्गामा एउटा दुई तले घर छ । घरको बिचमा एउटा ठूलो बोर्ड राखिएको छ ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ । सफा, सुन्दर देखिन्छ घरको वरीपरि ।
जहाँ बालबालिकाको मिठो आवाज गेटसम्म गुन्जिरहन्छ । घरको दोस्रो तलामा पुग्दाको रमाइलो बेग्लै थियो । खुल्ला स्थानमा कार्पेट बिछ्याइएको थियो । त्यहाँ केही बालबालिकाहरु रमाइरहेको दृश्य देखिन्थ्यो । कोही नाच्दै थिए त कोही गाउँदै थिए ।
यो बालगृह झापाकी २९ वर्षिया विनिता अर्यालको हो । अनाथ, अपाङ्गता र बेसाहरा बन्न पुगेका बालबालिका छन् बालगृहमा ।
बाल्यकालमा खुत्रुकेमा जम्मा गरेको पैसा साथीभाइको स्वास्थ्य उपचारका लागि खर्च गर्थिन् विनिता । सानैदेखि समाजसेवा गर्ने सोच थियो उनको ।
समाजसेवा शब्द सुन्न जति प्यारो र राम्रो छ तर व्यवहारमा उतार्न कठिनाइ पनि उत्ति नै । विभिन्न कठिनाइका बाबजुत पनि उनी आज समाजसेवी बनेकी छिन् ।
स्कुले जीवनमा विभिन्न क्लवहरुमा सदस्य बन्ने र वृद्धाहरुको हेरचाहमा बढि रुचि राख्थिन् उनी ।
पढ्ने र ठूलो मान्छे बन्ने सोच थिएन उनमा । बरु धेरै पढेर पैसा कमाउनेहरुले के गरेका छन् र ? सोच्थिन् उनी ।
‘आफ्ना लागि त जसले सोच्छ नि ! अरुका लागि सोच्नुपर्छ’ विनिताको बचपनदेखिको धारणा नै यही थियो ।
उनले वि.स. २०६४ सालमा एसएलसी दिइन् । त्यससँगै उनी काठमाडौं आइन् र दिदीको पार्लरमा केही कुरा सिक्न र बुझ्न थालिन् ।
करिब २ वर्षको फरकमा झापाकै इन्द्रप्रसाद अर्यालसँग उनको विवाह भयो । काठमाडौंको बसाइ काम नगरी खाना नपुग्ने । उनका श्रीमान अफिसमा काम गर्न जान्थे उनी दिदीसँगै पार्लरमा बस्थिन् ।
एउटा समाचारबाट पाएका सन्तान
कुरा हो, वि.स. २०६८ साल तिरको । उनी पार्लरमा बसिरहेकी थिइन् । अगाडी राखिएको पत्रिकामा उनको आँखा पुग्यो । समाचार थियो बाग्लुङमा आमाबुबाको मृत्यु भएको र ५ जना छोराछोरीको बिच्चली भएको।
‘पत्रिका पढ्ने क्रममा मेरो आँखाका आशु थामिएनन्’ उनले भनिन्, ‘कसरी हुन्छ त्यी बालबालिकालाई ल्याएर हुर्काउँछ भन्ने सोच आयो ।’ सहज कहाँ थियो र ? विनिता थिइन् काठमाडौं । घटना थियो बाग्लुङको । त्यै पनि पनि दिदीसँग सल्लाह गरिन् उनले ।
दिदीको सल्लाहबमोजिम बालबालिकाका बारेमा समाचार छाप्ने सञ्चार माध्यमसम्म पुगिन् । विनितालाई त्यहाँ कसैले विश्वास नै गरेनन् । त्यो पललाई स्मरण गर्दै विनिता भन्छिन्, ‘म बालबालिकालाई लिन आएको हुँ, त्यसका लागि केके गर्नुपर्छ भनेको थिएँ, सबैजनाले हासोमा उडाउनु भयो’ म भने सिरियस थिएँ।’
विनितालाई पत्रकारले अविश्वास गर्नु स्वभाविक थियो । उमेरले उनी १८ वर्ष मात्र पुगेकी थिइन् । काठमाडौंमा कोठा भाडा लिएर बसेकी विनितालाई बालबालिकाको संरक्षण गर्ने भनिएपछि सम्पत्ती तथा कुनै संस्थामा आवद्ध हो कि भन्ने प्रश्न उठ्न थाले ।
‘एनजिओ आइएनजियो संस्थाका बारेमा कुरा आउन थाले’ उनले भनिन् ‘तर मलाई केही थाहा थिएन म त खाली समाचारमा देखेको र पढेको भरमा कसैको संरक्षण गर्न खोजिरहेकी थिएँ ।’
ठूलो आशा बोकेर सञ्चारमाध्यमको कार्यलयसम्म पुगेकी विनिता निराश भएर घर फर्किइन् । विस्तारै त्यी कुरालाई भुल्ने प्रयत्न गर्दै अघि बढिन् ।
५ सन्तानकी आमा
विनितालाई करिब ५ महिनापछि नयाँ नम्बरबाट फोन आयो । त्यो फोन बाग्लुङ निवासी गाविस सचिवको थियो । विनिताले सोचेकी थिइन, ‘त्यतिन्जेलसम्म त बालबालिकाको संरक्षण भइसक्यो होला तर त्यो होइन रहेछ ।’
‘विनिता भनेको हजुर नै हो भन्ने आवाज सुनेँ’ फोनमा सचिवले भनेका कुरा स्मरण गर्दै विनिताले सुनाइन्, ‘अब त यी बच्चाहरु बाच्छन् कि बाँच्दैनन् थाहा छैन कृपया आएर लैजानुस्’ ।
विनिताको समाज सेवा गर्ने पहिलो यात्रा बन्न पुगे बाग्लुङका ५ बालबालिका । उनको खुसीको सीमा नै रहेन त्यो खुसी आज पनि ताजा छ उनमा । कुराकानीका क्रममा उनको अनुहारले त्यो प्रस्ट बताउँथ्यो ‘भुँइमा खुट्टा थिएँन ती बालबालिका लिन आउनु भनेपछि त।’
मनमनै सपना बुन्न थालिन् उनी ‘वाउ म ममि बन्ने भएँ, ती बालबालिका ल्याएपछि ममि भन्न लगाउँछु’ । विनिता बाग्लुङ पुगिन् र साथमा ५ बालिबालिका लिएर काठमाडौं फर्किन ।
डेरामा आइपुग्दा उनका श्रीमान् छक्क परे । तर, ती अवोध बालबालिकाप्रति विनिताको माया देखेर उनका श्रीमानले केही भनेनन्।
वरिपरीका छरछिमेकीहरु भने विनितालाइ ठुलो काम गरेको र अरु पनि सडक बालबालिका ल्याएर राख्न भन्दै टोकसो समेत सुनाउँथे । तर, विनितालाई अरुको कुराले कुनै प्रवाह पारेन । उनको लक्ष्य नै समाजसेवा थियो ।
उनका सोच त धेरै बालबालिकाको हेरचाह गर्ने थियो तर आर्थिक अवस्थाका कारण उनले तत्काल केही सोचिनन् । श्रीमानको जागिरले ५ जना बच्चा र आफुलाइ पाल्न निकै गाह्रो पर्र्थो उनीलाई ।
त्यही क्रममा भएका गरगहना पनि बेचिन उनले। ‘सहयोग माग्दा कसैले पत्याउँदैनन् थिएँ’ दुख सुनाउँदै उनले भनिन्, ‘आफ्नाहरु नै टाढा भएका छन्’ । अरुको सल्लाहअनुसार उनले बालसंस्था खोल्ने सोच बनाइन् ।
जब संस्था दर्ता गरिन्
०६७ सालमा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक संस्था दर्ता गरिन् । अनाथ बालबालिका देख्दा उनलाई संरक्षण गर्ने हिम्मत आउथ्यो । आम्दानी नभएपनि विनिताले बच्चाहरु थप्दै गइन् । करिब ६ वर्षसम्म अरुका घरका दैलोमा माग्न पुगेको अनुभव सुनाइन् ।
‘म आफैँ पनि त्यो बेला सुत्केरी भएकी थिएँ’ खबरहबसँगको कुराकानीमा उनले भनिन् ‘सुत्केरी अवस्थामा कयौँ दिन खाली पेट लिएर माग्न घरघरमा पुगेँ’ ।
मागेर हिँड्दा धेरैले बच्चाहरुलाई मागि खाने भाडो बनाएकी भन्दै अपशब्द बोल्थेँ कुराकानीका क्रममा उनले भनिन्, ‘रात दिन रुन्थेँ, त्यही पनि फेरि सम्झन्थेँ मैले भिख माग्दा बच्चाहरु बाच्छन् भने किन नमाग्ने’ । उनी निरन्तर रुपमा लागि परिन् ।
विगतका दुख र संघर्ष सुनाउँदा विनिता अलिकति पनि निराश थिइनन् । हिम्मत र आँट र लगनशील व्यक्तिहरु निरन्तरको मेहनतबाट एकदिन सफल बन्नेछन् भन्ने कुरा उनको संघर्षबाट बुझ्न सकिन्छ ।
श्रीमानलाई विदेश पठाइन्
लामो समयसम्म जसोतसो मागेरै बच्चाहरु पाले पनि त्यसपछि उनका श्रीमानले त्यो दुःख देख्न सकेनन् । बच्चाहरुको हेरचाहका लागि विनितालाई छोडेर उनी पैसा कमाउन साउदी पुगे ।
पैसा समयमै तिर्न नसक्दा उनलाई घरभेटीले दिनरात कराउथे । छोराछोरीलाई च्याप्दै डेरा खोज्न हिड्थिन् । ‘अन्य संस्थाका साथीहरुले सहयोग गर्नुको साटो उल्टै हामीले संरक्षण गर्न सकेनौ विनिता, तिमी हेरचाह गर्देउ है भन्दै ल्याएर थपिदिन्थेँ’ उनले भनिन्, ‘तर पनि आत्मबल कमजोर बनाइन्।’
९ वर्षमा ७ ठाउँमा डेरा परिवर्तन गरिन् उनले ।
आफ्नो इच्छाप्रति श्रीमानको पनि उत्तिकै लगाव रहेको उनी बताउछिन् । ‘श्रीमानले विदेश गएर पैसा पठाएपछि विस्तारै मागेर हिड्न छोडेँ’ विनिताले भनिन्, माग्न त अहिले पनि माग्छु तर पहिले जसरी होइन ।’
उनका अनुसार विभिन्न संघसंस्थाले गरेका कार्यक्रममा जाने र बच्चाहरुको लागि केही सहयोग माग्ने गर्छिन् उनी ।
३१ सन्तानले दिएको खुसी
मानिसहरु आफ्नै भविष्यको चिन्ता गर्छन् दिक्क मान्छन् तर म यति धेरै छोराछोरकिो भविष्य बनाइरहेको छु’ गर्वका साथ विनिताले भनिन् ‘ठूला महल, बंगलाले के खुसी दिन्छ र त्यति खुसी आज मलाइ छोराछोरीबाट मिलेको छ ।
अहिले उनको संस्थामा विद्यालय जाने उमेरका ३१ जना बालबालिका छन् । त्यसमध्ये ८ जना बालक र २३ जना बालिकाहरु छन् । बाल संरक्षण धरोहर नेपालका सबै बालबालिका टोखास्थित सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।
‘उनीहरु पढाइमा निकै अब्बल छन्’ उनी भन्छिन्, ‘सबैलाइ निशुल्क पढाइरहेको छु अहिले त’ । तिनीहरुलाइ खुसी देख्दा मख्ख पर्छिन् उनी ।
‘छोराछोरी बिना कसरी रहन्छु र म’ हास्दै उनले भनिन् ‘यिनीहरुलाइ सक्षम बनाउँछु।’
हाम्रो बाल संरक्षण धरोहर नेपाल
विनिताका ३१ जना छोराछोरी निकै अनुशासित छन् । पढाइ मात्र होइन । बालबालिकालाइ यूटुब हेर्दै विभिन्न प्रकारका खानेकुरा बनाउन सिकाउने, नाच्न, गाउन लगायत अन्य क्रियाकलापमा पनि सक्रिय हुन सिकाइरहेकी छिन् उनले ।
‘दिदी हामी त ठूलो भएपछि डाक्टर, इन्जिनियर बन्ने अनि ममीले जस्तै आश्रम खोलेर बस्ने नि’ खबरहबसँग कुराकानी गर्दै मायालु स्वरमा उनीहरुले भने ।
अबको योजना
३१ सन्तानकी आमा बनेकी विनिताको अबको योजना पनि अहिलेको भन्दा फरक भने छैन । बाल संरक्षणमा रहेका बालबालिकालाई उच्च शिक्षा हासिल गराउने र सक्षम हुन सिकाउने उनको योजना छ।
प्रतिक्रिया