कृषिले समृद्ध बनेको डेनमार्कबाट नेपालले के सिक्ने ? | Khabarhub Khabarhub

कृषिले समृद्ध बनेको डेनमार्कबाट नेपालले के सिक्ने ?



वैदेशिक रोजगारी र अध्ययनका लागि विदेसिने नेपालीहरुको संख्या पछिल्ला केही वर्षयता बढ्दै गएको छ । रोजगारीका लागि भन्दा पनि अध्ययनका क्रममा धेरै नेपाली युरोप तथा अमेरिका पुग्ने गरेका छन् । अध्ययनका लागि विदेसिन चाहने नेपाली युवाको गन्तव्य मुलुकको रुपमा केही वर्षयता भने युरोपेली मुलुक डेनमार्क पनि प्राथमिकतामा पर्न थालेको छ ।

कृषिले आर्थिक समुन्नति प्राप्त गर्न सफल डेनमार्कबाट हाम्रो जस्तो कृषि प्रधान मुलुकले थुप्रै कुरा सिक्नु पर्ने देखिन्छ । विभिन्न कालखण्डमा राजनीतिक तथा आर्थिक उतारचढाव भोग्दै समृद्धशाली बन्न सफल डेनमार्कको विकास, विकासको पथमा बामे सर्दै गरेको नेपाल जस्तो मुलुकका लागि मार्गदर्शक बन्न सक्छ ।

विश्वको समृद्ध मुलुकको सूचीमा आउने डेनमार्कबारे धेरैलाई चासो हुने गरेको छ । यहाँका नागरिकको जीवनस्तर विश्वकै उच्च छ । कुल ग्राहस्थ उत्पादन प्रतिव्यक्तिका सूचीमा डेनमार्क शीर्षस्थ स्थानमा आउँछ । खुला बजार अर्थतन्त्रमा आधारित डेनमार्कमा लोककल्याणकारी व्यवस्था पनि उत्तिकै मजबुत छ । प्रतिस्पर्धात्मक बजार रहेपनि शिक्षा, स्वास्थ्य लगायतका समाजका आधारभूत क्षेत्रमा राज्यको महत्वपूर्ण उपस्थिती छ ।

डेनिस अर्थतन्त्रको ठूलो हिस्सा त्यहाँको सेवाक्षेत्रले ओगटेको छ । त्यहाँका करिब ८० प्रतिशत मानिसहरुले सेवाक्षेत्रमा रोजगारी गर्दै आएका छन् भने ११ प्रतिशतले उत्पादनमूलक क्षेत्रमा तथा २ प्रतिशतले कृषि क्षेत्रमा रोजगारी पाएका छन् । ७ प्रतिशत भने अन्य क्षेत्रमा कार्यरत छन् ।

डेनमार्कको मलिलो जमिनमा प्राचिनकालदेखि नै मानिसहरुले कृषिकर्म गरेको इतिहासमा उल्लेख छ । १९ औं शताब्दीको उत्तरार्धबाट डेनिस अर्थतन्त्रको औद्योगिकीकरण भएको थियो । सन् १८५० को दशकमा मुलुकमा पहिलो पटक रेल मार्गहरुको निर्माण भयो भने त्यससँगै आन्तरिक तथा वाह्य व्यापार बृद्धि हुन थाल्यो ।

युरोपमा एकहदसम्मको शान्ति तथा स्थायित्व रहेकाले डेनमार्कको छिमेकी मुलुकहरुसँगको व्यापार पनि बढ्न थाल्यो । व्यापारमा बृद्धि भएसँगै ग्रामिण क्षेत्रका मानिसहरु क्रमशः शहरी क्षेत्रमा आई बसोबास गर्न थाले । शहरी क्षेत्रको जनसङ्ख्या ह्वात्तै बढ्यो भने यिनै शहर आसपास कृषि क्षेत्रमा आधारित विभिन्न उद्योगहरु स्थापना हुन थाले ।

योबेला डेनमार्कमा कृषि क्षेत्रलाई लक्षित गरी विद्यालयहरुको स्थापना गरिएको थियो । महिला–पुरुष गरी सबैका लागि खुला यस्ता विद्यालयले किसानहरुलाई उन्नत किसिमको सीपबारे शिक्षा दिने गर्दथ्यो । यहीकारण डेनमार्कमा कृषि उत्पादन र त्यसको निर्यात पनि क्रमशः बढ्दै गयो ।

१८७० को दशकको समयमा युरोपभर बामपन्थी आन्दोलनहरु उत्कर्षमा थिए । सोही क्रममा डेनमार्कमा पनि बामपन्थी आन्दोलन शुरु भयो । बामपन्थी, टे«ड युनियनहरु र अन्य बामपन्थी संगठनहरुले मजदुरको ज्याला र सुविधाका विषयमा चर्को आन्दोलन चलाए । यसले त्यहाँको उद्योगमा काम गर्ने मजदुरको ज्याला, विदा तथा अन्य सुविधाका लागि पहल गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

त्यसपछि २० औं शताब्दीको शुरु तिर लिबरल पार्टी र रेडिकल पार्टीले सरकार चलाए । यसबेला डेनमार्कको अर्थतन्त्र क्रमशः उकालो लाग्न थाल्यो । त्यसबेलासम्म डेनमार्कको अर्थतन्त्र कृषिजन्य वस्तु तथा अन्य औद्योगिक वस्तुको निर्यातमा आधारित थियो ।

सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु भयो । पहिलो विश्वयुद्धका बेला डेनमार्कका औद्योगिक साझेदार मुलुकहरु युद्धमा होमिएकाले डेनमार्कको अर्थतन्त्र क्रमशः ओरालो लाग्न थाल्यो । डेनमार्क भने आफैंमा तटस्थ मुलुक थियो । तैपनी जर्मनीले डेनमार्कको तटीय क्षेत्रमा समुद्री धराप विच्छ्याएकाले डेनमार्कले अरु मुलुकहरुसँग व्यापार गर्न सकेन । यो क्रममा एकपछि अर्को उद्योगहरु बन्द भएसँगै बेरोजगारी दर पनि बढ्दै गयो ।

सन् १९२४ मा डेनमार्कमा सामाजिक लोकतान्त्रिक पार्टीले अभूतपूर्व बहुमतका साथ सरकार बनायो । उक्त सरकारले अर्थतन्त्रलाई अझ लोककल्याणकारी बनाउनका लागि विभिन्न अवधारणा सार्वजनिक गरे । वर्तमान अवस्थामा डेनमार्कको लोककल्याणकारी व्यवस्थाको प्रादूर्भाव सोही सरकारका समयमा भएको हो ।

त्यसपछि दोस्रो विश्वयुद्धले पनि डेनमार्कको अर्थतन्त्रमा नराम्रो प्रभाव पार्‍यो । दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीले डेनमार्कमाथि कब्जा गर्‍यो । नाजी जर्मनीले डेनमार्कमा कब्जा जमाएपनि त्यहाँ राजतन्त्र यथावतै थियो भने समाजका विभिन्न क्षेत्रमा डेनिस सरकारको एकहदसम्मको नियन्त्रण थियो । जर्मनीको माग पुरा गरुन्जेलसम्म डेनिस सरकार अस्तित्वमा थियो । बढ्दो महत्वकांक्षाका कारण जर्मनीले सन् १९४३ मा डेनिस सरकारको पूर्ण नियन्त्रण आफ्नो हातमा लियो ।

त्यसपछिका दशकमा डेनमार्कको अर्थतन्त्र तीव्र गतिमा अघि बढ्यो । सन् १९५७ देखि सन् १९६५ सम्मका वर्षमा डेनमार्कले नाटकीय शैलीमा समृद्धि हासिल गर्‍यो । नयाँ नयाँ क्षेत्रमा उद्योगहरुको स्थापना हुन थाल्यो भने अत्याधुनिक प्रविधिको प्रयोग गरी स्थापना गरिएको उद्योगबाट रोजगारीको सिर्जना हुन थाल्यो । मानिसहरुको जीवनस्तर पनि अभूतपूर्व गतिमा अघि बढ्यो ।

त्यसपछि सन् १९७३ मा डेनमार्कले युरोपेली संघको सदस्यता प्राप्त गर्‍यो । युरोपेली संघको सदस्यता प्राप्त गरेसँगै युरोपेली मुलुकहरुसँगको व्यापारमा डेनमार्कलाई सहजीकरण पैदा भयो, जुन अझै पनि जारी छ ।

हाल डेनमार्कको अर्थतन्त्र उन्नत, उदार तथा प्रतिस्पर्धात्मक खुला बजारमा आधारित छ । त्यहाँ लोककल्याणकारी व्यवस्था पनि उत्तिकै मजबुत छ । युरोपेली युनियनले डेनमार्कलाई दिने गरेको विशेष छुट तथा प्रावधानका कारण डेनमार्कको अर्थतन्त्र विदेशी व्यापारमा निर्भर छ । विदेशी व्यापारले डेनिस अर्थतन्त्रको ५० प्रतिशत हिस्सा ओगटेको छ । साना व्यवसायहरुले डेनिस अर्थतन्त्रमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

निजी क्षेत्रको खर्चले त्यहाँको कुल आम्दानीको आधाभन्दा धेरै हिस्सा ओगट्ने गरेको छ । बाँकी हिस्सा राज्यले शिक्षा तथा स्वास्थ्य क्षेत्रमार्फत् खर्च गर्ने गरेको छ । डेनमार्कको सामाजिक सुरक्षा उत्कृष्ट रहेकाले त्यहाँ आयकर लगायतका अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष कर पनि धेरै नै छ । यही करमार्फत् राज्यले नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

त्यसबाहेक त्यहाँको सेवाक्षेत्र अर्थतन्त्रको सबैभन्दा महत्वपर्ण पाटो मानिन्छ । स्वास्थ्य, शिक्षा प्रशासनका क्षेत्रमा धेरै मानिसहरुले रोजगारी पाएका छन् । त्यस्तै, पर्यटन क्षेत्र पनि त्यहाँको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।

डेनमार्ककको सारा भूभाग कृषियोग्य छ । मलिलो माटो त्यहाँको सबैभन्दा महत्वपूर्ण कच्चापदार्थको रुपमा रहेको छ । उन्नत खेतीपाती, कृषि, माछामार्ने व्यवसाय, पशुपालन र अन्य किसिमका कृषि उत्पादनले यहाँको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेका छन् ।

उत्पादनमूलक क्षेत्र त्यति महत्वपूर्ण रुपमा विकसित नभएपनि यहाँ खाद्यान्न प्रशोधन, औषधी उत्पादन, जुत्ता, कपडा, धातुका सामान, हावाबाट बिजुली निकाल्ने उपकरण, काठ तथा फर्निचरलगायतका उद्योगले त्यहाँ ठूलो सङ्ख्यामा मानिसहरुलाई रोजगारी दिएको छ ।

यहाँका मानिसहरु अत्यन्त शिक्षित तथा उच्च सीप क्षमताका छन् । राज्यले आफ्ना नागरिकलाई रोजगारीको व्यवस्था गर्ने प्रयास गरेको छ । यसकारण यहाँ बेरोजगारी समस्या धेरै कम छ । बेरोजगारी कम रहेको अवस्थामा यहाँ अपराध पनि थोरै छ । डेनमार्कका हरेक टापु, शहर र गाउँ यातायात र सञ्चारको सहज पहुँचमा छन् । यसबाट उनीहरुले निकै समृद्धशाली जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ४ : १९ बजे

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत– सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२

अल्छीपन त्याग्नुस्, नत्र मधुमेहले सताउला

आज विश्व मधुमेह दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन– जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि

साना दललाई साइजमा ल्याउन कांग्रेस-एमाले मिल्नुपर्‍यो : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो साइजमा

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने

भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ