वामदेव गौतमले केही समय अगाडि एउटा दैनिक पत्रिकामा एउटा लामो लेख लेख्नुभएको थियो । गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेको वैचारिक मतान्तरको नाममा आफ्ना अवधारणाहरु व्यक्त गर्नुभएको थियो । गौतम हाल नेकपाको उच्च स्तरको नेता हुनुभएको तथा सचिवालय सदस्य पनि हुनुहुन्छ ।
नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा अहिले अहम् भूमिका निभाउँदै आउनु भएका गौतम कम्युनिस्ट क्रान्तिलाई अघि बढाउने सवालमा पनि अब्बल भूमिका निर्वाह गर्नु भएको र नेत्तृत्वमा समेत रहनु भएको छ ।
गौतमले जनताको बहुदलीय जनवाद (जबज)बारे आफ्ना अभिमतहरु लेखमार्फत व्यक्त गर्नुभएको छ ।
‘जबज’ नेपाली कम्युनिस्ट आन्दोलनको दौरानमा मदन भण्डारीले उत्पादन गर्नु भएको विचार हो, मात्र विचार । अनि मदन भण्डारीको ‘जबज’ तत्कालीन अवस्थाको माक्र्सवादी शास्त्रीय रचना पनि हो ।
तत्कालीन एमालेले नेपालगञ्ज महाधिवेशनसम्म मदन भण्डरीका विचारहरुलाई विचारको रुपमा मानेको थिएन । यहाँनेर के बुझ्नुपर्छ भने मदन भण्डारीका विचारहरु माक्र्सवादमा आधारित शास्त्रीय रचना मात्रै हुन् भन्ने कुरा प्रमाणित भएको ठहर्छ ।
मदन भण्डारीका विचारलाई हाइस्कूलका विद्यार्थीहरुले डिबेटको विषय बनाएजस्तै तत्कालीन् एमालेका नेत्तृत्वका नेताहरुले विवादको विषय बनाएका थिए ।
तत्कालीन अवस्था भनेको नेत्तृत्वभित्र वामदेव गौतमको पक्षले संस्थापन पक्षमाथि सिद्धान्तको मुंग्रो चलाएको अवस्था पनि थियो त्यो ।
त्यसले गर्दा तत्कालीन संस्थापन पक्षले पनि विचारको रुपमा मानेर ‘जबज’ लाई पार्टीको मार्गदर्शक सिद्धान्त भनेर आएको थियो त्यो । त्यही हिसाबले मैले पनि ‘जबज’ जुन रुपमा लेखिएको थियो, त्यस्तै रुपको वर्णन गरेर लेख लेखेर २० वटा उप–शिर्षकहरुमा विभाजन गरी तत्कालीन एमालेका केही नेताहरुलाई दिएको थिएँ तर वहाँहरुले पनि मदन भण्डारीको विचारलाई माक्र्सवादी विचार मान्न अप्ठ्यारो मान्नु भएको थियो ।
सिद्धान्तको निर्माण क्रान्तिकारी कार्यनीति, त्यसको प्रयोग र प्रयोग भएपछि विश्लेषणबाट त्यसको पुनः प्रयोग हुने गर्दछ । यसको प्रयोग र प्रयोग भएपछि निस्कने संश्लेषण नै सिद्धान्तको रुपमा विकास हुन्छ ।
सिद्धान्तको विकास क्रान्तिबाट/युद्धबाट वा क्रान्तिलाई शान्तिमा रुपान्तरण गरेपछिको नयाँ अवस्थाको संश्लेषण नै सिद्धान्त हुन्छ । संश्लेषण/विश्लेषणबाट प्राप्त नयाँ निश्कर्षहरु हुन्छन् ।
अध्यक्ष प्रचण्डले त्यही नयाँ निश्कर्षहरुबाट विश्लेषण गरी पछाडिको संश्लेषणबाट प्राप्त भएका नयाँ सिद्धान्तहरु नै ‘प्रचण्डपथ’ र पछिल्लो कालमा ‘२१औं शताब्दीको जनवाद’ भनेर भनियो ।
खासगरीकन यो विचारको विश्लेषणबाट संश्लेषणमा छलांग मारेर विकास भएको सिद्धान्त प्रचण्डको विचार श्रृङ्खला हो । ‘जबज’ कुनै प्रयोग र विश्लेषण नभएको विचार भएकोले यसलाई शास्त्रीय ढंगमा लेखिएको विचार मात्र मानिएको छ ।
सहि विश्लेषण बिना सहि संश्लेषण निस्कदैन । कमरेड मदन भण्डारीका विचारहरुमा बिना संश्लेषणको व्याख्या मात्रलाई प्रधानता दिइएको छ । कुनै विश्लेषण/संश्लेषण निकालिएको छैन ।
विचार, जनविद्रोह/जनआन्दोलनको भट्टीभित्र खारिनु पर्ने हुन्छ । तर पूर्व एमालेहरुमा धेरैले मदन भण्डारीको विचारलाई खोपीको देउता सरह मानेर राखिएको दृष्टान्तहरु छन् ।
किनभने त्यसबाट कुनै प्रयोग पनि भएको छैन र क्रान्तिको निर्देशक सिद्धान्त पनि भएको छैन । कुनै विश्लेषण पनि गरिएको छैन, तर ‘जबज’ सम्बन्धि आफ्ना तर्कहरु अघि सार्दै कमरेड वामदेव गौतम आफ्नो लेखमा भन्नुहुन्छ–“नेपालका कम्युनिस्ट पार्टीहरुले पनि लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्धता व्यक्त गरेका छैनन् । तर मदन भण्डारीले १४ वटा विशेषतालाई नेपालमा समाजवादको विकास हुँदा अवलम्बन गर्ने प्रतिवद्धता सहित अगाडी सार्नु भएको थियो ।”
समाजवादको विकास भए पछिको कुरा गर्दा त्यसको विकास कहाँबाट हुन्छ ? कुनै उत्तर छैन ।
यसखाले भनाईले के प्रमाणित गर्छ भने नेताहरुले मदन भण्डारीको विचारलाई आवश्यक पर्दा मात्र प्रचारको नाममा उनका विचारलाई मान्ने गर्दा रहेछन् भन्ने बुझिन्छ ।
गौतमले अगाडी भन्नु भएको छ –“यसमा ध्यान दिनुपर्ने विषय के हो भने मदन भण्डारीले ‘जबज’लाई अघि सार्दा केवल कार्यक्रमको खाकालाई मात्र जनताको बहुदलीय जनवाद भन्नु भएको थिएन । मदन भण्डारीले यो सबै विषय माक्र्सवाद–लेनिनवाद सम्मत छन् भनेर पुष्टी गर्न जुन–जुन सैद्धान्तिक मान्यतामा नयाँ सैद्धान्तिक प्रस्तावना अगाडि सार्नु भयो तिनीहरुको समग्र वैचारीक रुपमा जनताको बहुदलीय जनवादको सिद्धान्त देखा परेको हो ।”
वामदेव गौतमले एकपछि अर्को गर्दै भूलवशका व्याख्या गर्दै आउनुभएको छ । अहिलेको अवस्थामा यसरी व्याख्या गर्नुमा ठिक हुँदैन कि भन्ने बुझ्नु पर्छ । यहाँ त दुईटा संगठन दुईटा भिन्दा भिन्दै स्कूलबाट आएकाहरुलाई एकै विचार, एकै ढोका अनि एउटै मूल बाटोबाट हिँडाउनु पर्ने अवस्था छ ।
यो एकता संघर्षबाट आएको हो र एकता पछि पनि संघर्ष हुन्छ र एकता भनेको विचार र संस्कृतिको पनि एकता हो । कम्युनिस्ट पार्टी भनेको विपरीतहरुको एकताको बारेमा व्याख्या र विश्लेषण गर्ने नियमभित्र रहेको हुन्छ ।
पार्टी एकताबारे अध्यक्ष प्रचण्डले भन्नुभएको छ –“संघर्षमा एकता नदेख्ने र एकता भएपछि पनि संघर्ष नदेख्ने द्वन्दवादी हुनै सक्दैन ।”
यसबाट हामीले के बुझ्नु पर्छ भने एकतामा विचारको पनि संघर्ष हुन्छ, संस्कृतिको पनि संघर्ष हुन्छ र विगत कुराको पनि संघर्ष हुन्छ ।
एकता गर्ने कुरा सम्बन्धि अध्यक्ष प्रचण्ड अगाडी भन्नु हुन्छ –“एकता गर्ने भनेको टाउको गनेर एकता गर्ने होइन, विचारको एकता गर्ने हो ।” यी सबै कारणले के प्रष्टिन्छ भने कमरेड वामदेव गौतमले अहिलेको अवस्थामा र भविष्यमा समेत ‘जबज’लाई मार्गदर्शक सिद्धान्त बनाईनु पर्छ भन्नु एकता/एकीकरणको प्रक्रियाको पनि विरुद्धमा हुन्छ ।
यसबाट के देखाउँछ भने पार्टी भित्रको एकता विरोधी प्रतिक्रियावादी दक्षिणपन्थी कुरुपहरु र संघर्षमा एकता नदेख्ने अनि एकता भएपछि पनि संघर्ष नदेख्ने नेकपा भित्रका पुरोचनहरुले चलखेल गर्ने मौका पाउने हुँदा सबै नेत्तृत्वका नेता कार्यकर्ताहरु सतर्क हुन पर्ने हुन्छ ।
अहिले नेपालमा नेपाली क्रान्ति अर्थात् जनयुद्ध जारी रहेको अवस्था हो । तर क्रान्तिका स्वरुपहरु फेरिएका छन् । विश्वमा नयाँ/नयाँ प्रविधिको विकास भईरहेको छ अनि सूचना सञ्जाल र नेटवर्कको अत्याधिक विकास भएको पनि छ ।
जनयुद्धका मोर्चाहरु फेरिएका छन् । अध्यक्ष प्रचण्डको क्रान्तिकारी नेत्तृत्वमा भएको महान् दश वर्षे जनयुद्ध वास्तवमा जनवादी क्रान्ति कै सजीव रुप हो ।
त्यसैकारणले क्रान्तिको पनि आफ्ना वैज्ञानिक प्रक्रियाहरु हुन्छन् । क्रान्तिका प्रक्रियाका बारेमा अध्यक्ष प्रचण्डले भन्नु भएको छ – “यदि जनवादी क्रान्तिमा बल प्रयोग गर्नु पर्यो भने समाजवादी क्रान्तिमा रुपान्तरण हुँदा शान्तिपूर्ण तरिकाले सम्पन्न हुन्छ र यदि जनवादी क्रान्ति शान्तिपूर्ण रुपमा सम्पन्न भएमा समाजवादी क्रान्तिमा बल प्रयोग गर्नु पर्छ ।”
यसर्थ नेपाली क्रान्तिको दौरानमा प्रचण्डको नेत्तृत्वमा भएको जनवादी क्रान्तिमा बल प्रयोग गरेर जर्जर सामन्ति व्यवस्थालाई उल्टाएर एकप्रकारले जनवादी क्रान्तिले सफलतापूर्वक विजय प्राप्त भएको हुनाले यसमा बल प्रयोग गरेको देखियो र अब समाजवादी क्रान्ति शान्तिपूर्ण रुपले रुपान्तरण हुन्छ भन्ने कुरा यसबाट प्रमाणित हुन सक्छ । यो प्रक्रिया वैज्ञानिक समाजवादको बाटोबाट नै गरिएको छ ।
दुई ठूला कम्युनिस्ट पार्टीहरुबीच सम्पन्न हुने एकीकरणको सन्दर्भमा एकतर्फी रुपमा ‘जबज’ नै सबै थोक हो भन्दै वामदेव गौतमले आफ्नो लेखमा लेख्नु भएको छ–“माक्र्स र ऐंगेल्सको देहवसान पछि माक्र्सवादका सैद्धान्तिक पक्षमा रुसको क्रान्ति र समाजवाद निर्माणको सन्दर्भमा विकसित लेनिनका विचारले माक्र्सवादी सैद्धान्तिक भण्डारमा केहि महत्वपूर्ण योगदान भएको निश्कर्ष निकालियो ।
यसलाई लेनिनवादको नामाकरण गरियो । त्यसैगरि राष्ट्रिय स्वतन्त्रता, जनवादी क्रान्ति र लोकतन्त्रको सन्दर्भमा चीनको कम्युनिस्ट पार्टी र नेता माओत्से तुङ्गका विचारलाई माक्र्सवाद– लेनिनवादका सैद्धान्तिक भण्डारमा नयाँ योगदानका रुपमा ग्रहण गर्दै माओत्से तुङ्ग विचारधारा भनियो ।
त्यस्तै २० औं शताब्दीको उत्तरार्ध र २१औ शताब्दीको शुरुआतमा विकसित विश्व परिस्थितिको सन्दर्भमा नेपालको राष्ट्रिय घेरा भित्र भए पनि कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउने क्रममा अगाडी आएका विचारले माक्र्सवाद, लेनिनवादको सैद्धान्तिक भण्डारमा योगदान गरेको निश्कर्ष निकाल्दै त्यो योगदानको नामाकरण ‘जनताको बहुदलीय जनवाद’ गरियो ।”
यसमा वामदेव गौतमले माक्र्सवाद, लेनिनवाद पछाडि जनताको बहुदलीय जनवादलाई जोड्न खोज्नु भएको छ । तर सिद्धान्त भनेको कुरा शास्त्रीय संरचना मात्र भएर पुग्दैन । यसमा नेपाली क्रान्तिकालमा शास्त्रीय रुपमा रहेका क्रान्तिका कार्यक्रमहरु परीक्षण हुनु पर्ने हुन्छ । कसैले आफूलाई ‘जबज’ बुझेको र यसका सबै शास्त्रीय रचनाका पक्षहरुको व्याख्या विश्लेषण गर्ने क्षमता राखेता पनि यो विचार प्रयोग सिद्ध भएको छैन ।
त्यसैले गर्दा घनश्याम भुसालले भने जस्तै –“अहिले पुरानो सिद्धान्त चाहिन्छ भन्ने विचारले पार्टीलाई कमजोर बनाउँछ ।” यस आधारमा व्याख्या, विश्लेषण गरी नेपाली क्रान्तिको विकासलाई अगाडी लान सबै विचारमा बहस हुनुपर्छ ।
यहाँनेर के बुझ्नुपर्छ भने मदन भण्डारीले ‘जबज’ शास्त्रीय रुपमा प्रतिपादन गरेको अवस्था, समय र परिस्थिति अनि अहिलेको परिस्थितिमा धेरै फरक हुन्छ ।
अहिलेको नेपाली कम्युनिस्ट आन्दोलनमा पछिल्लो कालको अवस्था के हो भने माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा/वादलाई नेपाली क्रान्तिमा प्रयोग गरिएको अवस्था हो । जसरी अध्यक्ष माओत्से तुङ्गले माक्र्सवाद, लेनिनवादलाई चिनीयाँ शैलीमा चिनीयाँ क्रान्तिमा प्रयोग गरेका थिए ।
यसैगरी अध्यक्ष प्रचण्डले मालेमावादलाई र अन्य बीसौं शताब्दीको अन्ततिर विकास भएका क्रान्तिकारी विचारहरुलाई समेत नेपाली क्रान्तिको भट्टीभित्र हालेर, खारेर निकालिएका विचारहरुले नै यो प्रकारको मुलुकलाई परिवर्तन ल्याएको हुनाले अब नेपाली क्रान्तिसँग सम्बन्ध भएका पुराना विचारहरु तिर लागिरहनु पर्छ भन्ने कुरा त्यति आवश्यक हुन्न ।
पछिल्लो कालमा नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका क्रान्तिकारी माक्र्सवादी विश्व दृष्टिकोण भएका क्रान्तिकारीहरु मध्ये आधुनिक शैलीमा व्याख्या विश्लेषण गर्ने केहि कमरेडहरु देखा परेका छन् ।
तिनीहरु मध्ये लिलामणि पोखरेल, देव गुरुङ्ग, हेमन्त प्रकाश ओली (सुदर्शन), घनश्याम भुसाल, देवेन्द्र पौडेल (सुनिल), राम कार्की (पार्थ) र भिम रावलहरु नै विचार संश्लेषणमा क्रान्ति र विकासको अध्ययन गर्ने क्षमता राख्दछन् भन्ने लाग्छ ।
त्यो बाहेक अहिलेका तेश्रो पुस्ताका विचार संश्लेषणको खोतलखातल गर्ने लेखनाथ न्यौपाने र विराट (डा. बुद्धि नेपाली) हरु नै छन् । त्यसमध्ये घनश्याम भुसालले वामदेव गौतमका विचारहरुलाई संकेत गर्दै भन्नु हुन्छ –“अहिले पुरानो सिद्धान्त चाहिन्छ भन्ने विचारले पार्टीलाई कमजोर पार्छ, विवादित गर्छ, एमाले र माओवादीलाई अलग अलग ढिक्कामा राख्ने परिकल्पना गर्छ ।”
त्यसो भएको हुनाले पुराना सिद्धान्तका कुराहरु छोडेर अहिलेको आवश्यकता अनुसार क्रान्तिकारी एजेण्डाहरुमा बहस गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।
यसरी भुसालको यस भनाईले के प्रमाणित गर्छ भने कमरेड वामदेव गौतमले ‘जबज’ लाई एकतर्फी रुपमा लागु गर्नु पर्छ, पार्टीको अहिलेको र भविष्यको मार्गनिर्देशक सिद्धान्त बनाउनु पर्छ भन्ने सवालमा ‘जनताको बहुदलीय जनवाद’लाई नै झनै नकारात्मक असर गर्छ ।
यस्तै विषयमा पार्टीभित्रका गुट र विघटनकारीहरुको बारेमा प्रष्ट्याउँदै एकपटक राम कार्कीले भन्नु भएको थियो –“काक्राको जतिसुकै चिरा बनाए पनि स्वाद त एउटै हुन्छ ।” यसले के दर्शाउँछ भने कम्युनिस्ट आन्दोलनभित्र देखा परेका गुट र विधटनहरुको बाहिरी रुपमा जतिसुकै तर्क भएपनि भित्री रुपमा उद्देश्य र लक्ष्य एकै हुन्छ भन्ने कुरा दर्शाउँछ ।
त्यसै गरी पूर्व एमाले नेत्तृत्वमा पनि विभिन्न गुट विघटन भएपनि उनीहरुको तर्क र त्योसँग सम्बन्धित कुराहरु एउटै खाले हुन्छन् भन्ने कुरा पनि यसमा देख्न सकिन्छ ।
अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिलाई क्रान्तिकालमा आवश्यक भएको विचार मात्र प्रयोग गर्नु भयो । यस सन्दर्भमा कमरेड पुष्पलालका विचार देखि ‘जबज’ अनि झापा आन्दोलन सम्मका विचार/अनुभवहरु साथै जुगेडी, सेक्टर काण्ड र अन्य सबै खालका क्रान्तिकारी विचारहरुको प्रयोग गर्नु भएको छ ।
त्यसबाट प्राप्त कुरालाई पुनः प्रयोग गर्नु भएको छ र प्रयोग भएका विचार र त्यसबाट प्राप्त वस्तु र नेपाली क्रान्तिको टेष्टबाट उतीर्ण भएर उत्पादन भएको सिद्धान्तको नामाकरण ‘प्रचण्डपथ’ वा ‘प्रचण्डका विचारश्रृङ्खला’ जे भनेर नामाकरण गरेपनि हुन्छ ।
यस सन्दर्भमा मालेमावादका जानकार हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले लेख्नु हुन्छ –“यदि हामीले २१ औं शताब्दीको नयाँ परिस्थितिमाथि वैज्ञानिक हस्तक्षेपलाई जीवन्त तुल्याउन प्रचण्डको मार्गनिर्देशनलाई बुझ्न सकेनौ भने इतिहासले हामीमाथि कारवाही गर्नेछ र आफ्नो प्रवाहको भूमरीमा पछार्दै पश्चाताप गराउने छ । (प्रचण्डपथ–२१औं शताब्दीको वैचारिक छलाङ्ग) त्यसो भएको हुनाले हामीले अहिलेको आधुनिक परिस्थिति र मुलुकको स्थिति विश्वव्यापी क्रान्तिको दृष्टिकोणमा विकास र आफ्नो ऐतिहासिक एजेण्डाहरुमा छलफल गर्दै जानु पर्ने हुन्छ ।
२१ औं शताब्दीमा देखा परेका नयाँ विचारहरुलाई संयोजन गरेर जनवादी क्रान्तिमा प्रयोग गरेर उत्पादन गरिएको विचार/संश्लेषण नै ‘प्रचण्डपथ’ हो र पछिबाट त्यसलाई २१ औं शताब्दीको जनवाद भनेर पनि भनियो । त्यो सिद्धान्त भनेको वास्तवमा अध्यक्ष प्रचण्डका विचार श्रृङ्खला नै हो ।
अध्यक्ष प्रचण्डले ३० को दशकदेखि नेपाली समाजको अध्ययन, विश्लेषण गर्दै समाज भित्रका अन्तर विरोध र अन्तरसंघर्षलाई खोतल– खातल गरेर अध्ययन गर्नु भयो र ४० को दशकभरी संगठन निर्माण, ५० को दशकबाट जनयुद्धको घोषणा गरेर एक दशक लामो संघर्ष पछि मात्र सात दलको तर्फबाट नेपाली कांग्रेसका युगान्तकारी नेता गिरिजा प्रसाद कोइराला र विद्रोहीका तर्फबाट नेपाली क्रान्तिका महानायक अध्यक्ष प्रचण्डले विस्ततृ शान्ति सम्झौतामा हस्ताक्षर गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले स्थिरता विकास गर्दै गएको अवस्था हो ।
जनवादी क्रान्ति कै मार्फत् प्राप्त भएको महान् नेताहरुले संघीय गणतन्त्रलाई विकास गर्दै लगेको बेला गणतन्त्र विरोधीवादीहरुबाट चलखेल भईरहेको अवस्थामा वामदेव गौतमको तर्फबाट यो खालको वैचारीक मतभिन्नता र एकोहोरो रुपले वर्तमान र भविष्यको समेतलाई र नेपाली गणतन्त्र प्राप्तिको लागि नेपाली क्रान्तिलाई महत्व नदिइएको ‘विचार’बाट मुलुक र मुलुकवासीकै नकारात्मक अवस्था पर्न जाने हुनाले यसलाई सच्याउन जरुरी भएको देखिन्छ ।
यस ढंगले नेपाली क्रान्तिमाथि प्रतिक्रान्तिकारीहरुले आक्रमण गर्न लागेको बेला नेत्तृत्व तहकै कमरेडले यो ढंगको वैचारीक विभाजनको कुरा गर्न त्यति ठिक हुँदैन भन्ने कुराहरु बुझ्नु पर्छ ।
नेत्तृत्वमाथि प्रतिक्रान्तिकारीहरुले धावा बोलिरहेका बेला पार्टी भित्रका नेताहरु बेखबर हुनुलाई र वैचारीक अन्तर्विरोधहरु चर्काउँदै लानु सर्वथा गलत हुने कुरा पार्टीका सबै निकायले बुझ्नु पर्ने हुन्छ ।
नेकपाले अहिलेको अवस्थामा व्यक्तिगत रुपमा वैचारीक अन्तर्विरोधहरुलाई उजागर गरेर लानु पार्टी एकताको सांगठनिक रुपलाई कमजोर पार्नु हो । अहिलेको अवस्था भनेको जनवादी क्रान्ति मार्फत् जर्जर सामन्ति सत्तामाथि विजय प्राप्त गरेर गणतन्त्रको स्थापना गरेको समय हो ।
विचार र बहसलाई संयोजन गर्दै अहिलेको नेपालको परिस्थिति र सामाजिक अन्तर्विरोधहरुलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बेला हो । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अवस्थामा मुलुक रहेको छ ।
कुनै पनि विचार र सिद्धान्त अपरिवर्तनीय ‘डग्मा’ हुन सक्दैन न यो ‘अर्थोडक्स” नै हुन सक्छ । तर यो कुनै व्यक्ति वा गुटको विचार/सिद्धान्तमा देखा परेको अपरिवर्तनीय र अर्थोडक्स सिद्धान्तले समाज र राष्ट्रलाई अनि पार्टी संगठनलाई पनि यसले अवरोध गरिरहेको हुन्छ ।
प्रचण्डले ४० को दशकदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने महान् लक्ष्य लिएर आउनु भयो । यसरी ५२ सालमा जनयुद्धको घोषणा गरेपछि– केहि साना पार्टी र व्यक्ति विशेष गरेर धेरै नेपाली क्रान्तिको एउटा रुप जनयुद्धमा सरीक भएर आएका थिए ।
प्रचण्डले नेपाली क्रान्तिलाई एउटा निश्कर्षमा पुर्याउन नेपाली क्रान्तिको एउटा अर्को पाटोका गिरिजाप्रसाद कोइराला, नेपाली कांग्रेस र अन्य वामपन्थीहरुसँग पनि सहकार्य र अन्तरक्रिया गरी क्रान्तिलाई विजय उन्मुख बनाई आफ्नो लक्ष्य अनुसार विस्ततृ शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो साथै त्यति भएर पनि शान्ति प्रक्रियाका केहि महत्वपूर्ण कुराहरु अझै पूरा भएका छैनन् ।
त्यसर्थ यो मुलुकका एउटा जर्जर सामन्ति सत्ताबाट जनवादी क्रान्ति मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र र यससँग सम्बन्धित अन्य आवश्यक प्रक्रिया बमोजिम गणतान्त्रिक व्यवस्थाको अझै उन्नत स्तरको विकास गर्न जनयुद्धको नेत्तृत्व गरेका र जनआन्दोलनको नेत्तृत्व गरेका नेताहरुको नेत्तृत्वबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हुनाले कांग्रेसलाई पनि सहभागी गराएर लानुपर्ने अहिलेको आवश्यकता हो ।
यहाँनेर के कुरामा ध्यान दिनु पर्छ भने विश्वभर सनसनीपूर्ण जनयुद्ध प्रचण्डको नेत्तृत्वमा र त्यत्तिकै सनसनीपूर्ण जनआन्दोलनको नेत्तृत्व गरेर गिरिजाबाबुले राजतन्त्रलाई कांग्रेसको काँधबाट सदाको लागि मिल्काएर स्थापना गरिएको नयाँ आधुनिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण र विकासका लागि नेत्तृत्व गर्ने पार्टी सभापति गिरिजा प्रसाद कोइराला र अध्यक्ष प्रचण्ड नै हुन् ।
यसमा दायाँ बायाँ भन्ने कुरा हुँदैन । अध्यक्ष प्रचण्डको महान् लक्ष्य अनुसार कम्युनिस्ट पार्टीहरु बीचमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको बीचमा एकता भएको हो । त्यसो भएको हुनाले प्रतिक्रान्तिकारीहरुका लखौटाहरु र उनीहरुका पुरोचनहरु चलखेल गर्न थाले भने क्रान्तिकारीहरुले उनीहरुलाई कडा दण्ड सजाय दिनुपर्ने हुन्छ ।
त्यसै कारणले वामदेव गौतम लगायत नेत्तृत्वका कमरेडहरु साथै विश्व भरी छरिएर रहेका नेपाली क्रान्तिकारी जनताहरु सतर्क भएर रहनु पर्छ ।
कमरेड प्रचण्डको क्रान्तिको विश्लेषणमा ‘जबज’ पनि अन्तर्निहीत रहेको हुँदा नेकपाभित्र बहस, विश्लेषण र त्यसबाट उत्पादन भएको संश्लेषण नै पार्टीको मागदर्शक सिद्धान्त हुने भएको हुनाले अब त्यसमाथि कन्सन्ट्रेट हुने बेला आएको छ ।
तर ‘जबज’लाई केहिपनि होइन भन्नु र सबै थोक हो भन्नु दुवै अतिवाद र गलत हो । यहाँनेर विचार र सिद्धान्त कै बारेमा जननेता मदन भण्डारीले भन्नु भएको छ –“सबभन्दा पहिले निशाना तोकौं । जनतालाई साक्षी राखौं अनि धनुषवाण छोडौं । तोकेको निशानामा वाण लागेन भने स्वीकार गरौं । तर वाण जहाँ लाग्यो त्यही मेरो निशाना हो भनेर नभनौं ।”
यसरी नेत्तृत्वबाट स्पष्ट शिक्षा तथा मार्गनिर्देशन पाईरहेका क्रान्तिकारीहरुले यो मार्गनिर्देशनलाई पार गर्दै यहाँ सम्म आईपुगेको हो ।
अब एकीकरण भएपछि र रुपान्तरणको आकार लिएपछि (नेकपा) का नेता तथा कार्यकर्ताहरुले नयाँ बाटो तय गर्नुपर्छ । नयाँ निशाना तोक्नुपर्छ तर नेताहरुले भिन्न भिन्न आकार प्रकारका रुपहरु लिनु आवश्यकता ठहरिन्न ।
समग्र पार्टीले एउटा बाटो लिएपछि त्यहाँभित्र को नेता कसको पक्षमा भन्ने कुराहरु हुँदैन । त्यो निशाना तोक्ने र जनतालाई साक्षी राख्ने काम पनि हुँदैन । त्यस्ता कार्यकर्ताहरु जहाँ उसको धनुषवाण लाग्यो त्यही उसको निशाना हो भनेर जिद्दी गर्ने हुन्छन्, त्यस्ता व्यक्तिहरु विचारशून्य र अत्यन्त अवसरवादीहरु हुन्छन् ।
त्यस खालका पुरोचन प्रवृति भएका व्यक्तिहरु वैचारीक संघर्षमा खरो उत्रिन सक्दैनन् । अब सजीव क्रान्तिकारी विचारले मात्र वर्तमान र भविष्यको नेत्तृत्व गर्न सक्छ । अहिलेसम्म ‘जबज’लाई वैचारीक रुपमा कुनै प्रयोग र उपयोग नगरेकाले त्यो विचारको प्रयोग भएन भने शास्त्रीय रचना हुन्छ ।
२१ औं शताब्दीको शुरुआतमा नेपाली क्रान्तिको युद्धमैदानबाट खारिएर प्राप्त भएको शेर्पा नेत्तृत्व (रातो र निपुण, सर्वोच्च, विचार, संस्कृति, संगठनको सम्पूर्ण नेत्तृत्व, सर्वोच्च नेत्तृत्व र यो युगको अन्तर्राष्ट्रिय नेत्तृत्व) भनेको अध्यक्ष प्रचण्ड नै हो ।
यसो भएको हुनाले पार्टीको सुदृढ एकता र विकास गर्नुपर्छ भन्ने कमरेड प्रचण्डको “२० औं शताब्दीमा विकास गरिएको विचारहरुको समेत विश्लेषण गर्दै नेपालबाट वैज्ञानिक समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्छ” भन्ने अग्रगामी क्रान्तिकारी विचारले देखाएको बाटोमा २१औं शताब्दीको एकीकृत पार्टी (नेकपा) अघि बढ्नु पर्ने हुन्छ ।
प्रतिक्रिया