चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे भूकम्पपीडित « Khabarhub

चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे भूकम्पपीडित


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक: रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।

दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै थिए । नयाँ घर पाउँदा उनीहरु खुसी देखिए ।

उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्छिन्, “घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।” अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनीहरु ढुक्क छन् । सरकारबाट आएको रु तीन लाखमा रु चार लाख ऋण थपेर घर बनाएको उनले बताइन् ।

चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन् ।

बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ ।

नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आएको निराजन सापकोटाले बताए । “श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटाले भने ।

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियो । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ ।

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउछन् । सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । उनले भने “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो ।

यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु ।

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच/सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ ।

आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ । अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव–इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउँछन् ।

यहाँको सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट शुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उहाँले बताउनुभयो । बस्ती निर्माणको शुरुको लागत रु १२ करोडको हो । अन्य पूर्वाधार निर्माणमा रु चार करोड थियो । अहिले भने लागत बढेको जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : २६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को