संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा, पुनर्निर्माणमा ढिलाइ | Khabarhub Khabarhub

संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा, पुनर्निर्माणमा ढिलाइ



काठमाडौं–आज विश्व सम्पदा दिवस । सम्पदालाई संरक्षण र संम्वर्धन गर्ने उद्देश्यले विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदैछ । उपत्यकाका ७ सम्पदा क्षेत्र ‘विश्व सम्पदामा सुचिकृत’ छन् ।

वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले विश्व सम्पदामा सुचिकृत ७ सम्पदा क्षेत्रका १ सय ७३ वटा सम्पदामा क्षति पुगेको छ । जसमध्ये हालसम्म ७५ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने ३३ सम्पदा पुनर्निर्माण हुँदै छन् भने बाँकी ६५ सम्पदाहरु पुनर्निर्माण हुन बाँकी छ ।

पुनर्निर्माणको गति हेर्दा उपत्यकाका तीन जिल्लाका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु पुननिर्माणमा ढिलाई भएको देखिन्छ । विनाशकारी महाभूकम्प गएको ४ वर्ष पुग्नै लागेको छ । तर सम्पदा पुनर्निर्माणको गति सुस्त देखिएको छ ।

काठमाडौं जिल्लाको विश्व सम्पदा सूचिमा सूचिकृत पशुपति क्षेत्रको स्थलगत रिपोर्टिङ गर्ने क्रममा धेरै सम्पदाहरु भत्किएकै अवस्थामा देखियो । भूकम्पले पशुपति क्षेत्रका ५८ (आयोजनाको जम्मा संख्या १ सय ५ वटा) सम्पदामा क्षति पुर्‍याएको थियो । तीमध्ये हालसम्म १९ वटा सम्पदा मात्र पुनः निर्माण भएका छन् । बाँकी सम्पदाहरु ढलेकै अवस्थामा छन् कहिले उठ्ने हुने कुनै पत्तो छैन ।

पशुपति क्षेत्रको मृगस्थली क्षेत्रमा अवस्थित शिलालयहरु, द्योछे गुठीघर, किराँतेश्वर सत्तल, सप्तमी सत्तल, चन्द्रविनायक मन्दिर, विश्वस्वरुपा मन्दिर, लक्ष्मीनारायण मन्दिर, नरसिंह मन्दिर, जयवागेश्वरी मन्दिरलगायत ८६ वटा सम्पदाहरु भत्किएकै अवस्थामा छन् । कुनै सम्पदा संरक्षणका लागि टेका लगाइएको देखिन्छ भने कति सम्पदामा घाँस उम्रेको देखिन्छन् । तीमध्ये १/२ वटा सम्पदाको पुनर्निमाण जारी रहेको देखियो ।

पशुपति क्षेत्र विकास कोषले लालगणेश मन्दिर ५ लाख, भग्नावशेष हटाउने २ करोड, भट्ट निवास मर्मत ५ लाख, पोडेपाटी ५ लाख रुपैयाँमा सम्पन्न गरेको छ । त्यस्तै रत्ना मास्केले १ करोड लगानीमा श्राद्धपाटीको पुनर्निर्माण सम्पन्न गरेको छ ।

गुहेश्वरीस्थित गुहेश्वरी सेतोसत्तल भित्रका ५ शिवालय, गुहेश्वरी सेतो सत्तलको १ शिवालय भने बाग्मती सभ्यता एकीकृत विकास समितिले पुनर्निर्माण गर्ने भनिएको छ । यद्यपी काम भने शुरु हुन सकेको छैन ।

पशुपति क्षेत्रको भित्रका सम्पदा पुनर्निर्माण कार्य राष्ट्रिय पुनर्निर्माण प्राविधिकरणले गर्दैछ । सम्पूर्ण सम्पदा सम्पन्न गर्नका लागि ३ अर्ब २६ करोड ८३ लाख ७४ हजार लागत लाग्ने प्राविधिकरणको अनुमान छ ।

प्राविधिकरणले आर्थिक वर्ष २०७७/७८ यस क्षेत्रका सम्पूर्ण सम्पदा पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखे पनि पशुपति क्षेत्र विकास कोषले समयमा नसकिने दावी गरेको छ ।

कोषका निर्देशक भरत मरासिनी भन्छन्, ‘दक्ष कामदारको अभाव रहेको र नक्सा तथा डिजाइन पास गर्नका लागि धेरै समय लागेकाले काम समयमै सकिदैँन ।’ ‘ऐतिहासिक महत्वका सम्पदाहरु पुनर्निर्माण गर्दा पूरानै संरचना बनाउनुपर्छ, झन्झटिलो छ’ उनले भने ।

त्यस्तै विश्वसम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तुपामा भने भूकम्पले आंशिक क्षतिमात्र पुर्‍याएकाले समयमै मर्मत गरेको पुरातत्व विभागले जानकारी दिएको छ ।

हनुमानढोका दरवार परिसरमा भूकम्पले २९ सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये १६ सम्पदा पुरानै संरचनामा बनिसकेका छन् भने बाँकी १३ सम्पदाको काम आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्ने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

त्यस्तै काठमाडौंभित्रकै विश्वसम्पदा सूचिमा सुचिकृत स्वयम्भू विश्व सम्पदास्थलमा भूकम्पले १८ सम्पदामा क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त १८ सम्पदामध्ये १५ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी २ सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षमै सक्ने लक्ष्य छ ।

विश्वसम्पदा सुचिमा सूचिकृत पाटन क्षेत्रमा भूकम्पले ३० वटा सम्पदामा क्षति पुर्‍याएको थियो जसमध्ये हालसम्म ११ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी भक्तपुरक्षेत्रमा अवस्थित विभिन्न २१ सम्पदा भूकम्पले क्षति पुगेका थिए । हालसम्म १७ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । साथै चाँगुनारायण क्षेत्रका ८ सम्पदामा क्षति पुगेकोमा ५ सम्पदाको पुनर्निर्माण सकिएको छ ।

पुरातत्व विभागका अनुसार सम्पूर्ण सम्पदाको पुनर्निर्माण कार्य आर्थिक वर्ष ०७७/७८ सम्ममा सकिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : ४२ बजे

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षकहरूलाई

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको