सन् १९७४ मा नेपाल र फिनल्याण्डबीच द्विपक्षीय सम्बन्धको औपचारिक स्थापना भएयता दुई मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य, मित्रता र साझेदारी अघि बढिरहेको छ । खानेपानी, सरसफाइ, शिक्षा, गरिबी निवारण, लैङ्गिक समानता लगायतका क्षेत्रमा फिनल्याण्डले नेपाललाई सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा ईश्वरदेव खनालले खबरहबको कार्यालयमा नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्ताइनेनसँग विभिन्न विषयलाई समेटेर कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश–
नेपाल र फिनल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष जति भइसकेको छ । दुई मुलुकबीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
हो, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको धेरै समय भयो । नेपालमा फिनल्याण्डले सन् १९९२ मा राजदूतावासको स्थापना गरेको हो । राजदूतावास स्थापना गरी नेपालमा फिनल्याण्डले भौतिक उपस्थिती जनाएको पनि २७ वर्ष भइसकेको छ । यहाँ हाम्रो उपस्थितीले हामी दुई मुलुकबीचको सहकार्यलाई महत्व दिन्छौं र यो सहकार्यलाई अर्को स्तरमा लैजान चाहन्छौं भन्ने स्पष्ट हुन्छ ।
नेपाललाई फिनल्याण्डले दीर्घकालिन विकास साझेदारको रुपमा हेरेको छ । फिन्निस परियोजनाले नेपालमा सफा खानेपनी र सरसफाइका क्षेत्रमा मात्र काम गरिरहेको छैन, महिला र बालबालिकालगायत ग्रामिण समुदायको सशक्तिकरणका क्षेत्रमा पनि काम गरिरहेको छ ।
द्विपक्षीय राजनीतिक साझेदारी पहिलेभन्दा अझ बलियो रहेकाले फिनल्याण्ड र नेपालबीचको आपसी साझेदारी अर्को स्तरमा पुग्दैछ । नियमित राजनीतिक परामर्शका आधारमा दुबै मुलुकले हालै समझदारीपत्रमा हस्ताक्षार गरिसकेका छन् । आपसी हित र सहकार्यका नयाँ क्षेत्रको पहिचानका लागि हेलिसिन्की र काठमाडौंमा नियमित छलफल हुँदै पनि आइरहेका छन् । विश्वमा के भइरहेको छ र कसरी विश्वव्यापी मुद्दामा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनु निकै महत्वपूर्ण छ । दुई मुलुकबीच धेरै समानता छ । हरेक वर्ष फिनल्याण्डबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ । मैले यहाँ भन्नै पर्छ फिनल्याण्डमा नेपालका छवी धेरै नै राम्रो छ ।
त्यस्तै, फिनल्याण्डमा बसोबास गर्ने नेपालीहरुको संख्यामा पनि बृद्धि हुँदै आइरहेको छ । ठूलो संख्यामा नेपालीहरु फिनल्याण्डमा उच्च शिक्षा अध्ययनरत छन् र यो संख्या पनि बढ्ने क्रममा छ । व्यापारको कुरा गर्दा नेपाल र फिनल्याण्डबीचको व्यापार निकै सानो छ । तर भविष्यमा यसको स्तर बढ्नेमा हामी विश्वस्त छौं । हो, भविष्यमा दुई मुलुकबीचको व्यापार सम्भावना धेरै नै ठूलो छ ।
नेपालमा फिनल्याण्डका प्रमुख प्राथमिकताहरु के के हुन् ?
विकासमा साझेदारी मुख्य प्राथमिकता हो । फिनल्याण्ड र नेपालबीचको साझेदारी शान्तिको लागि हो । नेपालमा हाम्रो उपस्थिती शान्ति स्थापनामा सहकार्यका लागि पनि हो । हाम्रो प्राथमिकता अनुसार विभिन्न कार्यक्रममार्फत् मुलतः हामी तीन क्षेत्रमा काम गरिरहेका छौं । पहिलो, पैसा, प्रविधि र विशेषज्ञता प्रदान गरी हामी ग्रामिण क्षेत्रका लाखौं मानिसहरुलाई लक्षित गरी खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेका छौं । दोश्रो, शिक्षा क्षेत्र विकास कार्यक्रममार्फत् पनि हामी सहकार्य गरिरहेका छौं । तेश्रो, हामी यहाँ लैङ्गिक समानताको क्षेत्रमा पनि क्रियाशील छौं ।
फिनल्याण्डले अहिले युरोपेली युनियन परिषद्को अध्यक्षता गरिरहेको छ । यसमा हामी लैङ्गिक समानताको मुद्दालाई जोड दिइरहेका छौं । खासगरी ग्रामिण भेगका महिला र बालबालिकाको सशक्तिकरणको क्षेत्रमा पनि हामी कार्यरत छौं । यसको अर्थ हामी पिछडिएका समुदायको खानेपानी तथा सरसफाइको अधिकार, शिक्षा र निर्णायक तह तथा सेवा प्रदानमा पहुँचलाई प्रोत्साहन गर्दै आएका छौं ।
सरकारी कार्यक्रममा सहयोग गर्न नेपालमा ठूलो सङ्ख्यामा फिन्निस संगठनहरु कार्यरत छन्, उनीहरुको योगदानलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
हाल नेपालमा फिनल्याण्ड सरकारको लगानीमा विभिन्न १७ गैर सरकारी संस्थाहरुले काम गरिरहेका छन् । यो ठूलो संख्या हो । यसले फिन्निस जनताको चासोलाई दर्शाउँछ । स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, महिलाको आर्थिक सशक्तिकरण, लैङ्गिक समानता र अरु धेरै क्षेत्रमा उनीहरुले आफ्नो योगदान दिइरहेका छन् ।
के नेपालले चाँडै फिनल्याण्डबाट नयाँ परियोजना वा लगानीको अपेक्षा गर्न सक्छ ?
लगानीको कुरा गर्दा यस्ता केही क्षेत्र छन् जहाँ हामीले विस्तृत अध्ययन गर्नु जरुरी छ । यहाँ एउटा जानकारी गराउँ, अन्तर्राष्ट्रिय वित्त निगमको माध्यमबाट हामीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेका छौं । हामीसँग जलवायु मैत्री लगानी सम्बन्धी विशेष कोष छ । यसलाई हामी नेपालको त्रिशुली प्रथम जलविद्युत परियोजनापछि लगानी गर्ने योजनामा छौं ।
अन्तर्राष्ट्रिय वित्त निगम मार्फत् हामी त्रिशुलीको जलविद्युतमा लगानी गर्न १ करोड ३० लाख डलर छुट्याएका छौं । हामी नेपालमा अझ धेरै लगानी गर्न चाहन्छौं । तर, प्रत्यक्ष वैदेशिक लगानीको वातावरण र सरकारले विदेशी लगानीलाई प्रोत्साहित गर्ने अवस्थालाई हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।
सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि अनुकूल वातावरण र झण्झटरहित प्रशासनिक व्यवस्था गरेको अवस्थामा समस्या चाहीँ के मा छ ?
हो, हामीले त्यसको अध्ययन गरिरहेका छौं । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सरकारले चालेको कदम र प्रतिबद्धताको हामी स्वागत गर्छौं । तैपनि मेरो विचारमा कानूनी र नियमनका क्षेत्रका केही कामहरु पूरा हुन बाँकी छ । साँच्चै भन्दा सरकारी पक्षबाट आएको प्रतिबद्धताप्रति हामी खुशी छौं ।
नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि भिजिट नेपाल २०२० नामक महत्वकांक्षी कार्यक्रम अभियान अघि सारेको अवस्थामा फिनल्याण्ड नेपालमा धेरै पर्यटक पठाउन इच्छुक छ ?
धेरै भन्दा धेरै पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नु सरकारको काम हो । अवश्यपनि, हामी यसमा सहयोगी छौं । हामीले हाम्रो राजदूतावासकै वेबसाइटमा समेत जानकारीहरु उपलब्ध गराएका छौं । नेपालमा हरेक वर्ष फिनल्याण्डबाट आउने पर्यटकको सङ्ख्या बढ्दै पनि गइरहेको छ ।
सन् २०१८ को अगष्ट महिनायता तपाईंले फिनल्याण्डको राजदूतको जिम्मेवारी सम्हालेयता तपाईंले नेपालमा विकासको प्रक्रिया र यसको विविधतालाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?
नेपालमा मेरो अनुभव थोरै छ, एक वर्षभन्दा कम । तर मेरो अध्ययन अनुसार पछिल्लो १० वर्षमा नेपालमा गरिबी निवारण सफल भएको छ । नेपालले निरपेक्ष गरिबीलाई ४० प्रतिशतबाट घटाएर २० भन्दा केही बढी प्रतिशतमा ल्याउन सफल भएको छ । यो ठूलो उपलब्धी हो । नेपालको भूगोल निकै जटिल छ । मुलुकका दुर्गम क्षेत्रमा अझै पनि गरिबी उत्तिकै मात्रामा छ । त्यस्तै ग्रामिण क्षेत्रमा रोजगारका अवसर नभएका कारण श्रम आप्रवासन पनि बढ्दो क्रममा छ ।
नेपालमा पूर्वाधारको पनि चुनौति छ । नेपालमा निजि क्षेत्रले नयाँ उद्योग र कल कारखाना स्थापना गरी वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगारी अवसरको सिर्जना गर्न अझ ठूलो भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ । युवाहरु नेपालका सम्पत्ति हुन् । वैदेशिक रोजगारीका नाममा उनीहरुलाई गुम्न दिनु हुँदैन ।
दुई मुलुकबीच जनस्तरमा सम्बन्धको विकास गर्न के भइरहेका छन् ?
यतिका वर्षको हाम्रो विकासको सहकार्यलाई मूल्यांकन गर्दा धेरै विशेषज्ञ, सरकारी अधिकारी, सामाजिक अभियन्ताहरुले फिनल्याण्डको भ्रमण गरी केही नयाँ सिक्ने मौका पाएका छन् । यो सङ्ख्या ठूलो छ । सहकार्यको हाम्रो विभिन्न तरिकाहरु छन् । उदाहरणका लागि विश्वविद्यालय, सरकारी निकायबीचको तालिम र अन्य क्षेत्रहरु ।
नेपालमा फिन्निस पर्यटकहरुको संख्या पनि बढ्दै नै गइरहेकाले जनस्तरमा समेत दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै गइरहेको छ । दुई मुलुकबीचको दूरी छोटिँदै गइरहेको छ ।
नेपालमा लैङिगक समानतालाई बढाउन तपाईंको राजदूतावासले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
सरकार र सरोकारवालाहरुको सहभागिता र संयुक्त राष्ट्रसंघ महिला कार्यक्रमको मातहतमा हामीले दुई ठोस कार्यक्रमलाई अघि बढाइरहेका छौं । यी कार्यक्रमहरु विभिन्न गतिविधिमार्फत् नेपाली महिलाको आर्थिक सशक्तिकरणमा केन्द्रित छन् । हामी खानेपानी तथा सरसफाइ, समुदायको निर्णायक तहमा महिलाको सहभागिता र जीवनस्तर सुधार गर्ने अन्य कार्यलाई पनि हामीले सहयोग गरिरहेका छौं ।
हामीले सुदूरपश्चिम प्रान्तमा शुद्ध खानेपानीमा पहुँचलाई सुधार गर्न हामीले काम गरिरहेका छौं । ६ लाख भन्दा धेरै जना हाम्रो परियोजनाबाट लाभान्वित भएका छन्, जसको आधा संख्या महिला र बालबालिकाको छ । महिलाहरुले नदीबाट पानी लिन धेरै लामो यात्रा नगर्नुपर्ने भएकाले उनीहरुको समय जोगिरहेको छ । यसले महिलाको जीवनमा ठूलो प्रभाव पारिरहेको छ । यसले उनीहरुको स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पारिरहेको छ ।
आर्थिक वा राजनीतिक क्षेत्रमा हामीले महिला सशक्तिकरणको क्षेत्रमा पनि काम गरिरहेका छौं । यस क्षेत्रमा नेपाल सरकारको भूमिकालाई पनि श्रेय दिनुपर्छ । फिनल्याण्डले नेपाललई सुरक्षा परिषद्मा १३२५ एक्सन प्लानलाई प्रस्ताव गर्न समेत सहयोग गरेको छ । यो महिलाका लागि मात्र नभई पुरुषका लागि पनि उत्तिकै महत्वपूर्ण छ । फिनल्याण्डमा राजनीतिक निर्णायक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित छ । हामी महिला र पुरुष दुबैलाई समान अवसर दिन्छौं । फिनल्याण्डको सफलतामा समानताको ठूलो भूमिका छ । सोही कारण हामी विधिको शासन, प्रतिस्पर्धा र अन्य क्षेत्रमा हामी शीर्ष तीन वा पाँचमा आउने गरेका हौ ।
तपाई फिनल्याण्डको नागरिक, नेपालको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
नेपालको सन्दर्भमा राजनीतिक अवस्था धेरै नौलो पाएको छु । यसले धेरै कुरा जान्ने मौका पाइएको छ । मुलुकको विकास र समृद्धिमा राजनीतिक स्थीरताले ठूलो भूमिका खेलेको हुन्छ । वर्तमान बहुमतप्राप्त सरकारले नेपाली जनतालाई अवसर प्रदान गर्नेछ मलाई लाग्छ । सरकारले कसरी नीतिहरु लागू गर्छ र यहँ कस्तो घटनाक्रम विकास हुन्छ भन्ने हामी नजिकबाट नियालीरहेका छौं ।
प्रतिक्रिया