जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई, योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार | Khabarhub Khabarhub

जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई, योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसवर्षको जगदम्बा–श्री पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई प्रदान गरिने भएको छ । यस्तै ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ ।

आइतबार बसेको गुठीको साधारण सभाले यस वर्षको जगदम्बा–श्री वरिष्ठ साहित्यकार बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।

लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकोमा २०७५ सालको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।

सानु शर्माको ‘एकादेशमा’ बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पातु’ कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङु’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लास’ पुरस्कारका लागि सिफारिस भएका थिए ।

पब्लिकेसन नेपालयको रणहारका मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए । रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए । भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए । पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ ।

यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ ।
पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ । यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ ।

यस वर्षदेखि मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको राशी चार–चार लाख रुपैयाँ पुर्‍याइएको छ । उक्त पुरस्कार आउँदो असोज १२ गते प्रदान गरिने गुठीले जनाएको छ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । जगदम्बा–श्री पुरस्कार भने जगदम्बा रानीको निधनपछि उनको सम्झना स्वरुप २०४५ सालमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ५९ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल