नेपाली फिल्म : स्टारडम भर्सेस कन्टेन्ट ! | Khabarhub Khabarhub

नेपाली फिल्म : स्टारडम भर्सेस कन्टेन्ट !



काठमाडौं – रिलिज भएको निकै ढिलो मात्र फिल्म ‘बुलबुल’ हेर्ने मौका मिलेको थियो । झण्डै एक सातापछि फिल्म हेरेकाले लाग्यो, अब समीक्षा लेख्नुको खासै तुक छैन, बरु एउटा स्टाटस लेख्छु ।

‘बुलबुल हेरियो । फिल्म निकै दमदार छ । मेकिङ वाह छ । दर्शकका लागि मात्र होइन, एक तहका फिल्ममेकरका लागि पनि बनेको हो बुलबुल ।’, स्टाटस यस्तो थियो ।

कमेन्टमा एक साथीले ‘मजाक’ भन्दै लेखे, ‘खतरा कमेडी गर्नुभो । रमाइलो लाग्यो ।’

वास्तवमा भन्ने हो भने ‘बुलबुल’ फिल्म आशालाग्दो नेपाली सिनेमा हो । यो फिल्म मेकिङका हिसाबले एउटा स्तरीय फिल्मको सूचीमा पर्छ ।
सरसर्ती हेर्दा बुलबुललाई राम्रो भन्दा ‘मजाक’ लाग्नु सामान्य देखिन्छ । तर, नेपाली फिल्मले दर्शकलाई कसरी विभाजित गरेको छ भन्ने तथ्याङ्कलाई पनि उक्त स्टेटमेन्टले प्रष्ट पारेको छ ।

नेपाली फिल्मका एकथरी दर्शक चाहन्छन्, फिल्ममा भव्य रमाइलो होस् । कुनै लोजिक नहोस् । यसको ठ्याक्कै उल्टो अर्काथरी दर्शक चाहन्छन्, फिल्म पूर्णत जीवन्त बनोस् । फिल्ममा ‘आर्ट’ होस्, जसले हृदय छुन सकोस् ।

फिल्म कस्तो बन्ने र कसका लागि बन्ने भन्ने एउटा ठूलो विचारको खाडल नेपाली फिल्मकर्मीले पुर्न सकेका छैनन् नै । अर्को समस्या एकाध फिल्ममेकरले आफूले के का लागि सिनेमा बनाइरहेको छु भन्नेको समेत हेक्का राख्दैनन् । समस्या यहीँबाट शुरु हुन्छ ।

फिल्मकर्मीको उल्झन

धेरै टाढा नजाऔँ, नेपाली फिल्ममेकरलाई हेर्ने हो भने ती मेकरको मेकिङ स्पष्ट चिनिन्छ । केही हप्ताअघि मात्र फिल्म निर्देशक रामबाबु गुरुङले एक कार्यक्रममा भनेका थिए – मलाई पत्रकारले ‘कबड्डी’जस्तो फिल्म बनाउँछ भन्ने गर्छन्, खुशी लाग्छ ।

उनलाई खुशी लाग्नुको कारण आफूले गरेको कामको एउटै ट्रेन्ड भन्ने थियो, आफ्नो काम फरक रुपमा चिनियो भन्ने थियो । जुन पूरापूरा गलत थियो ।

गलत कसरी ?

नेपाली चलचित्रका दर्शक यसरी भुट्भुटिनुको कारण अर्थोक केही होइन, यही ‘पुनरावृत्ति’ हो ।

रामबाबु गुरुङलाई नै उदाहरणका रुपमा लिने हो भने उनले निर्देशन गरेको पहिलो फिल्मलाई दर्शकले पत्याए । फिल्म मन परेको प्रतिक्रिया दिए । दोहोर्‍याएर पनि यो फिल्म हेरे । तर, जब गुरुङले निरन्तर उस्तै खालका फिल्म निर्देशन गरे, त्यसपछि उनले फिल्मका दर्शक पनि बिस्तारै गुमाउँदै गए ।

जुन ‘हाइप’ रामबाबु गुरुङको ‘कबड्डी’ ताका थियो, यो हाइप अहिले ‘साइँली’ सम्म छैन । यो फिल्मसम्म आइपुग्दा उनले फिल्म हेरिदिन दर्शक गुहार्नुपर्ने अवस्था आइसकेको छ ।

यता निर्देशक गुरुङ भने ‘खुशी लाग्छ’ भन्दै टारिरहेका छन् ।

स्टार मानिएका कलाकारले अभिनय गरेका फिल्मलाई समीक्षा गरेर सिनेमा हेर्ने दर्शकलाई यति झुर लाग्छ कि, एकथरी दर्शकले ‘सुपरस्टार’ बनाएका ती कलाकारलाई ‘कलाकार’ मान्न पनि तयार हुँदैनन् ती दर्शक र समीक्षक

दर्शक भर्सेस कन्टेन्ट

कुनै समय नेपाली सिनेमा प्रदर्शन हुँदा दर्शक ओइरिने हलहरु अहिले बन्द भइसकेका छन् । बिस्तारै नेपालका हल पनि एडभान्स बन्दैछन् । अर्कातिर विदेशी फिल्मले पनि नेपाली फिल्मका दर्शकलाई दिनानुदिन आफूतिर आर्कषित गर्दै लगेको छ । वर्षभरि रिलिज हुने नेपाली फिल्ममध्ये केही फिल्मको मात्र व्यापार राम्रो हुनु र अरु टाट पल्टिनुले पनि स्पष्ट पार्छ, अहिले नेपाली फिल्मका दर्शक स्वात्तै घटेका छन् । यो नेपाली फिल्म उद्योगका लागि ठूलो बिडम्बना हो ।

दर्शक किन घटे ?

यसको उत्तर त्यति सहज छैन । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउनुपर्ने अवस्था यिनै नेपाली मेकरले ल्याइदिएको त पक्का हो नै । अझ त्यसमाथि पनि फिल्ममेकरले बारम्बार दर्शकमाथि ‘खेलवाड’ गर्दा दर्शकहरु बिच्किएका छन् । वाहियात फिल्मको अपत्यारिलो प्रचारले बिच्किएका दर्शकलाई अहिले ‘राम्रा’ फिल्म बनिहाले भने पनि दर्शक पाउन मुस्किल पर्छ ।

किनकि, दर्शकलाई नेपाली फिल्ममा कन्टेन्ट छैन भन्ने पनि थाहा छ र स्टारडम छैन भन्ने पनि थाहा छ । दर्शक चाहन्छन्, नेपाली चलचित्र उद्योगमा पनि स्टारडम होस्, तर स्टारडम मात्र फिल्ममा नहोस् । फिल्ममा कन्टेन्ट पनि पर्याप्त होस् ।

पछिल्लो समय रिलिज भएका दुई फिल्म ‘बुलबुल’ र ‘क्याप्टेन’ले पनि व्यापारको बजारलाई राम्रोसँग केलाउने अवसर दिएका छन् ।

विषयगत र मेकिङका हिसाबले यी दुई फिल्म फरक स्वादका छन् । दुई फिल्ममा दर्शकको प्रतिक्रिया फरक छ । ‘क्याप्टेन’ रुचाउने दर्शकले ‘बुलबुल’ लाई गाली गरिरहेका छन् भने बुलबुल मन पराउने दर्शकले ‘क्याप्टेन’ मन पराएका छैनन् ।

दुवै खाले फिल्मको समायोजन भएका फिल्म नेपालमा खासै बन्दैनन् । व्यावसायिकतातिर ढल्केर बनाइएका केही नेपाली चलचित्र भने जीवन्त छन् । ती फिल्मको चर्चा गर्दै गरौँला ।

जबसम्म मेकरले सिनेमाको भविष्य नबुझी लगानी गर्न छोड्दैनन्, तबसम्म हलमा दर्शक आउने वातावरण बन्दैन

स्टारडम प्लस कन्टेन्ट

अनमोल केसी यस्ता अभिनेता हुन्, जो थोरै चलचित्रमा अभिनय गरेर पनि आम दर्शकमाझ पुगेका छन् । नेपाली सिनेमा क्षेत्रमा उनको स्टारडमको बेलाबेलामा बाक्लै चर्चा हुने गर्छ । उनीसँगै कुदिरहेका छन् प्रदीप खड्का, पल शाहलगायत केही चकलेटी नायकहरु ।

तर, ती स्टारले अभिनय गरेका फिल्मलाई समीक्षा गरेर सिनेमा हेर्ने दर्शकलाई यति झुर लाग्छ कि, एकथरी दर्शकले ‘सुपरस्टार’ बनाएका ती कलाकारलाई ‘कलाकार’ मान्न पनि तयार हुँदैनन् ती दर्शक र समीक्षक ।

मानौँ कि, अनमोल केसी या अन्य कुनै दर्शकमाझ लोकप्रिय कलाकारलाई ल्याएर राम्रो कथामा फिल्म बन्यो । त्यसपछि के हुन्थ्यो ? स्टारडम र कन्टेन्टको ‘संयोजन’ हलसम्म दर्शक ओसार्न पर्याप्त थियो । तर, अहिले भने स्टार कलाकारमा अभिनय नदेखिनु र राम्रा फिल्ममा स्टारडम नदेखिनुको विपर्यायले फिल्म क्षेत्रलाई गाँजेको छ ।

नेपाली मेकरमा देखिएको ठूलो समस्या के हो भने, एकथरी मेकरमा ‘स्टारडम’ मात्रले पनि फिल्म चल्छ भन्ने भ्रम छ । जसले गर्दा नेपाली फिल्महरु डुबिरहेका छन् । अर्कातिर केही फिल्ममा गुदी त हुन्छ, तर ती फिल्मका कलाकारले दर्शकलाई पत्याउन हम्मे पर्छ । जसको असर सम्रग फिल्म क्षेत्रमा पर्छ । राम्रा फिल्म बनाउने धाउन्नमा लागेका ती मेकरलाई पनि फिल्म फ्लप भएपछि लाग्छ, ‘स्टारडम त चाहिने रहेछ ।’

कलाकारले आफूलाई सामाजिक सञ्जालमा ‘सस्तो’ बनाउँदा यसको असर फिल्मलाई पनि पर्छ । सेलिब्रेटीले टिकटक, इन्स्टाग्राम, फेसबूकजस्ता सोसियल प्लेटफर्ममा बिताएर ‘चटक’ देखाउनुभन्दा त्यो समयमा आफूमा निखारता ल्याउनु आवश्यक देखिन्छ

अन्त्यमा,

जबसम्म मेकरले सिनेमाको भविष्य नबुझी लगानी गर्न छोड्दैनन्, तबसम्म हलमा दर्शक आउने वातावरण बन्दैन । अहिलेको अनुपातमा देशका जम्मा तीन प्रतिशतले फिल्म हेर्छन् । तीन प्रतिशत दर्शकले पनि फिल्म ‘छक्का पञ्जा’ मात्र हेरेका छन् । कति फिल्म त कूल जनसङ्ख्याको एक प्रतिशतले पनि हेर्दैनन् ।

विदेशी फिल्म लामो समय प्रतीक्षा गरेर हेर्ने दर्शकले नेपाली फिल्म निःशुल्क पाए पनि हेर्न खोज्दैनन् । यो भन्नु नेपाली फिल्मप्रति दर्शकको नैरश्यता बाहेक अर्थोक केही होइन । जबसम्म यो अवस्थाबाट फिल्मकर्मी जोगिन सक्दैनन्, तबसम्म फिल्म क्षेत्र सधै यस्तै डरलाग्दो भड्खालोमा जाकिरहने पक्का छ ।

र, अर्कातिर कलाकारले पनि बुझ्न जरुरी छ कि, आफूलाई सामाजिक सञ्जालमा ‘सस्तो’ बनाउँदा यसको असर फिल्मलाई पनि पर्छ । सेलिब्रेटी पब्लिक फिगरका रुपमा हेरिन्छन् । तिनै सेलिब्रेटीले टिकटक, इन्स्टाग्राम, फेसबूकजस्ता सोसियल प्लेटफर्ममा बिताएर ‘चटक’ देखाउनुभन्दा बरु त्यो समयमा आफूमा निखारता ल्याउनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : ०९ बजे

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने