युवा लक्षित कार्यक्रम : आश्वासन धेरै, उपलब्धि शून्य | Khabarhub Khabarhub

युवा लक्षित कार्यक्रम : आश्वासन धेरै, उपलब्धि शून्य


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले दशकदेखि हरेक आर्थिक वर्षमा युवा वर्गलाई समेट्ने गरी बजेट कार्यक्रम विनियोजन गर्ने चलन परम्परा जस्तै भएको छ । हरेक आर्थिक वर्षमा सरकारले युवा लक्षित कार्यक्रममा ल्याउने गरेको छ । तर यसको कार्यान्वयनको पाटो भने फितलो छ । बजेटका सम्बोधन भएका युवा लक्षित कार्यक्रम बजेट घोषणापछि नै ओझेलमा पर्ने गरेका छन् ।

सरकारले आर्थिक वर्षपिच्छे ल्याएका युवामैत्री योजना थोरै मात्र लक्षित वर्गसम्म पुग्ने गरेका छन् । सरकारले २०१७ सालदेखि हालसम्म युवाका लागि दर्जनभन्दा बढी लोकप्रिय योजना सार्वजानिक गरेको छ । तर, ४ दशकदेखि ल्याएका योजना प्रायः असफल नै हुदै आएका छन् ।

सरकारले वार्षिक बजेटमा युवाको क्षमता विकाससहितका योजनाका लागि बजेटको ०.३१ प्रतिशत रकम विनियोजन हुने गरेको छ 

विभिन्न मन्त्रालयले आफ्नै कार्यक्रमका रुपमा युवालक्षित कार्यक्रम कार्यक्रम ल्याएपनि कार्यान्वयन नहुनु दुःखद पाटो हो । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र एकीकृत रूपमा कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन भएको राष्ट्रिय युवा परिषदलाई परिचालन गर्न थालिएको छ । युवा परिषदले ७ वर्षदेखि काम गर्दै आएको छ ।

सरकारले वार्षिक बजेटमा युवाको क्षमता विकाससहितका योजनाका लागि बजेटको ०.३१ प्रतिशत अर्थात् ४ अर्ब १८ करोड ९५ लाख हाराहारीको रकम विनियोजन हुने गरेको छ । युवाकै लागि सरकारले अर्बौ बजेट विनियोजन गरेर पनि त्यो बजेटको उपभोग युवा वर्गले गर्न पाएका छैन । यसको असर समग्र अर्थतन्त्रलाई परिरहेको छ।

राष्ट्रिय जनगणना २०६८ मा १६–४० वर्षसम्मका कुल युवाको संख्या १ करोड ७ लाख ८९ हजार ८ सय अर्थात् कुल जनसंख्याको ४३.५ प्रतिशत छ । यो संख्या बढेर अहिले करिब ४५ प्रतिशत पुग्न लागेको राष्ट्रिय तथ्यांक विभागले आफनो वार्षिक प्रगति विवरणसहितको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यति धेरै हिस्सा ओगटेका युवा वर्गलाई सरकारले राष्ट्रिय निर्माणको काममा लगाउन सकेको छैन । उचित शिक्षा दिक्षाको व्यवस्थापन गर्न नसक्दा धेरै युवा बेरोजगार छन भने शैक्षिक बेरोजगार हुने युवाको संख्या पनि बढ्दो अवस्थामा छ । सरकारले रोजगारीको सिर्जना गर्न नसक्दा अधिकांश युवा जमान, अध्ययन, रोजगारीलगायतको नाम गरी विदेश पलायन हुने बाध्यात्मक अवस्थामा छन् ।

सबैभन्दा बढी श्रम क्षमता भएका युवा विदेसिँदा नेपालमा उर्भर भूमि बाँझो राख्नुपर्ने अवस्था आएको छ भने युवाको विदेश पलायनले नै पारिवारिक र सामाजिक विचलन बढ्न थालेका छ । यसका लागि राज्य युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले नयाँ योजना ल्याउनुपर्ने राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता डा. किरण रुपाखेतीको बुझाइ छ ।

युवाका लागि ल्याएका मुख्य योजना ओझलमा पदै आएको उनले बताए । उनले भने, ‘युवामैत्री योजना कायान्वयन गर्न सरकारले ध्यान दिनुपर्छ । कार्यक्रम त एउटा माध्यम मात्र हो । यसलाई कसरी अगाडी बढाउन भने योजनाको काम गर्ने जिम्मा पाएको निकायको हो ।’

युवा परिषदले विगत ७ वर्षयता युवावर्ग लक्षित सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको परिषदका सूचना अधिकारीसमेत रहेका उपसचिव धुब्रराज पौडलले बताए । ‘सरकारले युवालाई लक्षित गरेर धेरै कार्यक्रम ल्याउने गरेको छ ।

यस्ता योजना लक्षित वर्गसम्म पुग्न नसक्दा भने जस्तो नतिजा निस्कन सकेको छैन । धेरै कार्यक्रम त युवा वर्गले नसुन्दै बन्द पनि हुने गरेका छन्,’ उनले भने, ‘आर्थिक वर्ष सकिएपछि युवामैत्री कार्यक्रमले निरन्तरता नपाउँदा कम प्रगति देखिने गरेका छ । युवाको क्षमता विकास गर्ने कार्यक्रम १० वर्षे योजनासहित आउनुपर्छ भन्ने लाग्छ ।’

युवामैत्री कार्यक्रम सफल पार्न राजनीतिक क्षेत्रमा रहेका युवा नेताले दबाब सिर्जना गर्नुपर्ने उपसचिव पौडेलको भनाइ छ ।

युवाका लागि सरकारले ल्याएका योजना

२०१९ सालमा सरकारले पहिलो पटक बजेटमै युवालाई समेटेर योजना ल्याएको थियो । त्यसबेला विकास र शिक्षामा युवा परिचालन गर्ने योजनालाई सरकारको प्रथामिकतामा राखेको थियो । तर, राजनीतिक कारणले कार्यान्वयन भएन ।

तत्कालीन राजा महेन्द्रले शिक्षा र विकासमा युवाको सहभगिता बढाउन २०२० सालमा देश विकासमा युवा जागरण सहभागिता सुनिश्चित गर्ने योजना स्वरुप कार्यक्रम ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

यो योजनामार्फत शिक्षित युवालाई शिक्षाको प्रचारमा खटाइने तयारी गरिएको थियो । तर, सरकारलाई आश्वयक जनशक्ति नपाएपछि यो कार्यक्रम पनि बन्द भयो । २०३७ सालमा सोही कार्यक्रमलाई परिमार्जन गर्दै राष्ट्रिय विद्यार्थी सेवाका रुपमा सञ्चालन गरियो ।

विगत ११ वर्षमा कोषको लगानीबाट कुल ३५ हजार २ सय ५४ जना युवा स्वरोजगार बनेका छन् । जब कि, प्रतिवर्ष कम्तीमा ५० हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने तत्कालीन सरकारको महत्वाकांक्षी लक्ष्य थियो

यो कार्यक्रमअन्तर्गत अध्ययन सकेका युवालाई अध्यापन गराउन सीमित समयका लागि गाविसस्तरका विद्यालयमा पठाउने गरिएको थियो । यो कार्यक्रममार्फत परिचालित विद्यार्थी राजनीतिक दलको प्रचार गर्न लागेको भन्दै पछि बन्द भयो ।

यसैगरि २०४७ सालपछि राष्ट्रिय युवा स्वयंसेवक (राष्ट्रिय योजना आयोग अन्र्तगत सञ्चालित) गरिँदै आएको छ । यो कार्यक्रमले पनि युवा जमतलाई खासै समेट्न सकेको छैन । स्वयंसेवक राजनीतिक कार्यकर्ता नियुक्त गर्ने केन्द्र बनेको छ । यो कार्यक्रमले खासै ठुलो नतिजा युवामैत्री नभएको भन्दै विरोध मात्र भइरहेको छ । हाल पनि यो कार्यक्रम सञ्चालनमा छ । तर, प्रभाव नगन्य छ ।

२०५२ सालमा ‘विकासमा युवालाई अनिवार्य’ भन्ने नारासहित लोकप्रिय युवा मैत्री कार्यक्रम बजेट भाषणमार्फत सार्वजनिक भयो । विकासमा युवा दस्ता नै गठन गरेर परिचालन गर्ने योजना ल्याएको कार्यक्रम राजनीतिक उथलपुथलकै कारण कार्यन्वयनमा आउन नसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

२०६५ सालमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपाली युवालाई उद्यमशील बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम ल्याएका थिए । यो कार्यक्रम सञ्चालनमा त आयो तर राजनीतिक दलका युवालाई ऋण लिने माध्यम मात्र भएपछि सरकारले बजेट छुटाउनै छाडेको छ । हाल यो नामको मात्र कार्यक्रम बनेको छ ।

विगत ११ वर्षमा कोषको लगानीबाट कुल ३५ हजार २ सय ५४ जना युवा स्वरोजगार बनेका छन् । जब कि, प्रतिवर्ष कम्तीमा ५० हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने तत्कालीन सरकारको महत्वाकांक्षी लक्ष्य थियो । तर झन्डै १० वर्षको अवधिमा ५० हजार युवासमेत स्वरोजगार हुन सकेका छैनन् ।

आर्थिक वर्ष २०७३ मा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम युवालाई नै लक्षित गरेर सञ्चालनमा ल्याएको थियो । पूर्ण स्वदेशी लगानी रहने भनिएको उक्त परियोजनामा १० वर्षका लागि १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारको थियो । तर, राजनीतिक कारण यो कार्यक्रम हाल बन्द जस्तै छ ।

राष्ट्रिय युवा नीति, २०१५ तथा (युथ भिजन २०२५ ) युवा विकासका लागि राष्ट्रिय युवा नीति, २०७२ तथा युथ भिजन, २०२५ ले तय गरेका कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले अघि सरेको थियो । श्रम जनशक्तिलाई मुलुकमै उद्यमशीलताको अवसर र रोजगारी र्सिजना गर्ने विषयमा जोड दिएको यो कार्यक्रमले पनि खासै उपलब्धी हासिल गर्ने सकेको छैन । जसका कारण सरकारले पनि कार्यक्रममा चासो दिन छाडेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा नै युवामैत्री प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ल्याएको छ । यो कार्यक्रम प्रधानमन्त्री ओली सरकारको लोकप्रिय योजनाभित्र पर्छ ।

यस कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । एक लाख युवालाई रोजगार दिने श्रम, रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयको योजना छ । यो कार्यक्रममार्फत ५ वर्षभित्र बाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने नीति सरकारले लिएको छ ।

योजनाका लागि छुटाएको बजेटले जागिर

सरकारले युवा वर्गलाई उद्यमी, स्वरोजगार, व्यवसायी बनाउनका लागि वार्षिक बजेट छुटाउदै आएको छ । कार्यक्रम प्रभावकारी बनाउन र सहज ढंगले कायन्वर्यनमा ल्याउन छुटाएको रकमले युवा वर्गलाई सीमित समयका लागि जागिर दिएर सरकारले बजेट सक्दै आएको छ ।

राजनीतिक दलले आफनो सरकार गठन भएका बेला युवा वर्गलाई योजनामा जागिर खुवाउदै आएका छन् । जसका कारण युवामैत्री कार्यक्रममा राजनीतिक दलका युवालाई रोजगार केन्द्र जस्तै भएको छ ।

आर्थिक वर्षको अन्त्य बजेट सक्नका लागि पनि सम्बन्धित मन्त्रालयले आफ्ना पार्टीका युवालाई १ देखि ३ महिनाको रोजगारी दिलाउदै आएका छन् । यसरी युवाको क्षमता विकाससहितका योजनाका लागि छुटाइएको बजेट रोजगारी दिएर सकिने गरेको छ ।

सरकारले युवाका लागि वार्षिक रुपमै विषेश योजना ल्याएपनि कायन्वर्यन गर्ने ध्यान नदिने गरेको श्रम र योजनाविद विज्ञ डा. गणेश गुरुङले बताउँछन् । युवामैत्री योजनाका लागि छुटाएको बजेट सक्नतिर मात्र सरोकारवाला निकायको ध्यानकेन्द्रित हुने गरेको डा गुरुङले बताए ।

उनले भने, ‘आर्थिक–सामाजिक र राजनीतिक सशक्तिकरणका लागि युवाको भूमिका प्रभावकारी हुन्छ । युवाका लागि सरकारले ल्याएको योजना र कार्यक्रम कार्यान्वयन गर्न स्रोत साधनको अभाव हुन्छ । यो विषयमा सरकारले योजना बनाएर कार्यक्रम ल्याउनुपर्छ ।’

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ८ : २६ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा