म्यानपावर व्यवसायीको अवैध धन्दा : हज यात्रीका रुपमा साउदी पठाउने भन्दै होटेलमा बोलाएर अन्तर्वार्ता | Khabarhub Khabarhub

म्यानपावर व्यवसायीको अवैध धन्दा : हज यात्रीका रुपमा साउदी पठाउने भन्दै होटेलमा बोलाएर अन्तर्वार्ता


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार दिउँसो २:३० बजे । काठमाडौंको गौशालादेखि पुरानो बानेश्वरतर्फ जाने सडक किनारमा भिडभाड देखिन्थ्यो । हातमा राहदानी (पासपोर्ट) बोकेका करिब १ हजार जना युवा खुला सडकमा लाइन लागेका थिए ।

लाइनमा लागेका युवाहरु बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्ड भित्र प्रवेश गर्न तछाड–मछाड गरिरहेका देखिन्थे ।

खबरहबकर्मीको जिज्ञासामा लाइनमा लागेका युवाहरुले आफूहरु हज यात्रीको रुपमा साउदी अरब जानका लागि अन्तर्वार्ता दिन लाइनमा लागेको बताए ।

‘हामी त काम गर्न जाने हो, हजयात्री बनेर’ खबरहबकर्मीको जिज्ञासमा लाइनमा लागेका युवाले सहज जवाफ दिए ।

बुझ्दै जाँदा थाहा भयो, त्यहाँ त गैरकानूनी रुपमा, श्रम स्वीकृति नै नलिइ नेपाली युवाहरुलाई हजयात्रीका रुपमा साउदी पुर्‍याएर काममा लगाउने उद्देश्यले अन्तर्वार्ता लिने काम हुँदै रहेछ ।

राजधानीका ३ ओटा म्यानपावर कम्पनी फजल ओभर्सिज प्रालि, अलहायात ओभर्सिज प्रालि र मिता ओभर्सिज प्रालिले हज यात्रीका रुपमा साउदी पठाइदिने भन्दै करिब १ हजार युवासँग अन्तर्वाता लिएका हुन् ।

म्यानपावर कम्पनीले करिब ९ सय जना युवाको राहदानी समेत नियन्त्रणमा लिएर राखेका छन् । ‘अन्तर्वार्ता दिएर आए, तपाईंको भिसा पक्का लाग्छ भनेका छन्,’ बत्तिसपुतलीको अनुपम फूडल्याण्ड बाहिर भेटिएका एक युवाले भने, ‘उनीहरुले पोसपोर्ट यहिँ छोडेर जानुहोस् भनेकाले त्यहिँ छोडिदिए ।’

विभागको टोलीमाथि नै आक्रमण प्रयास

पूर्व श्रम स्वीकृति नै नलिइ ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाको अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा वैदेशिक रोजगार विभागको टोली पनि अनुपम फूडल्याण्ड पुगेको थियो ।उद्धार तथा राहत शाखाका अधिकृत कुशल बरालको नेतृत्वमा अन्तर्वाता भइरहेको स्थानमा पुगेको टोलीले गैरकानूनी रुपमा अन्तर्वाता भइरहेको भन्दै रोक्न पनि भन्यो । तर, अन्तर्वार्ता लिइरहेका म्यानपावर व्यवसायीले उल्टै आफूहरुमाथि आक्रमण गर्न खोजेको विभागको टोलीमा सहभागी एक सदस्यले खबरहबलाई बताए ।

विभागको टोलीमा सहभागी सदस्यका अनुसार ३ ओटा म्यानपावर कम्पनीले १ जना युवाबाट ५० हजार रुपैयाँ लिएर हज यात्रीका रुपमा साउदी पठाइदिने भन्दै अन्तर्वार्ता लिएका छन् ।

‘मासिक ८० हजार कमाइ हुन्छ, सजिलै जान पनि मिल्छ भनेर १ जनाबाट ५० हजारका दरले उठाएर करिब १ हजारको अन्तर्वार्ता लिएको बुझिएको छ,’ वैदेशिक रोजगार विभागको टोलीका एक सदस्यले भने ।

विभागको टोलीले अन्तर्वार्ता स्थगित गर्न भनेर ताकेता गर्दा नमानेपछि विभागले प्रहरीको सहयोग माग्नुपर्ने स्थिति आएको थियो । प्रहरी परिचालन भएपछि अन्तर्वार्ता स्थगित भएको टोलीका संयोजक बरालले जानकारी दिए ।

‘अहिले अन्तर्वार्ता स्थगित भएको छ, उनीहरुले गैरकानूनी रुपमा अन्तर्वार्ता लिइरहेका कारण हामीले यसलाई रोकेका हौं । अन्तर्वार्ता लिने तीनवटै म्यान पावर कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन भनेका छौं,’ बरालले खबरहबसँग भने ।

नेपाली युवाहरुबाट संकलन गरिएको राहदानी

तीर्थ यात्रीको भिसामा कामदार पठाउने खेल

मुस्लिम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्क मदिना भएको साउदी अरबले आफ्नो देशमा आउने तीर्थ यात्रीलाई धार्मिक भ्रमण भिसा प्रदान गर्ने गर्छ । यस्तो भिषाको म्याद ४० दिनको हुन्छ ।

तर, नेपालका म्यानपावर व्यवसायीहरुले भने ४० दिनको भिसामा गएर साउदीमा काम गर्न पाइने भन्दै नेपाली युवालाई साउदी पठाउन खोजेका छन् ।

यस्तो कार्यमा साउदीका केही रोजगारदाता कम्पनीका प्रतिनिधिको समेत संलग्नता रहेने गरेको छ । बुधबार अनुपम फूडल्याण्डमा अन्तर्वार्ता भइरहँदा पनि २ जना व्यक्ति नेपालस्थित साउदी दूतावासको ४८ सी डि ००३ नम्बर गाडी लिएर पुगेका थिए ।

खबरहबको जिज्ञासामा आफूहरु कामदारको अन्तर्वार्ता लिन आएको उनीहरुको प्रतिक्रिया थियो । तर, उनीहरुले आफ्नो नाम भने बताउन चाहेनन् । उनीहरु आफुहरु दूतवासका कर्मभचारी रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ४० बजे

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

गण्डकी–  जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन

काठमाडौं- सन् २०२३ अक्टोबर ७ तारिखदेखि गाजास्थित विद्रोही समूह हमासको

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना 

बेल्जियम– बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार,नेपाल सम्वत, छठ र ल्होसार पर्वको

अनलाइनबाटै जलेका कागजात पुनः प्राप्त गर्न सकिने

काठमाडौं– गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूको आन्दोलनका

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

बागमती– बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट