‘कफीका झुप्पा’सँगै फलेको पैसा | Khabarhub Khabarhub

‘कफीका झुप्पा’सँगै फलेको पैसा



काठमाडौं–खेतीपातीमा व्यस्त हुन रुचाउने लमजुङका विश्वप्रसाद अधिकारी कफीको बोटमा रमाउन पाउँदा खुसीको अनुभूति गर्छन् । १६ वर्ष बितिसक्यो उनले कफी व्यवसाय गर्न थालेको । कफी खेती गर्न चाहनेहरुका लागि उनी प्रेरणाका स्रोत बन्न सक्छन् ।

कफीको मिठो स्वाद भएजस्तै काम गर्नका लागि पनि कडा मेहनत गर्न पर्ने अधिकारीको अनुभव छ । पछिल्लो समय नेपाली बजारमा कफीको माग प्रशस्त छ तर मागअनुसार कफी खेती हुन सकेको छैन ।

युवाहरु पढ्न र पैसा कमाउन विदेश पलायन भइरहँदा गाउँघरका धेरै जग्गा जमीन बाझो बन्दै जान थालेका छन् । पढेलेखेकाहरु पनि जागिर खोज्दै शहरतिरै डुल्न व्यस्त छन् । गाउँमा खेती गर्न कोही रुचाउँदैनन् । तर मेहनत, जाँगर र कामप्रति लगाव भएमा रोजगारीका अवसर जताततै छन् । अझ शहरमा भन्दा गाउँमा बढि रोजगारीको स्रोत रहेको उनको सफलताबाट पनि थाहा पाउन सकिन्छ ।

युवावर्ग पढाइकै शिलशिलामा शहर पस्ने र पढाइ सकेर विदेश तिर जान गरेको बताउँदै विश्व प्रसाद भन्छन्, ‘गाउँमा फर्केर जान सकेमा गाउँलाई विकसित र परिवर्तन गर्न सकिन्छ, गाउँमा रोजगारीका स्रोत पनि प्रशस्त छन् ।’

विश्वप्रसाद लमजुङ जिल्ला वेसीशहर नगरपालिका वडा नम्बर १ मा जन्मिए । उनको परिवारमा सबै सदस्यहरु खेतीपाती गर्ने हुँदा उनलाई पनि बालकपनदेखि नै खेतीपातीको मोह थियो ।

उनी पढाईमा पनि अरु भन्दा अब्बल नै थिए । निरन्तरको मेहनतले उनले स्नातक तह पास गर्न सफल भए । स्नातक सकिएसँगै उनी गाउँघरमै खेतीपाती गर्न थाले ।

‘मानिसहरु पढाइको घमण्ड गर्छन्, ठूलो जागिर खोज्छन्, विदेश जान्छन् तर मलाई कहिल्यै त्यस्तो रहर पलाएन’ उनले भने । ‘बरु कहिले पढाइ सकौँ र नयाँ-नयाँ खेती गर्न तिर लागौँ हुन्थ्यो’ उनले थपेँ ।

कफीको आकर्षण

विश्वप्रसाद सानै छँदा उनका बाबुले बारीमा कफीको एउटा विरुवा रोपेका थिए । त्यो विरुवा कफीकै हो भन्ने थाहा भएपनि त्यसको प्रयोग कसरी गर्ने भन्ने बारे उनको परिवारलाई थाहै नभएको उनले बताए । हास्दै उनले भने ‘कफी खाने तरिका थाहै थिएन तर पनि खाइन्थ्यो’।

त्यस समयबखत नै उनले कफीको बारेमा विस्तृत बुझ्ने र भविष्यमा कफी व्यवसाय गर्ने सोचेका थिए । कुरा आजभन्दा १६ वर्षअघिको हो । पहाडी क्षेत्रमा कफीको उत्पादन राम्रो हुन्छ भन्ने खबर उनले पाए । त्यसमाथि बाबुले रोपेको एउटा बिरुवाको उत्पादनबाटै आफ्ना भूभागमा कफी खेतीको सम्भावना देखेका थिए ।

‘कफी व्यवसाय शुरु गर्नका लागि एक सय वटा विरुवा ल्याएँ र १ रोपनी जग्गामा रोपेँ’सुरुवाती दिनलाई सम्झदैँ उनले भने ।

खटाइले बढाएको अनुभव

गाउँमा विभिन्न प्रकारका अन्नबालीहरु लगाइरहेकाले उनलाई खेती कसरी गर्ने भन्ने बारे राम्रै ज्ञान थियो । माटोमा कसरी भिज्नु पर्छ, कति खट्न सक्नुपर्छ भोगेको थिए त्यसैले सुरुमा उनलाई कुनै अप्ठयारो भएन । कफी खेती अन्य खेती भन्दा सजिलो हुने उनको बुझाइ र अनुभव रहेको छ ।

सामान्यतया एउटा विरुवाले ३ वर्षपछि कफी उत्पादन गर्ने बताउँदै उनी भन्छन्, ‘वर्षमा एक पटक कफी टिप्न सकिन्छ ।’ ‘अन्न बालीबाट भन्दा पाँच गुणा बढि आम्दानी कफी व्यवसायबाट लिन सकिन्छ’ उनले भने ।

उनी सकेसम्म अन्नवालीमा भन्दा नगदेवालीलाई प्राथमिकतामा राख्न थालेका छन् । अन्नबाली लगाउँदै नलगाउने भन्ने होइन, थोरै लगाउने बढि मात्रामा कफी खेती गर्ने गरेको विश्वप्रसाद बताउँछन् ।

कफी खेतीमा पनि अन्य खेती जस्तो विरुवामा किरा लाग्ने, बोट मर्ने जस्ता समस्या आउँछन् । उनी भन्छन्, ‘कफीका विरुवामा ‘सेतो गोवर’ नामक किरा लाग्ने गर्छ, त्यसबाट विरुवालाई बचाउन समय-समयमा बगैँचा व्यवस्थापन गरिरहनु पर्छ ।’

त्यस्तै रोग न्यूनिकरणका लागि उनले अर्गानिक विधि अपनाएर विभिन्न प्रकारका झारपात कुहाएर ‘जैविक मल’ बनाउने गर्छन् । त्यसरी बनाएको मल विरुवाको जरामा पुग्नेगरी राख्छन् फलस्वरुप त्यी विरुवामा लागेको किरा मर्ने र विरुवाले पालुवा फेर्ने गरेको उनले सुनाए ।

कफीका विरुवालाई घाम र पानीबाट जोगाउनका लागि उनले शितल छहारीको व्यवस्थासमेत गरेका छन् । विरुवा वरीपरि सिमी रोप्ने र सिमीको लहराले विरुवालाई छोप्ने गरेको उनले बताए ।

उनले कफी खेतीबाट राम्रो आम्दानी गर्न थालेसगै हालसम्म आइपुग्दा साढे दुई रोपनी जग्गामा २ सय ५० वटा कफीका विरुवा रोपेका छन् । सबै विरुवामा राम्रै कफी उत्पादन भएको उनी बताउछन् । साथै उनले अन्य जमीनमा मकै, कोदो लगायतका अन्नवालीहरु पनि लगाएका छन् ।

‘राम्रो स्याहार पुगेका बोटबाट एउटैमा १० किलोसम्म कफी उत्पादन हुन्छ, एकमुष्ट टिप्दा २ हजार ५ सय किलो कफी टिप्छु’ उनले भने । कफीका प्रजाती फरक हुन्छन् । त्यसमध्ये उनले ‘बोरवन’ र ‘टिपिका’ जातका कफी लगाएका छन् । फलाइमा दुवै प्रजाती उस्तै फल्ने उनको अनुभव छ । बोटबाट टिप्नसाथ ‘पार्चमेण्ट’ लाई धोएर सफा गरेर सुकाइन्छ र बजारमा पठाइन्छ ।

लमजुङ क्षेत्रमा उत्पादित कफीले राम्रै मुल्य पाइरहेको अनुभव उनले थपे । ठाउँठाउँमा किसान ठगिएको समाचार सुनिए पनि लमजुङमा त्यस्तो परिस्थिती नभएको बताए ।

विश्वप्रसादले भने, ‘चिया कफी बोर्डले हरेक वर्षको मंसिर १ गते किसान नठगिउन भनेर कफीको न्यूनतम मूल्य तोक्छ ।’ त्यसैअनुसार ल्याण्ड हेरेर प्रतिकेजी ८० देखि एक सय रुपैयाँ सम्ममा बेच्न सकिन्छ । विश्वप्रसादले वार्षिक रुपमा २ लाख ५० हजार रुपैयाँ कफीबाटै आम्दानी गर्छन् ।

उनी भन्छन्, ‘कफी खेतीप्रतिको चाहना धेरै छ, १० रोपनी जग्गामा कफी खेती थप्ने योजना बनाएका छु ।’

उनले राम्रो माउ बोटबाट बिउ संकलन गर्ने गरेका छन् । एउटा कफीको बोटको आयु ५० वर्षसम्म रहने भएपनि ३० वर्षसम्म मात्र राम्रो कफी उत्पादन गर्नेछ ।

कफी खेती गर्नका लागि विश्वप्रसाद अरुलाई प्रोत्साहन गर्ने गर्छन् । नेपालमा कफीको माग प्रशस्त छ । कफी उत्पादन हुने क्षेत्रहरु पनि छन् । तर मानिसहरु यो खेतीप्रति अग्रसर नहुँदा वर्षेनि विदेशबाट कफीको आयात गर्नुपर्ने अवस्था छ।

यदि चाहना हुने हो भने र कफी खेती गर्न आकर्षित हुने हो भने परनिर्भरता घटाउन सकिन्छ । ‘कामको खोजीमा विदेश नजानुस जन्मभूमि फर्कनुस् कफी खेती गर्न थाल्नुस् पैसाँ कमाउन गाह्रो छैन’अन्त्यमा उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १२ : ०५ बजे

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको

फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब

लण्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम

कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा

खोटाङ – केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल

किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ?

काठमाडौं– मानव शरीरको अधिकांश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर,

देशका विभिन्न स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले