द्वन्द्वकैबीच पनि विश्वलाई लोभ्याउने समृद्धि रचेको इजरायलको सफलताको कथा | Khabarhub Khabarhub

द्वन्द्वकैबीच पनि विश्वलाई लोभ्याउने समृद्धि रचेको इजरायलको सफलताको कथा



इजरायल विश्वको एकमात्र यहूदी मुलुक हो । मध्यपूर्वको एकमात्र उदारवादी लोकतान्त्रिक मुलुक इजरायल विश्वका तीन प्रमुख धर्महरु यहूदी, इस्लाम र इसाईका लागि निकै पवित्र मानिन्छ ।

सन् १९४८ मा औपचारिक रुपमा स्थापना भएयता भूमिको विषयमा छिमेकी अरब मुलुकहरुसँग इजरायलको धेरैपटक युद्ध भइसकेको छ । इजरायल अझै पनि भूमिको विषयमा प्यालेष्टाइन, सिरिया र अन्य अरब मुलुकहरुसँग द्वन्द्वमा छ । लामो समयसम्म छिमेकी मुलुकहरुसँगको द्वन्द्वका बाबजुद इजरायलको आर्थिक तथा सामाजिक स्तर भने सो क्षेत्रका अरु मुलुकहरुभन्दा उच्च छ ।

अर्थतन्त्र, सामाजिक बनोट र औद्योगिकीकरणको क्षेत्रमा मध्यपूर्वमा सबैभन्दा विकसित मानिन्छ । यहाँको अर्थतन्त्र व्यापक र समृद्ध छ । यहाँको कृषि क्षेत्र पनि उन्नत मानिन्छ । त्यसबाहेक हरेक वर्ष दशौं हजारको संख्यामा नेपालीसहित अन्य विदेशी मुलुकका नागरिकहरु पनि यहाँ रोजगारीका लागि आउने गरेका छन् ।

इतिहास

इतिहासमा यहूदीहरुले धार्मिक आधारमै दमन, उत्पीडन र भेदभाव व्यहोर्दै आएका थिए । युरोप, रुस, अरब मुलुकहरु, अमेरिकी महादेश र उत्तर अफ्रिकामा बसोबास गर्दै आएका राज्यविहीन यहूदीहरुमाथिको दमनका कारण यहूदीहरुले आफ्नै राज्य स्थापनाको अभियान थालेका थिए ।

जायोनिस्ट भनिने यस्ता यहूदीहरुले यहूदी धर्मावलम्बीका लागि बेग्लै मुलुक स्थापनाका लागि संघर्ष गर्दै आएका थिए । यहूदी राज्यको स्थापनार्थ जायोनिस्ट अभियानहरु विश्वका धेरै स्थानमा लामो समयदेखि चल्दै आएको थियो ।

तैपनि सन् १९ औं शताब्दीको अन्त्यदेखि जायोनिष्ट अभियानले तीब्रता पाएको हो । त्यसबेला पश्चिमा मुलुकका प्रभावशाली तहमा रहेका जायोनिस्टहरुले मध्यपूर्वको ऐतिहासिक भूमि अर्थात् तत्कालिन ओटोमन प्रशासनमा रहेको प्यालेस्टाइनमा यहूदी राज्यका स्थापनाका लागि पहल गरेका थिए ।

सोही अनुसार २० औं शताब्दीको शुरुतिर विश्वका विभिन्न भूभागमा दमन र धार्मिक आधारिमा उत्पीडन भोगिरहेका यहूदीहरु सो क्षेत्रमा आई नयाँ यहूदी शहरहरुको स्थापना गर्न थालेका थिए ।

पहिलो विश्वयुद्ध कै समयमा विश्वयुद्धमा ओटोमन साम्राज्यका पराजय भएको खण्डमा सो भूमि यहूदी राज्य स्थापनाका लागि दिन सकिने घोषणा गरी तत्कालिन बेलायती विदेशमन्त्री अर्थर बालफरले तत्कालिन समयमा बेलायतका प्रभावशाली जायोनिष्ट व्यक्तित्व लर्ड रोथ्सचाइल्डलाई पत्र लेखेका थिए ।

पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि त्यस भूमि बेलायतको प्रशासनमा पुगेको थियो । बालफर घोषणा नाम दिइएको यो पत्रका आधारमा हालको इजरायल रहेको स्थानमा लाखौं यहूदीहरु आएर बसोबास गर्न थालेका थिए ।

दोश्रो विश्वयुद्धको क्रममा युरोपमा तत्कालिन जर्मन शासक हिटलरले ६० लाख यहूदीहरुको नरसंहार गरेपछि भने स्वतन्त्र यहूदी राज्य स्थापनाको माग अझ चर्किंदै जान थाल्यो । यही क्रममा दोस्रो विश्वयुद्धपछि इजरायलले बहुसंख्यक यहूदी मुलुकका रुपमा संयुक्त राष्ट्रसंघमार्फत् बेलायतबाट स्वतन्त्रता पायो ।

यहूदी राष्ट्रको रुपमा इजरायलले स्वतन्त्रता पाएलगत्तै सो क्षेत्रमा बसोबास गर्दै आएका अरब र यहूदीबीच युद्ध शुरु गरे ।

गृह युद्धमा यहूदी पक्षको जीत भयो भने अरबहरुको हार भयो । यसपछि इजरायली भूमिमा बसोबास गर्दै आएका अरब मुसलमानहरु भागेर छिमेकी मुलुकहरु तिर लागे । सो क्षेत्रमा विश्वका विभिन्न भागबाट आउने यहूदीहरुको सङ्ख्या पनि बढ्दै गयो ।

त्यसपछि छिमेकी अरब मुलुकहरुसँग भएका युद्धपश्चात इजरायलले आफ्नो भूमिलाई विस्तार गर्दै लगेको छ । भूमिकै विषयमा अरब मुलुकहरु र इजरायलबीच अझै पनि स्थीर र शान्तिपूर्ण वातावरण बन्न सकेको छैन ।

अर्थतन्त्र

स्वतन्त्रता पाएको केही वर्षसम्म इजरायलको अर्थतन्त्र निकै नै कमजोर थियो । बेरोजगारी र गरिबी व्यापक थियो । स्वतन्त्रता पाएदेखि इजरायलले आर्थिक रुपमा निकै नै संघर्ष गर्नुपरेको थियो । त्यसबेला इजरायलको अर्थतन्त्रको प्रमुख स्रोत विश्वका अन्य क्षेत्रमा रहेका धनाढ्य यहूदीहरुको चन्दा र सामान्य सहयोग थियो । तर, सन् १९५२ मा भने इजरायलको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नेगरी पश्चिम जर्मनीसँग ठूलोस्तरको सम्झौता गर्‍यो ।

सन् १९५२ मा इजरायलले तत्कालिन पश्चिम जर्मनीसँग हिटलरको शासन अवधिमा यहूदीहरुविरुद्ध भएको नरसंहार र दमनको क्षतिपूर्ति दिनेगरी सम्झौता गरेको थियो । सम्झौताअनुसार पश्चिम जर्मनीले हिटलरको शासनकालमा ज्यादती व्यहोरेका यहूदीहरुको उत्तराधिकारीका रुपमा इजरायललाई त्यसपछिको १४ वर्षसम्म ३ अर्ब मार्क उपलब्ध गराउने भयो ।

आर्थिकरुपमा संघर्षरत इजरायलका लागि यो ठूलो उपलब्धी थियो । त्यसपछिका दशकहरुमा इजरायल अमेरिकाको आर्थिक सहयोगमा निर्भर रह्यो । आर्थिक राजनीतिक तथा कूटनीतिक रुपमा अमेरिकाबाट भरपर्दो सहयोग प्राप्त गर्ने भएकाले इजरायल सो क्षेत्रमा अमेरिकाको सबैभन्दा महत्वपूर्ण साझेदारको रुपमा स्थापित भयो ।

त्यसयता अरब मुलुकहरुसँग भएको युद्धका क्रममा पनि अमेरिकाले इजरायललाई सैनिक, आर्थिक र कूटनीतिक सहयोग गर्दै आएको छ । इजरायलमा अमेरिकी सहयोगले अझै पनि निरन्तरता पाइरहेको छ ।

यसरी प्राप्त पैसालाई इजरायलले भौतिक पूर्वाधार, उद्योग, कृषि र विकासका परियोजनाका क्षेत्रको विकासमा खर्च गर्‍यो । त्यसबाहेक इजरायलले वैदेशिक मुलुकबाट समेत ठूलो मात्रामा लगानी भित्र्याउन सफल भयो । यसले इजरायललाई स्वावलम्बी मुलुकको रुपमा स्थापित गरायो ।

विश्वका अनेक क्षेत्रबाट इजरायल आएका यहूदीहरुको बहुआयामिक सीप र क्षमताका कारण इजरायलमा विविध क्षेत्रका उद्योगहरु स्थापित भए । त्यस्तै, इजरायलका कृषि, व्यापार, अत्याधुनिक प्रविधि र वित्तीय क्षेत्र पनि सबल हुँदै गए ।

हाल इजरायल विश्वमा अतिविकसित मुलुकको स्तरमा आइपुगेको छ । इजरायलीहरुको प्रतिव्यक्ति आय अन्य विकसित पश्चिमा मुलुकहरुको हाराहारीमा छ भने शिक्षा, स्वास्थ्य, कृषि, टेक्सटायल, ठूला उद्योग, हतियार तथा सैनिक उपकरणको क्षेत्रमा पनि इजरायलको नाम अगाडि आउने गरेको छ ।

इजरायलको तेल अभिभ शहर इनोभेसन र स्टार्टअप व्यवसायका लागि अमेरिका क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीपछि दोश्रो स्थानमा आउँछ ।

अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको यहाँको लोक कल्याणकारी व्यवस्था पनि उत्तिकै मजबुत छ । त्यस्तै, यहाँको विश्वविद्यालयस्तरको शिक्षा क्षेत्र पनि विश्वमै प्रभावशाली मानिन्छ । यहाँ अमेरिका र चीनपछि अमेरिकी शेयर बजार नाज्डाकमा दर्ता भएका बहुराष्ट्रिय कम्पनीहरु सञ्चालित छन् ।

हरेक वर्ष हजारौं नेपालीहरु पनि इजरायलमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । छोटो समयमा नै इजरायलले गरेको प्रगति नेपालसहितका विकासशील मुलुकका लागि उदाहरणीय छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ३ : ०२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको