डब्लुसिएल : नेपाली महिला क्रिकेटरको व्यवसायिक यात्रा शुरु भएको संकेत | Khabarhub Khabarhub

डब्लुसिएल : नेपाली महिला क्रिकेटरको व्यवसायिक यात्रा शुरु भएको संकेत



काठमाडौं – पछिल्लो समय नेपाली खेलकुदमा क्रिकेटको चर्चा दिन दुई गुना र रात चार गुनाका हिसाबले बढेको छ ।

परुष क्रिकेटमा राष्ट्रिय टोलीले अस्थायी एकदिवसिय (ओडिआई) मान्यता पाएसँगै नेपाली क्रिकेटमा लगानिकर्ताले पनि साथि दिइरहेका छन् ।

लगानिकर्ताकै सहयोगमा अहिले पुरुष क्रिकेटतर्फ मुख्य तीन वटा फ्रेन्चाइजी टि–२० लिग सञ्चालनमा छन् । धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग । यी तीनै लिग निजी क्षेत्रबाट सञ्चालन हुन्छन् ।

पुरुष क्रिकेटका तीन तीनवटा लिग भइरहेपनि अहिले सम्म कुनै पनि आयोजकले महिला लिगबारे सोच्न सकेका थिएनन् । अझ यसो भनौ यसअघि पटक–पटक महिला लिग गर्ने घोषणा गरेपनि तिनले सार्थकता पाउन सकेको थिएन् ।

तर, पोखरा प्रिमियर लिगको आयोजना गर्दै आएको क्विन्स इभेन्ट मेनेजमेन्ट नेपाली महिला क्रिकेटका लागि प्रमोटर बनेर आयो ।

क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा पहिलो पटक सञ्चालन भएको एतिहासिक प्रतियोगिता हो, वुमन्स च्याम्पियन्स लिग–२०१९ (डब्लुसिएल)। यो प्रतियोगिता बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा जारी छ ।

५ शहरको नामबाट नामांकित टोलीलाई नेपाली राष्ट्रिय महिला टोलीका मुख्य ५ सदस्यले नेतृत्व गरिरहेका छन् । पहिलो पटक भएको फ्रेन्चाइज लिगलाई राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक जगत टमटा महिला क्रिकेट विकासको नयाँ आयामका रुपमा विश्लेषण गर्छन् ।

‘महिला क्रिकेटका लागि यो प्रतियोगिता नयाँ आयामका रुपमा आएको छ । महिला क्रिकेटको विकासका लागि यस्ता प्रतियोगिता आवश्यक थिए । यसले खेलाडीलाई व्यवसायिक बनाउँनुका साथै महिला क्रिकेटको समग्र विकासमा सहयोग पुर्याउँछ,’ प्रशिक्षक टमटाले भने, ‘आउने दिनमा यस्ता प्रतियोगिताले निरन्तरता पाउँनु पर्छ ।’

बुधबार शुरु भएको प्रतियोगिताका लागि मैदान झकिझकाउ बनाइएको छ । खेल टेलिभिजनबाट लाइभ प्रशारण गरिएको छ । पहिलो पटक भएको प्रतियोगिताको पुरस्कार पनि सन्तोषजनक नै रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख र उपविजेता टोलीले ३ लाख नगदसहित ट्रफी पाउने छन् ।

राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्रीले महिला लिग खेलाडीका लागि अवसर रहेको बताएकी छन् । ‘हाम्रो लागि अवसर छ । यो सुरुवात भएको छ,’ लिगको ट्रफी अनावरण कार्यक्रममा बोल्दै रुविनाले भनिन् ।

नेपाली महिला क्रिकेटको विकासका सारथी तथा निजी क्षेत्रका लगानी कर्ताहरुलाई पनि रुवीनाले धन्यवाद दिएकी थिइन् । पुरुष क्रिकेटले चौतर्फी चर्चा पाइरहँदा महिला क्रिकेट भने ‘लुप्त’ अवस्थामा रहँदा क्विन्स इभेन्ट मेनेजमेन्टले लिग आयोजना गर्दै महिला खेलाडीका लागि आफुलाई प्रमाणीत गर्ने अवसर दिएको छ ।

रुविना पटक–पटक महिला क्रिकेटका बारेमा बोल्दै आएकी थिइन् । उनले महिला क्रिकेटमा लगानी आवश्यक रहेको बताइरहँदा भएको डब्लुसियलले महिला क्रिकेटमा पनि सम्भावना छ है भन्ने देखाउन खोजेको आयोजक क्विन्स इभेन्ट मेनेज्मेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

लामाले महिला क्रिकेटरको व्यवसायिक यात्रा शुरु भएको संकेत गर्दै आगामि दिनमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुरुष क्रिकेटर पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायतको सक्रियतामा शुरु भएको महिला लिग खेलाडीका लागि एकदमै आवश्यक भएकाले आयोजना गरिएको बताउँछन् ।

‘यो खालको क्रिकेट लिग नेपालमा चाहिएको थियो । खेलाडीहरुले १०–१५ बर्षदेखि खेल्दै आएका छन् । उनीहरुलाई पनि व्यवसायिक संरचनामा अगाडि बढाउन आवश्यक छ,’ मल्लले भने,‘महिलाहरु फुलटाइम क्रिकेट खेल्न पाइरहेका छैनन् । यसले केही हदसम्म व्यवसायिक रुपमा अगाडि बढ्न मद्दत गर्छ कि भन्ने हाम्रो सोचाइ हो ।’

नेपाल क्रिकेट संघ (क्यान) आइसकेपछि महिला क्रिकेटलाई माथि उठाउन यस्तै प्रतियोगिता आयोजना गर्नु पर्ने चुनौति पनि उहाँहरुसामू रहेको मल्लको बुझाइ छ ।

‘अब क्यान आइसकेको छ । महिला क्रिकेटलाई अगाडि बढाउन यस्ता आयोजना गर्नु पर्ने चुनौति पनि यो प्रतियोगिताले शृजना गर्छ,’ मल्लले अगाडि भने ।

डब्लुसियलका लागि प्रायोजक खोज्न भने निकै नै सकस मोल्नु परेको अनुभव उपकप्तान मल्लले सुनाए । ‘स्पोन्सर जुटाउन निकै कठिन भयो । तर, जतिपनि स्पोन्सरबाट सहयोग आयो उहाँहरुले दिइनै राख्नु भएको छ,’ मल्लले भने,‘महिला भनेपछि रुचि नदेखाउने परम्परा अझै छ । स्पोन्सर आएपनि नआएपनि हाम्रो काम क्रिकेट गर्ने हो भन्ने हिसाबले हामी यसमा लागेका हौं ।’

अनुमानित लागत ४५ लाखको रहेको प्रतियोगितामा ५० प्रतिशतमात्रै ‘स्पोन्सर’ रहेको मल्लको भनाई छ । ‘यसमा ५० प्रतिशत जति नै होला । अपुग खर्च हामी आफै ब्यर्होछौं भनेर रिस्क लिएका छौं । सफल हुन्छ कि भन्ने छ । भएन भनेपनि हामी खुसी नै छौं ।’

राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले पहिलो संस्करणको डब्लुसीएललाई आफुहरु सफल पार्ने बताइसकेकि छन् । उनले लगानीकर्तालाई धन्यवाद दिँदै भने, ‘हामी राम्रो गर्नेछौ, अर्को समय कसैलाई पनि प्रतियोगिता गर्दा गार्हो नहुने गरी प्रतियोगिता सफल पार्नेछौ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ५९ बजे

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११