महाधिवेशनको तीन वर्ष– कहाँ अलमलियो कांग्रेस ? | Khabarhub Khabarhub

महाधिवेशनको तीन वर्ष– कहाँ अलमलियो कांग्रेस ?



२०७२ साल फागुनमा १३ औं महाधिवेश गरेको नेपाली कांग्रेसले महाधिवेशन सकिएको तीन वर्ष पछि गत सोमबार बल्लतल्ल अनुशासन समिति गठन गरेको छ ।  अनुशासन समितिलाई पार्टीको महत्त्वपूर्ण समितिका रुपमा लिने गरिन्छ ।

अनुशासन समितिले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्नसक्ने तागत राख्छ । यति महत्वपूर्ण समिति गठन गर्न कांग्रेसमा लामो समय सहमति जुट्न सकेन ।

पार्टीका शीर्ष नेताहरुबीचको छलफल र समन्वय गर्ने सहमति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु अनुशासन समिति गठन गर्न तयार भए । देउवा पक्षका नेता भिष्मराज आङ्देम्बेको संयोजकत्वमा गठन भएको ५ सदस्यीय अनुशासन समितिमा पौडेल पक्षबाट धनराज गुरुङ र सिटौला समूहबाट उमाकान्त चौधरी चयन भएका छन् ।

महाधिवेशन भएको ३ वर्षपछि कांग्रेसले मंगलबार मात्रै राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य छन् । देउवा पक्षका नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि कांग्रेसले बल्ल गठन गरेको छ ।

निर्वाचन समितिमा रहने सदस्यको नाम समेत मंगलबारको बैठकले टुङ्गो लगाएको छ । तर त्यो समितिले समेत पूर्णता पाउनेमा विश्वास गरिहाल्ने अबस्था छैन ।

महाविधेशन भएको २ महिनाभित्र नियुक्त गर्नुपर्ने महामन्त्रीसहिका पदाधिकारी समेत ढिलागरी यसैवर्षको पूर्वार्धमा नियुक्त गरेको कांग्रेसमा ४२ वटा विभाग गठन हुन सकेका छैनन् ।

भताभुंग भ्रातृ संगठन

कांग्रेस पार्टीमा मात्र होइन उसका भ्रातृ संगठनको हालत पनि उस्तै खराब देखिएको छ ।

‘नर्सरी’ संगठनका रुपमा लिइने नेपाल विद्यार्थी संघको समिति भंग गर्ने वा नगर्ने भन्ने विषयमा लामो रस्साकस्सी गरेका नेताहरु तदर्थ समिति बनाउने विषयमा सहमत छन् । तर कुन उमेरसमूहको बनाउने र कसलाई नेतृत्व दिने भन्ने विषयमा माउ पार्टी कांग्रेसका शीर्ष नेताबीच कुरा मिल्न सकेको छैन । जसको ‘कोपभाजन’ मा नेपाल विद्यार्थी संघ परेको छ । नेविसंघ यतिवेला नेतृत्वविहीन बनेको छ ।

नेविसंघको मात्र होइन अर्को भ्रातृ संगठन तरुण दलको हालत पनि उस्तै छ । तरुण दलको ११ वटा विभाग र ३ वटा समिति गठन गर्ने प्रावधान विधानमा छ ।

स्थापनाको ६५ वर्ष पुरा गरेको तरुण दलको कार्यसमिति विधानमा ६१ सदस्यीय हुने व्यवस्था छ, तर जम्मा ४ जनाले तरुण दल चलाइरहेका छन् । गत शनिबार भएको तरुण दलको एउटा कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाहीले तरुण दलले पूर्णता नपाए राजीनामा दिने चेतावनीसमेत दिएका छन् । ६१ सदस्यीय तरुण दलको परिकल्पना गरिएपनि ४ जनाले सिंगो तरुण दल चलाइरहेका छन्, जसमा माउ पार्टी कांग्रेसले ध्यान दिइरहेको छैन ।

विधान बनाउँदा झगडा

कांग्रेसभित्र नेता– नेताकाबीचमा देखिनेगरी विवाद हुनु नयाँ विषय होइन र शीर्ष नेतै पछिच्छेका गुट हुनुपनि नयाँ विषय होइन ।

प्राय सधैजसो सामान्य विषयमा समेत कांग्रेसभित्र विवाद देखिने गरेको छ । पछिल्लो समय कांग्रेस महासमितिमा पेश भएको विधान संशोधनको मस्यौदामाथि समेत लामो समय विवाद भयो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको तिव्र असन्तष्टिकै बीच महासमिति बैठकले विधान संशोधनको मस्यौदा अन्तिम टुङ्गो लगाउन केन्द्रीय समितिलाइ जिम्मा दिएको थियो । तर केन्द्रीय समितिले महासमिति बैठकपछिको लामो समय विधान पास गर्न सकेन । लामो छलफल भएपछि विधान पारित भयो ।

केन्द्रीय सदस्यहरु समेत महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनाव लड्नुपर्ने वा नपर्ने भन्ने विषयमा लामो छलफलपछि अन्तिममा केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि हुने व्यवस्थासहितको प्रावधान राखेर विधान संशोधनको मस्यौदा पारित भयो । तर ६० भन्दा धेरै जिल्लाका कांग्रेस सभापतिहरुले त्यो प्रावधानको विरोध गरेका छन् ।

पौडेल र देउवाबीच लभ ?

स्थानीय, प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेको कांग्रेस महासमिति बैठकलाई निकै चासोका साथ हेरिएको थियो ।
निर्वाचनमा पार्टीकै कतिपय नेताहरुले अन्तर्घात गरेको विषय उठिरहेको समयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्धमा पनि दरार आएको थियो ।

पार्टी नेतृत्व स्पस्टसँग दुई पक्षमा विभाजित भएका कारण कांग्रेस नेता कार्यकर्ताले दुई नेता एक भएर कांग्रेसलाई अगाडि लैजानुपर्ने बताउँदै आएका थिए ।

यसैक्रममा महासमिति बैठकमा सभापति देउवाले रामचन्द्र पौडेल र आफूबीच ‘डिप लभ’ परेको बताए ।

देउवाले ‘डिप लभ’ भनिरहँदा पौडेलले पनि आफूहरुबीच केही समस्या नभएको बताए । महासमिति बैठकमा उपस्थित कांग्रेस नेता कार्यकर्ताले अब पार्टीमा गुटको राजनीति समाप्त हुने विश्वास गरेका थिए ।

देउवाले गुटको अन्त्य भएको बताएपनि पार्टीमा छलफल नगर्ने परिपाटीको विकास नभएको भन्दै पौडेल पक्षका नेताहरुले जारी केन्द्रीय समिति बैठक २ पटक बहिस्कार गर्ने चेतावनी दिए ।

पछिल्लो समय देउवा र पौडेलकाबीचमा सार्वजनिक रुपमा कटाक्ष नभएपनि अर्का नेता डाक्टर शशांक कोइराला र देउवाकाबीचमा भने राजनीतिक भाषणबाजी जारी रहेको छ । उनीहरुको सार्वजनिक रुपमा कटाक्षलाई अर्को वर्ष हुने कांग्रेस महाधिवेशनसँग समेत जोडेर हेर्ने गरिएको छ ।

नेतैपिच्छे गुट, उपगुट

कांग्रेसमा पछिल्लो समय नेतैपिच्छे गुट देखिएको छ । देउवा, पौडेल, सिटौलाबाहेक कोइराला परिवारको वेग्लै भेला हुने गरेको छ । त्यसबाहेक शिघ्र्र महाधिवेशनको माग गर्दै युवा नेताहरुको छुट्टै समूहले सक्रियता देखाएको छ ।

गुट उपगुटविनाको पार्टी परिकल्पना गर्नु जीवन्त पार्टीमा असम्भव रहेको कांग्रेस युवा नेता गगन थापाको तर्क छ । थापा भन्छन्– गुट उपगुटविनाको पार्टी परिकल्पना गर्न सकिँदैन, बरु गुट के का लागि भन्ने विषय महत्वपुर्ण हो ।’

तर कांग्रेसका अधिकांश नेताहरुले भने पार्टीमा गुट उपगुट बढेका कारण सबै निर्णयमा समस्या आउने गरेको बताउने गरेका छन् । गुटको राजनीतिका कारण सभापतिले समेत राम्रोसँग काम गर्न नसकेको संस्थापनपक्षका नेताहरुको तर्क छ । जुन तर्कसँग सहमत छैनन् युवा नेता प्रदीप पौडेल । आफू काम गर्न नसकेर गुटलाई दोषी बनाइनु सभापतिको कमजोरी भएको उनको दाबी छ ।

पार्टी राजनीतिको आन्तरिक किचलोमै रुमल्लिका कारण कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका राम्रोसँग खेल्न नसकेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रतिपक्षीका रुपमा पार्टी खरो रुपमा उत्रन नसकेको स्वयं काग्रेस सभापति स्वीकार गर्छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले काम गर्न नसकेको भन्दै संसदमै आलोचना गरेपछि कांग्रेस सभापति देउवाले महासमित बैठकमै कांग्रेस नेता कार्यकर्ताहरुलाई ‘सरकारको आलोचना गर्न कम्तिमा माधव नेपाल जत्तिको हिम्मत राख्नुस्’ भनेका थिए ।

समाधान के ?

लामो सयमदेखि देशको सत्ता हाँकेको पार्टी यतिवेला निकै खुम्चिएको छ । अवको चार वर्ष उसका लागि सत्तामा पुग्ने वाटो मतदाताले बन्द गरिदिएका छन् ।

अर्को चारवर्षपछि सत्ता सञ्चालन गर्ने हो भने कांग्रेसले अहिलेदेखिनै आफ्ना संगठनहरुलाई चुस्त बनाउनुपर्ने देखिएको छ । तर त्यसका लागि भने कांग्रेस तयार देखिएको छैन ।

गुटगत राजनीति र आन्तरिक समस्याका कारण कांग्रेस दिशाहीन बनेको छ । यसको कारण के हो त ? कांग्रेसका युवा नेता गगन थापाको मतमा यो सबै पार्टी विधान अनुसार नचल्दाको समस्या हो । ‘विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्ने हो भने अहिले कांग्रेसमा देखिएका कति समस्या स्वतः हल हुन्छन् मेरो दाबी छ ’ थापाले भने,‘९० प्रतिशत समस्या कांग्रेस आफ्नो विधानअनुसार चल्यो भने स्वतः हल हुन्छन् ।’

थापाका अनुसार ४ वर्षपछि हुने चुनावमा कांग्रेशलाई शक्तिशाली बनाउन पूराना कुरा गरेन नभइ आधारहरुको निर्माण गर्न जरुरी छ । उनी भन्छन्,‘ नेपालको अवस्था यस्तो हुन्छ, नेपाललाई त्यहाँ पुर्‍याउन हामीसँग आधार यस्तो छ भन्न सक्नुपर्‍यो । विगतमुखी होइन, भविष्यमुखी कांग्रेस चाहियो ।’

कांग्रेसका अर्का नेता ज्ञानेन्द्र बहादुर कार्कीले तत्कालिन र दीर्घकालिन योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले तत्कालिन रुपमा संसदबाट आफ्नो उपस्थितीलाई प्रभावकारी बनाउने र दीर्घकालिन रुपमा जनतालाई बुझाउने गरि अघि बढ्नु पर्ने बताउँछन् ।

‘कांग्रेस सिट संख्याको रुपमा कमजोर भएपनि जनमत कम भएको छैन’ कार्कीले भने,‘जनमतलाई बढाउँदै नेपाली कांग्रेसले मात्र लोकतन्त्रलाई संरक्षण गर्न सक्छ र तीव्र रुपले विकास गर्नेछ भन्दै हामी जनतामा जान्छौं र आगामी निर्वाचनमा सबैभन्दा लोकप्रिय, शक्तिशाली र सबैभन्दा व्यवस्थित पार्टीको रुपमा स्थापित हुन्छौं ।’

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १ : ३२ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप