‘भद्रगोल’को ब्याज ‘सक्किगोनी’ले खायो, कलाकारले अरु भूमिका पनि निभाउन सक्नुपर्छ | Khabarhub Khabarhub

‘भद्रगोल’को ब्याज ‘सक्किगोनी’ले खायो, कलाकारले अरु भूमिका पनि निभाउन सक्नुपर्छ



नेपाली टेलिभिजनबाट प्रसारण हुने हास्य श्रङ्खलामध्ये लोकप्रिय श्रृङ्खला थियो, भद्रगोल । केही समयअघि ‘भद्रगोल’को टिम यो श्रृङ्खलाबाट बाहिरियो । पाँडे र जिग्रीको टोलीले नयाँ श्रृङ्खला ‘सक्किगोनी’ शुरु गर्‍यो । यो श्रृङ्खलामा पाँडे, जिग्री लगायत सबै कलाकार उस्तै भूमिकामा देखिए, जस्तो भूमिकामा ‘भद्रगोल’ मा देखिएका थिए । यसकारण श्रृङ्खलाले छोटो समयमै लोकप्रियता कमाएको छ ।

यता मिडिया हबका सञ्चालक सोमप्रसाद धिताल भने ‘भद्रगोल’ बाट छुट्टिएको टिमले हुबहु चरित्र उतारेको भन्दै प्रहरीमा उजुरी दिने तयारीमा छन् । ‘सक्किगोनी’ टिमले यो आफ्नो नितान्त अधिकार भएको, पहिले यस्तै सम्झौता भएको र ती पात्रलाई लोकप्रिय बनाउन आफूहरूले निकै मेहनत गरेको दाबी गरेका छन् । विवाद बढ्दै गएका बेला हामीले मिडिया हबका सञ्चालक सोमप्रसाद धिताललाई किन उजुरी दिनुभएको हो? भन्दै प्रश्न गरेका छौँ:

जिग्री पाण्डेमाथि उजुरी गर्नुभएको हो?

त्यस्तो होइन । उहाँहरूलाई हुबहु कपी नगरिदिनुस् न भनेर अनुरोध गरेका मात्र हौँ । भद्रगोलको विषय, भद्रगोलको कलाकार नै गएर उहाँहरुले उस्तै श्रृङ्खला निर्माण गर्नुभएको छ । अर्कै पात्र गरेर गरेको भए त हामीलाई के अप्ठेरो हुन्थ्यो र ! कलाकार हो, जहाँ जसरी जे गरे पनि भइहाल्यो । तर हुबहु सबै थोक मिल्ने गरी नगरिदिनुस् भन्ने अनुरोध मात्र हो ।

तर, सम्झौतामा त उहाँहरुको भूमिका उहाँहरुमा नै निहित रहने भन्ने सम्झौता रहेछ नि ?

हामीमा भनेको सम्झौताको अवधिभित्र उहाँहरुलाई दिएको हो । कन्टेन्ट कस्तो बनाउने भन्ने उहाँको अधिकार हो । भद्रगोल ब्राण्ड भयो । त्यो भित्रको अभिन्न अंग उहाँहरु हो नि ।

तर, प्रश्न के पनि उठेको छ भने हिजो धुर्मुस बनेका सीताराम कट्टेलले पनि त मिडिया हब छोडेपछि ‘धुर्मुस’ को क्यारेक्टरमा देखिनुभएकै छ त ?

कलाकारले कुनै कलाकारिता गर्नै नपाउने भन्ने होइन । जेपिटी क्रियशनले व्यावसायिक रुपमा नगरोस् भन्ने मात्र हो । कलाकारसँग जोडिएको विषयभन्दा पनि जेपिटी क्रियशनसँग जोडिएको विषय हो ।

तर, हल्ला कि, ‘सक्किगोनी’ ट्रेन्डिङमा परेपछि र एकाएक चर्चामा आएपछि उजुरी हाल्नुभयो रे नि?

होइन होइन । त्यो त के ठूलो कुरा भो । हामीले अहिले पनि भद्रगोल बनाउँदै जाँदा दुई वर्ष लाग्ला । भद्रगोल पनि पहिले ‘ट्रेन्डिङ’ मा थियो र? हाम्रो कुरा त के हो भने जस्ताको तस्तै पात्र, परिवेश, हाउभाउ, संवाद प्रयोग नगरिदिनुस् । हामीले पनि त ‘भद्रगोल’ मा लगानी गरेका छौँ त । अब उहाँहरु यसरी जानुभयो भने हामीलाई पनि यस्ता श्रृङ्खलामा लगानी गर्ने उत्प्रेरणा कहाँबाट आउँछ त?

सोमप्रसाद धिताल ।

तर, ‘सक्किगोनी’ का केही कलाकारले त मिडिया हबले पैसा दिएको छैन भन्नुहुन्छ नि?

पैसा नदिएको कुरै होइन । पैसा कति नै बाँकी होला । लिन आए भइहाल्यो त ।

उहाँहरुले त आफ्नो क्यारेक्टरलाई ‘बौद्धिक सम्पत्ति’ भनिरहनुभएको तर तपाईंले त…

हो, बौद्धिक सम्पत्ति उहाँहरुको पनि होला । तर लगानी त हाम्रो पनि छ नि । लगानीकर्ताको हिसाबले हाम्रो पनि मागदाबी रहन्छ । भोलि न्यायालयले जे निर्णय गर्छ । त्यही हुन्छ ।

तपाईंले उजुरी दर्ता गर्नुभएको छ हैन?

हामीले उजुरी दर्ता गरेका पनि छैनौँ । हामीले त कुरा गरौँ मात्र भनेका हौँ । तर, प्रक्रियामा छौँ । अब उजुरी दर्ता गर्छौं। हामीले त यस्तो भएको छ भनेर यस्तो बेलामा के गर्न सकिन्छ भनेर सल्लाह भएको छ । न्यायालयमा जाने हो तर कुन बाटोबाट जाने भनेर सल्लाह गर्न चाहिँ पुगेका हौँ । उहाँहरुले सल्लाह गर्न जाँदा उजुरी दिएको भन्नुभएको होला ।

तर अरु कलाकारले त कलाकार मारमा पर्नुहुँदैन भनेर आवाज उठाइरहनुभएको छ नि ?

मैले कसैलाई रोक लगाएको छु र? यसअघि पनि दीपकराज गिरी निस्किनुभयो, दीपाश्री निरौला निस्किनुभयो, जितु नेपाल, माग्ने बूढा पनि निस्किनुभयो । अरु कलाकार पनि निस्किनुभयो । मैले उहाँहरुलाई कहिले रोक लगाएको छु र? त्यस्तो पनि होइन ।

भनेपछि तपाईंको आग्रह हुबहु कपी नगिरिदिनुस् भन्ने मात्र हो?

हो । हुबहु नगरिदिनुस् । अलिअलि कपी गर्नु स्वभाविक हो । पूरै कपी नगरिदिनुस् भन्ने मात्र हो ।

अब के हुन्छ भन्ने लाग्छ तपाईंलाई?

थाहा छैन । यो हाम्रो ज्ञानको विषय पनि होइन । न्यायालयले जे निर्णय गर्छ, त्यही गर्छौँ । न्यायालयले दिएको निर्णय त मान्नैपर्‍यो नि !

कलाकारले पनि पैसा पाएका छैनौँ भन्ने फेरि तपाईंले पनि हामी घाटामा छौँ भन्नुहुन्छ त?

हैन हैन । उहाँहरुको कति पैसा बाँकी छ, ल्याएर आउन भन्नु न । कति पैसा बाँकी छ हेर्नुस् । हाम्रो खाता पल्टाउनुस् । दुई/चार दिन ढिलो चाँडो हुनु एउटा कुरा होला ।

यसअघि ‘मेरी बास्सै’ टिमले पनि यस्तै गुनासो गरेको थियो । तपाईंहरुमाथि सधै यस्ता गुनासा किन आउँछन् त?

त्यो बेलाको परिस्थिति नै फरक थियो । नाकाबन्दी थियो । लोडसेडिङ थियो । गाह्रो बेला थियो । त्यतिबेला हामी मात्र होइन, सिङ्गो देश समस्यामा थियो । व्यापार थिएन । राज्यलाई पैसा दिनैपर्थ्यो । प्रोडक्सनको पैसा दिनु नै पर्थ्यो । तर अहिले त्यस्तो छैन । त्यसबाट त पार लागेर आइसकियो नै हैन र?

भनेपछि तपाईंको समस्या कलाकारसँग नभएर जेपिटी क्रियशनसँग हो?

हो । हामीले कलाकारको सिर्जनामा त किन अंकुश लगाउने र? कलाकार सधै हामीसँग हुनुपर्छ भन्ने पनि हाम्रो राय होइन । बाबुछोरा त छुट्टिन्छन् भने कलाकार र प्रोडक्सन हाउस छुट्टिनु सामान्य हो । तर संस्थालाई नै मर्का पर्ने गरेर काम गर्न भएन । हामीले पात्र, बले, पाडें जिग्री जस्ता पात्र बनाएर पनि हामीले कार्यक्रम गर्न सक्थ्यौँ होला ।

उहाँहरुको सोच त्यस्तो छ । कलाकार हो भने त नयाँ सिर्जना गर्नुपर्‍यो नि भन्ने पनि हो । मदनकृष्ण (श्रेष्ठ) दाइ, सन्तोष (पन्त) दाइले पनि त सयौँ भूमिका गर्नुभयो नि । कलाकारले त समय र परिस्थिति अनुसार चेन्ज गर्नुपर्‍यो नि ।

भनेपछि तपाईंको भनाइ ‘भद्रगोल’ को ब्याज ‘सक्किगोनि’ ले खायो भन्ने हो?

अँ । व्यावसायिक रुपले हो । व्यावसायिक रुपले चलाउन भएन । एउटा कलाकारले व्यक्तिगत रुपमा काम गर्न पायो । तर हाम्रो कन्टेन्टलाई कपी गरेर हुबहु नगरिदिनुस् भन्ने मात्र हो ।

तर, उहाँहरुले त हामीले यी ‘चरित्र’ जन्माउन निकै मेहनत गरेका छौँ भन्नुहुन्छ नि?

कसले के गरेको छ, कसले कति गरेको छ भन्ने त छानबिनको विषय पनि होला नि । हैन र?

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : ०० बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना