कांग्रेसको आन्तरिक विवादले नेतृत्वविहीन अवस्थामा नेपाल विद्यार्थी संघ | Khabarhub Khabarhub

कांग्रेसको आन्तरिक विवादले नेतृत्वविहीन अवस्थामा नेपाल विद्यार्थी संघ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसंघ नेतृत्वविहीन बन्न पुगेको छ ।

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसंघ नेतृत्वविहीन बन्न पुगेको हो । नेपाली कांग्रेसको ‘नर्सरी’का रुपमा रहेको नेविसंघमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका पाए । नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला हुन् ।

स्थापनाकालदेखि हालसम्म आइपुग्दा ६ अध्यक्ष निर्वाचित, ७ अध्यक्ष तदर्थ र ५ अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । नेवि संघका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको बताउँछन् । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उनी भन्छन् ।

नेवि संघ निवर्तमान केन्द्रीय सदस्य सुनिता पोखरेल पार्टीले निर्माण गर्न लागेको नेवि संघको तदर्थ समितिको नेतृत्व महिलाले पाउनुपर्ने बताउँछिन् । “नेवि संघमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जानुपर्छ”, उनी भन्छिन् । नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमाल पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउँछन् । “विधानमा उल्लेख भएअनुसार तत्काल समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसंघ जानुपर्छ”, उनी भन्छन् ।

वर्तमान नेतृत्वले आम विद्यार्थीमाझ शैक्षिक मुद्दा लिएर जान नसक्नु र विद्यार्थीलाई निराश पार्ने प्रवृत्तिको काम गरेको उनको भनाइ छ । नेवि संघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद् भएको बताउँछन् ।  “हाम्रै कार्यसमिति निर्वाचन गराउन सक्षम थियो, तर अध्यक्षले कसैसँग छलफल नगरी राजीनामा दिँदा यो अवस्थामा आएको हो”, उनी भन्छन् ।

पार्टीका नेताको गैर जिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको भनाइ छ । नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर ६ महीनाभित्र महाधिवेशन गराईसक्नुपर्ने बताउँछन् । “वडा, स्थानीय, जिल्ला प्रदेश र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसंघको महाधिवेशन तत्काल गर्नुपर्छ”, उनी भन्छन् ।

नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सक्नुभएन ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी नेविसंघको महाधिवेशन समयमा हुन नसक्नु नेविसंघ र पार्टी नेतृत्वको कमजोरी भएको बताउनुहुन्छ । “पार्टीले तत्काल तदर्थ समिति बनाएर निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्छ”, उहाँ भन्नुहुन्छ । विद्यार्थीबीच लोकप्रिय सङ्गठन बनाउने व्यक्तिलाई तदर्थ समितिको नेतृत्व दिनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नेवि संघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन् । “विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ”, उनी भन्छन् ।

–अच्युत रेग्मी / रासस

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १ : ३३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न