काठमाडौं- दैवज्ञराज न्यौपानेको किसान कवितामा एउटा हरफ छ, ‘नगरी काम पुग्दैन खाना साँझ र बिहान ।’ यसको सार हो, काम नगरी खान लाउन पुग्दैन । त्यसैले मानिसहरु जीविकोपार्जनका लागि दिनरात, घामपानी नभनी आफ्नो कार्यमा खटिएका हुन्छन् । यसरी नै जीविकोपार्जनका लागि ४ दशकदेखि हरेक दिन खटिइरहेका व्यक्ति हुन् मोहमद युनिक शाह ।
जन्मथलो भारत भएपनि उनको कर्मथलो चाहिँ नेपाल भएको छ । मोहमद ७ वर्षको उमेरमै जन्मभूमि छोडेर काठमाडौं छिरेका थिए । शुरुमा साथीको साथमा उनी काठमाडौं आएका थिए । ‘त्यसबेला साथीहरुले काठमाडौं जाऔँ भने आइहालेँ, अहिले त नेपालसँगै माया पिरती बसिसक्यो, छोडेर कहाँ जानु ?’ उनले नेपालप्रतिको माया भाव प्रकट गरे । ‘पढाई गर्ने उमेरमा काम खोज्दै आएको थिएँ’ मोहमदले भने, ‘पढ्न नजान्ने मान्छेले के जागिर खानु ?’ उनी कामको खोजीमा भौतारिन थाले ।
कामको टुंगो थिएन । यही क्रममा उनले काठमाडौंको इन्द्रचोकमा आफ्नै उमेरका बालकहरुले बाँसुरी बेचेको देखे । त्यसलगत्तै उनले पनि बाँसुरी बेच्ने सोच बनाए । भारतको बनारसबाट मुरली र बाँसुरी ल्याएर बेच्न सुरु गरे । उमेर सानै भए पनि चलाख उनले शहर जसरी चल्दै गयो त्यसै गरी आफुलाई पनि चलाए । शहरमा उनका आफन्त थिएनन् । त्यसैले पनि उनको जीवन संघर्षपूर्ण रह्यो ।
काठमाडौंमा ५ वर्ष बाँसुरी बेचेपछि उनी घर फर्किए । कलिलै उमेरमा काठमाडौं छिरेका उनी घर फर्किदा किशोर अवस्थाका थिए । घर पुगेर उनले विवाह गरे । विवाहपछि फेरि उनी पुरानै पेशा बाँसुरी बेच्न काठमाडौं आए ।
४ दशकअघि आजको अवस्था थिएन । दिनमा २० वटासम्म बाँसुरी बेचेका छन् मोहमदले । तर अहिले पहिले जस्तो छैन । बाँसुरी बजाउनेहरु अस्ताउँदै गइसके दिनमा ५ वटा बेच्न पनि मुस्किल जस्तै छ ।
‘त्यो बेला व्यापार पनि राम्रै हुन्थ्यो’ उनी भन्छन्, ‘महिनामा १ लाखसम्म कमाउथेँ ।’ तर अहिले उनको व्यापार उकालो होइन आरोलो लागेको छ । उनको व्यापार ओरालो लाग्नुको पछाडि सूचना र प्रविधिमा आएको विकास हो । अहिले हरेक मान्छेको हातमा स्मार्ट फोन हुन्छ । मोबाइल फोनमा रमाउँन अव्यस्त हुन थालेका मानिसहरुलाई अहिले उनको बाँसुरी नजिक आउन त्यति रुचाउँदैनन् ।
बाँसुरीको लाइभ धुन सुन्ने भन्दा पनि मानिसहरु आफ्नो रुचीअनुसारको संगीत सुन्नमै व्यस्त हुन्छन् । यसको असर उनको व्यापारमा परेको छ । व्यापार ओरालो लागेपनि उनलाई खान र बस्न भने यो पेशाले पुगेकै छ । ‘पहिलेजस्तो अहिले व्यापार छैन । तैपनि दैनिकी चलाउन पुगेकै छ ।’ लामो श्वास फेर्दै भन्छन्, ‘आफु मात्र कहाँ हो र ? ५ जनाको परिवारसमेत पालिरहेको छु ।’
हरेक दिन उनी इन्द्रचोकमा बाँसुरीको साथमा भेटिन्छन् । हातमा लामो लठ्ठी । लठ्ठीको माथि विभिन्न थरिका बाँसुरी र मुरली अड्याइएको । हातमा पनि आठ-दश वटा बाँसुरी हुन्छ । इन्द्रचोकभित्रै डेरा लिएर बस्दै आएका उनी बिहान ९ बजे बाँसुरी बोकेर सडकमा निस्किन्छन् । दिभरी सडकमै उभिन्छन् । कहिले सडकको चिसो भुँइमा टुसुक्क बस्छन् । साँझ ७ बजेपछि दिनभरीको थकानसँगै उनी डेरातिर लाग्छन् । उनले इन्द्रचोककै सडकमा मुरली र बाँसुरी बेच्न थालेको ४० वर्ष पुगिसकेछ । ‘७ वर्षको उमेरदेखि यहीँ सडकमा मुरली बेचेर बसिरहेको छु’ उनी भन्छन् ।
बोल्ने क्रममा नगर प्रहरीको टोली आयो । उनी दौडिदैँ इन्द्रचोकको गल्लीतिर पसे । केही समयपछि पुनः इन्द्रचोक आइपुगे । ‘के गर्नु, व्यापार गर्नै पर्यो’ खिस्स हाँस्दै उनले भने । उनको लठ्ठीमा २ सय ७५ वटा बाँसुरी र मुरली थिए । १ सयदेखि ४ सय रुपैयाँसम्ममा मुरली र एक हजारदेखि ४ हजारसम्मका बाँसुरी बेच्ने गरेका छन् उनले । दैनिक ५ वटासम्म मुरलीबेच्ने गरेको उनले सुनाए । ४ दशकअघि आजको अवस्था थिएन । दिनमा २० वटासम्म बाँसुरी बेचेका छन् मोहमदले । तर अहिले पहिले जस्तो छैन । बाँसुरी बजाउनेहरु अस्ताउँदै गइसके दिनमा ५ वटा बेच्न पनि मुस्किल जस्तै छ ।
नेपालका ग्रामिण भेगमा बाँसुरी बनाउने बाँस, निगालो, नर्कट प्रशस्तै पाइन्छ । गाउँघरतिर आफैँले बाँसुरी खोपेर बनाउने र बजाउने चलन अझै पनि छदैँछ । तर उनीहरुले पूर्वी नेपालसँग सीमाना जोडिएको भारतीय राज्य असाम, सिलगुढीबाट बाँस ल्याउने गर्छन् । त्यसबाट कलात्मक मुरली र बाँसुरी तयार पार्छन् भने कतिपय तयारी अवस्थाकै बाँसरी किनेर ल्याउँछन् ।
‘जे काम गरेपनि सन्तुष्ट हुन सकेमा त्यसमै खुसी मिल्छ’ मोहमदले भने, ‘अझ म त बाँसुरी बेचिरहेको छु, तर पनि सन्तुष्टि मिलेको छ ।’ विदेशी पर्यटक र मुरली तथा बाँसुरीका पारखी नेपालहरु उनका ग्राहक हुन् ।
चार दशकसम्म एउटै पेशामा टिकिरहनुले उनले जति मेहनत गरे त्यसअनुसार केही कमाए भन्ने कुराको पनि पुष्टि गर्छ । इन्द्रचोकमा उनी घुमिरहँदा उनका बाँसुरीहरु पनि उनीसँगै घुमिरहने छन् । हरेक दिन एउटा मुरली वा बाँसुरी एक जना ग्राहकको पर्खाइमा हुँदा मोहमदको आफु र परिवार पाल्ने सपना पनि पूरा हुँदै गरेको हुन्छ ।
प्रतिक्रिया