भक्तजनको भीडमा बोलबमको रौनकता (फोटोफिचर) « Khabarhub

भक्तजनको भीडमा बोलबमको रौनकता (फोटोफिचर)



काठमाडौं– साउन महिना नेपाली हिन्दू नारीहरुका लागि विशेष हुन्छ । त्यो भन्दा पनि साउनको हरेक सोमबार अझ विशेष । हरेक सोमबार देशभरका शिवालयमा विहानैबाट भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

साउनको पहिलो सोमाबारका दिन पशुपति क्षेत्रमा अन्य दिनको तुलनामा निकै भीड लाग्यो । काठमाडौं लगायत आसपासका जिल्लाबाट आएका व्रतालु भक्तजनहरु बिहानैदेखि लाइनमा बसिरहेका थिए ।

सिमसिमे पानीको प्रवाह नगरी उनीहरु पशुपति मन्दिरको दर्शकका लागि लामबद्ध बनेका थिए । कोही पूजाआराधना गरेर फर्किरहेका थिए त कोही पालोको प्रतिक्षामा ।

साथीसंगी भेला भएर आएकाले होला उनीहरु लाइनमै पनि भलाकुसारी गर्दै सेल्फीमा रमाइरहेका पनि थिए । बिहान केही घण्टा झरी परेकाले केही समय मानिसहरुमो आवगमन कम भएपनि दिउँसो भने निकै घुँइचो देखिन्थ्यो ।

मानिसहरुको भीडभाड बढ्दै गएकाले लाइन मिलाउन बसेका स्वयम् सेवकहरुलाई हम्मे-हम्मे देखिन्थो । त्यै पनि उनीहरु खटिएकै थिए । पशुपति दर्शनका लागि महिला र पुरुषको संख्या लगभग उस्तै देखिन्थ्यो । पुरुषहरु पनि साउनको सोमबार व्रत बसेर भक्तिपूर्वक पूजा गर्ने सुनाउँदै थिए ।

साउन महिना भगवान शिवको आराधाना गर्ने प्रचलन वर्षौदेखि रहिआएको छ । आइतबार बेलुकी देखि नै ‘बोलबम’को मेला भर्नेहरु पनि सोमबार पशुपतिमा आइपुगेका थिए ।

बोलबम जानका लागि छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु नेपाल आउने गर्दछन् । उनीहरु आइतबार बेलुकी सुन्दरीजल पुगेर जल ल्याइ सोमबार पशुपतिनाथको शिवलिंगमा चढाउने गर्दछन् ।

पार्वतीले साउन महिनाभरि व्रत बसेर भगवान शिवलाइ प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरुले यसलाई बढी महत्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान, एवम् परिवार सबैको भलाइ हुने धार्मिक विश्वास पनि रहि आएको छ ।

त्यसैले महिलाहरु महिनाको सोमबार व्रत बसेपनि अन्य दिन लसुन, अदुवा, प्याज, माछा, मासु लयातका खानेकुराहरु समेत खादैँनन् ।
मूलपानीकी ५७ वर्षीया सकुन्तला बजागाँई पनि सोमबार व्रत लिएर पशुपतिनाथ आइपुगिन् । विगत १८ वर्षदेखि साउनको हरेक सोमबार पशुपति आउने गरेको उनले बताइन् । ‘श्रीमानको आयु लामो होस् भन्ने कामना गरेकी छु’ उनले भनिन् ‘परिवारमा शान्ति छावोस् भनेर पनि मन्दिर आएकी हुँ ।’

तर विगतका वर्षमा भन्दा भक्तजनको घुँइचो केही कम भएको बजागाइले महशुस गरिन् । ‘पहिले त दिनभरी भजन किर्तन गाइन्थ्यो, निकै रमाइलो हुन्थ्यो’ खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘अहिले त रमाइलो गर्ने खासै हुदैँनन् आयो पूजा गर्‍यो फर्कियो ।’

त्यसो त विगतका वर्षहरुमा पाशुपत् क्षेत्रमा व्रतालु भक्तजनको भीड लामो हुने र लाइन नै नसर्ने गुनासो पनि धेरै आउने गर्थ्यो । तर पछिल्ला केही वर्षयता विस्तारै त्यो समस्या समाधान हुँदै आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

‘लाइन सरिरहेको छ’ पूजा गर्न प्रतिक्षामा गरेकी एक युवतीले भनिन्, ‘पहिले घण्टौँसम्म लाइन नसरेर टाउको दुख्थ्यो ।’ लायनमै बसेर पूजा गरी फर्केकाहरु पनि १ घण्टाभन्दा बढी लाइनमा बस्नु नपरेको भन्दै खुसी प्रकट गरिरहेका थिए ।

स्वास्थ्य सेवाको व्यवस्था

पशुपति क्षेत्र विकास कोषले सोमबार व्रतालु भक्तजनको संख्या बढ्ने हुँदा निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरेको थियो ।
शिविरमा केही जेष्ठ नागरिकहरुले स्वास्थ्य  जाँच गरिरहेका थिए ।

मेलामा व्यापारी मालामाल

सोमबार पशुपतिमा मेला लागिरहँदा व्यापारीले भने निकै व्यापार गरे । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझै उनीहरुको व्यापार भ्याइनभ्याइ देखिन्थ्यो ।

मन्दिर परिसर वरीपरि नास्पाति, स्याउ लगायतका फलफूल , पूजा सामग्री, लत्ताकपडा लगायत, खेल्ने कुराहरु बेचिरहेका थिए । अझ साउनको महिना भएकाले मन्दिर वरीपरि मेहन्दी लगाउने र लगाइदिनेको उत्तिकै भीड थियो ।

सिनामंगलका नवराज गुरुङ सोमबार बिहानैदेखि मित्रपार्कबाट पशुपति जानेबाटो तर्फ ठेलामा नास्पाती बेचिरहेका थिए । बिहान झिसमिसेमा डेराबाट ठेला लिएर हिडेका नवराजलाइ बिहानको वर्षाले केही चिन्तित बनाएको थियो ‘दिनभर पानी पर्ने हो कि ?’ पानी परिरहेमा व्यापार नहोला भन्ने चिन्ता उनीमा थियो । तर, विस्तारै पानी परेर घाम लाग्ना थालेदेखि उनको मुहार हसिलो थियो ।

‘पूजा गरेर फर्किएकाहरुले फलफूल लिएर गइरहेका छन्’ खबरहबसँग कुरा गर्दै उनले भने ‘नास्पातीको सिजन भएकाले राम्रै गइरहेको छ, साँझसम्म ठेलाको सबै सकिन्छ कि भन्ने सोचेको छु ।’

नवराज मात्र होइन । सोमबार व्यापारका लागि पशुपति वरीपरि बस्नेहरुको मुहारमा खुसी देखिन्थ्यो । अन्य दिन अन्य क्षेत्रमा व्यापार गरेपनि सोमबार साउनको सोमबार भने पशुपति मै आइपुग्ने उनीहरुले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : २० बजे

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई

गगनले विशेष महाधिवेशनको प्रस्ताव गर्दा देउवाले भने- पार्टी फुट्छ

काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख देखिएको छैन। बिहीबार साँझ