कांग्रेसले बिर्सिएकै हो बीपीको आदर्श र सिद्धान्त ? | Khabarhub Khabarhub

कांग्रेसले बिर्सिएकै हो बीपीको आदर्श र सिद्धान्त ?



काठमाडौँ– ‘प्रजातान्त्रिक समाजवाद’को नारासहित हरेक व्यक्तिको निजी सम्पत्ति हुने, राजनीतिक तथा वाक स्वतन्त्रतालगायत विषयहरु मौलिक हककै रुपमा हुनुपर्ने सिद्धान्तमा आधारित रहेर बीपी कोइरालाले नेपाली कांग्रेसको स्थापना गरेका थिए ।

त्यही सिद्धान्तअनुसार कांग्रेसले आफ्नोे पार्टीको कार्यदिशा बनाउँदै आएको छ । आजभन्दा ३७ वर्षअघि निधन भएका उनै कोइरालाको सम्झनामा नेपाली कांग्रेसले सोमबार स्मृति दिवस मनायो । तर बीपीको राजनीतिक दर्शनलाई गुरु मन्त्रजस्तै मान्ने कांग्रेसले उनको सिद्धान्तमात्रै होइन, आदर्शसमेत बिर्सिएको आरोप लाग्न थालेको छ ।

कांग्रेसले देशका विभिन्न जिल्लामा गरेको कार्यक्रममा बीपीलाई सम्झिने मात्रै होइन, उनकै सुपुत्र डाक्टर शशांक कोइरालाले नेपालगञ्जमा भएको एक कार्यक्रममा अब हुने महाधिवशेनमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा भने सभापति शेरबहादुर देउवाले बीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि संघर्ष गरेको बताए । उनले वर्तमान सरकार विभिन्न विधेयकहरु ल्याएर स्वतन्त्रता मास्न खोजेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

बीपीको विचार छाडेको आरोप

तर पछिल्ला केही वर्षमा बीपीको सिद्धान्तप्रति कांग्रेसभित्र विचलन सुरु भएको भन्दै आलोचना हुने गरेको छ । बीपी कोइरालाले आफ्नै दलका नेता केवी गुरुङलाई लेखेको पत्रमासमेत प्रजातान्त्रिक समाजवादको नीति र पार्टीभित्रका सबै नेता भावनात्मक रुपमा एक भएमा कांग्रेसको भविष्य उज्ज्वल छ भनेका थिए ।

तर बीपीको विचारलाई गुरुमन्त्र मान्ने कांग्रेस यतिबेला बीपीको समाजवादको विचारबाट विचलित भएर पुजिवादतर्फ ढल्कन थालेको छ भने पार्टीभित्र विचार भन्दा स्वार्थ केन्द्रीत समूह बन्न थालेका छन् । कतिसम्म भने कांग्रेसले बीपीको राजनीतिक दर्शन नै बिर्सिएको भन्दै नेकपासहितका अन्य राजनीतिक दलका नेताहरुले पनि कांग्रेसप्रति कटाक्ष गर्ने गरेका छन् ।

कांग्रेस बिचलित भएकै हो ?

विपक्षी पार्टीका नेताहरुले मात्रै होइन, आफ्नै पार्टीभित्रैका नेताहरुले कांग्रेसले बीपीको आदर्श बिर्सिन थालेको बताउँछन् । तर कांग्रेसका उपसभापति विमलेन्द्र नीधिले बीपीको सिद्धान्तबाट आफुहरु कति पनि विचलित नभएको बताएका छन् । उनले भने, ‘बीपीले हिन्दू धर्मको कहिले पनि वकालत गर्नुभएको थिएन । कांग्रेसमा गणतन्त्र र संघीयताको बारेमा लिखितमा रुपमा नै दस्तावेज सार्वजनिक गरेर २०५१ सालमा नै नेता ढुण्डीराज शास्त्रीले यसको वकालत गर्नुभएको थियो ।’

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइराला परिवारकै नेता डाक्टर शेखर कोइराला भने कांग्रेसले बीपीको सिद्धान्त बिर्सेको आरोप मान्न तयार छैनन् । कतै कमजोरी रहेपनि पूर्ण रुपमा बीपीको सिद्धान्त कांग्रेसले नबिर्सेको उनको भनाई छ । उनी भन्छन्, ‘कांग्रेसले अहिलेपनि बिर्सेको छैन, कहिलेकाँही कतैकतैबाट गल्तिहरु भएका होलान्, जस्तो राष्ट्रियताको सवालमा नेपाली कांग्रेस एकदम सजग छ । राष्ट्रियताको कुरा गर्दा नेपाली कांग्रेसलाई देशभित्र र देश बाहिरको सम्बन्धका कुरामा हामीले संयमित हिसाबले लिएर जान सक्नुपर्छ ।’

उनले अहिलेको सरकारले राष्ट्रियताको विषयमा अपरिपक्क निर्णय गरेको आरोप लगाउँदै भने, ‘कहिले रेलको कुरा गर्दै रसुवा पुग्नुहुन्छ प्रधानमन्त्रीज्यू, कहिले अमेरिकाको इण्डोप्यासिफिकमा नेपाल छैन भन्नुहुन्छ । तर अमेरिकीहरु नेपाल छ भन्छन् ।’ उनले भने, ‘यस्ता प्रकरणहरु र भेनेजुएलाको राष्ट्रपतिको छोरा नेपाल आउनुभयो । त्यो नेपालको लागि एकदमै खतरनाक खेल हो भन्ने लाग्छ मलाई किनभने कम्युनिष्टहरुले यस ढंगले खेल्दै जाँदा हाम्रो असल मित्र अमेरिकासमेत गुमाउने अवस्थामा पुगेका छौँ ।’

कांग्रेसले आत्मसमिक्षा गर्नुपर्ने बेला आएकै हो ?

बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेस उनकै आदर्शविपरित अघि बढेको आरोप लगाइरहेका बेला कांग्रेसले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको केही नेताहरु बताउँछन् ।

बीपीले भनेको समाजवादका विषयमा कांग्रेसको अहिलेको धारणालाई लिएर कांग्रेसको आलोचना हुने गरेको छ । तर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस र कम्युनिष्टले भनेको समाजवादबीचमा ठूलो फरक रहेको बताउँ छन् । उनले भने, ‘हामीले भनेको समाजवादमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, स्वाधिनता हुन्छ । यी सबै कुराहरु कम्युनिष्ट साथीहरुका लागि वुर्जवा थिए, उहाँहरुको निजी सम्पत्ति हुनुहुन्न भन्ने मान्यता हो । हामीहरु निजी सम्पत्ति हुनुपर्छ भन्ने मान्यतामा छौँ । निजी सम्पत्ति हुनुहुन्न भन्नेहरु ०६२/०६३ को आन्दोलनपछि प्रचण्ड कमरेड भिटा खोज्दै पोखरा पुग्नुभयो । बाबुराम कमरेडले छोरीका नाममा काठमाडौँमा भिटा जोड्नुभयो । त्यसकारण निजी सम्पत्ति हुनुपर्छ भन्ने मान्यतामा उहाँहरु आइपुग्नुभयो ।’

उनले भने, ‘प्रेस स्वतन्त्रता हामी पहिले भन्थ्यौँ, उहाँहरुले अहिले भन्दै हुनुहुन्छ । उहाँहरु जनअदालत भनेर भन्नुहुन्थ्यो, हामी सर्वोच्च अदालत भन्थ्यौँ । उहाँहरु त्यहीँ आउनुभयो । भनेको मतलब हामीले समाजवादको बाटो अनुसारको कर्म गरेका छौँ । गर्दैगर्दा पर्याप्त गर्न सकेनौँ होला । त्यसको आत्माआलोचना हामी सार्वजनिक रुपमै गर्न तयार छौँ ।’

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०३ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल