नेपालमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै, यसरी बच्नुस् « Khabarhub

नेपालमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै, यसरी बच्नुस्


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ ।

कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको छ । तपाइ  खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ ।

सन् २०१९ को आठ महीनाको अवधिमा ५५५ जनामा रोगको सङ्क्रमण भएको र तीन जनाको अकालमा मृत्यु हुन पुगेको छ ।

अघिल्ला तीन वर्षमा सोही रोगका कारण १६ जनाले अकालमा ज्यान गुमाएका थिए । जेठ महीनाको अन्तिमदेखि कात्तिक महीनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो ।

महाशाखाका अनुसार सन् २०१७ मा ६७० सङ्क्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा सङ्क्रमित भई चार जनाको मृत्यु भएको थियो । सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी सङ्क्रमण प्रदेश नं ५ का जिल्लामा २२४ जनामा देखापरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश नं १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, प्रदेश नं ३ का सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्वमा सो रोग देखापरेको महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश नं ५ का गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा पनि रोग देखापरेको छ ।

स्क्रब टाइफस के हो ?

एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले सङ्क्रमित सुक्ष्म कीरा (माइट)को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ।

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ ।

रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने बताउँछन् ।

सङ्क्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ । सामान्यतया सङ्क्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।

रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । “रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छाड्छ (डिसअर्डर हुन्छ)”, उनले भने ।

कसरी बच्ने ?

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ। महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : ३७ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका