एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो, अख्तियारले थाल्यो अनुसन्धान « Khabarhub

एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो, अख्तियारले थाल्यो अनुसन्धान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ। उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो। कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ। आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ।

निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए। चेकजाँचका लागि केही कागजात नियन्त्रणमा लिइएको र उपमहानगरसँग थप कागजात माग गरिएको उनले जानकारी दिए। निरीक्षणमा गएको दिन उपमहानगरका लेखा अधिकृत बिदामा रहेकाले उपलब्ध हुन नसकेका निर्माण सम्झौतापत्र, बिल भुक्तानी माग गरिएको सूचना अधिकारी विष्टले बताए। ‘कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। सडकमै घाँस उम्रिएकाले यसको गुणस्तर हेर्न आयोगले प्राविधिक टोली खटाउँदै छ,’ उनले भने। अख्तियार टोलीले धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीसँग कालोपत्रे सडकबारे सोधपुछ पनि गरेको जनाएको छ।

सात सय २६ मिटर लामो यो सडक केएस टेडी जेभीले केही दिनअघि कालोपत्रे गरेको हो। धनगढी चौराहानजिक ११० मिटर लामो एनडी पथ र सद्भावना मार्ग एउटै प्याकेजमा राखेर भ्याटबाहेक एक करोड २१ लाख रूपैयाँमा निर्माण भएको हो। दुवै प्याकेज एउटैमा रहेको भन्दै उपमहानगरले सद्भावना मार्गमा मात्र खर्चिएको बजेट खुलाएको छैन। उपमहानगरका इन्जिनियर कमलराज ओझाका अनुसार सडकको दुवैतिरको नाली गत वर्ष नै उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो। नालीसम्मै सडक कालोपत्रे गर्ने सम्झौता रहेको उनले बताए।

नेकपाकाे एकीकरणमा त्रिपक्षीय समीकरण : पछिल्लो सहमतिले माधव नेपाललाई फाइदा शीर्षकको समाचारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ । भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ। एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो।

पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन्। यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन्। दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ। चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन्। यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो ।

पूर्वमाओवादीतर्फ ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’निकट पाँच र नौजना छन्। यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एकजना परे पनि सचिवमा कोही समेटिएका छैनन्।

नेकपाले ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय सचिवालयले पारित गरेको ७७ जिल्ला अध्यक्ष र सचिवहरूको सूची नै सार्वजनिक गरेको हो।

७३ प्रतिशत मतसहित हास्यकलाकार राष्ट्रपतिमा विजयी शीर्षकको समाचारमा युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन्। राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणले देखाएका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो।

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्विकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन्। सन् २०१४ देखि सत्तामा रहेका पोरोसेन्कोले ‘अप्रत्यासित’ निर्वाचन परिणामले देशलाई अनिश्चित दिशातर्फ लैजाने दाबी गरे। ‘म पद त्यग्छु, तर राजनीति कहिल्यै त्याग्दिनँ,’ उनले भने। पछिल्लो नतिजाबाट रुस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए । विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन्। मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको निर्वाचन परिणामले देखाएको जनाएको छ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पोरोसेन्को विरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए। जेलेन्स्कीले पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए, तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन्। युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोसेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : ३८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।