आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र | Khabarhub Khabarhub

आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला बन्दीगृह, सदरमुकाम कुश्माबजारमा बसपार्क निर्माण, घुम्ती–खनियाघाट, भुरुङ्दीखोला पुल, ठुलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायतका योजना छन् ।

साविकको धवलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह नौ वर्षदेखि अलपत्र अवस्थामा छन् । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दीगृह निर्माणको काम शुरु गरिएको थियो । तर रु १४ लाख मात्र बजेट आएपछि निर्माणाधीन अवस्थामै बन्दीगृह अलपत्र परेको छ । रु १४ लाखले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँटाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् । उक्त गृहमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गर्न शुरु गरिएको थियो ।

त्यसैगरी सदरमुकाम कुशमाबजारमा निर्माणाधीन बसपार्कसमेत लामो समयदेखि अलपत्र अवस्थामा छ । धवलागिरिका चार जिल्लामा आउजाउ गर्ने सयौँका सङ्ख्याका सवारीसाधन पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् । तत्कालीन अवस्थामा रु एक करोड ५९ लाख बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।

त्यसैगरी विसं २०६३ मा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी रु एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो । निर्माण पूरा भएर एक वर्षसम्म विद्युत् उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ । केन्द्रबाट विद्युत् उत्पादन गर्न बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्री अलपत्र छन् । कतिपय मेसिनरी सामग्रीको अब अवशेष मात्र बाँकी रहेका छन् । निर्माणका बेलामा रु एक करोडको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो ।

यता जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विसं २०५२ मा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । तेइस वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीयवासी झन्डै ४०० बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो । पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो ।

तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो । करीब एक वर्षसम्म धारामा पानी आयो तर त्यसपछि विस्तारै धारामा पानी आउन छोड्यो । अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराको त अवशेष पनि बाँकी छैन । वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाइकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्र्याक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो । विसं २०७३ मा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ को असारसम्ममा कालोपत्रसहित सडकको काम सक्ने गरी रु छ करोड ९६ लाख ९० हजार ६३१ मा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधीन पुल झण्डै चार वर्षअघि निर्माण शुरु भए पनि अलपत्र रहेको छ । निर्माण शुरु भएको केही महीनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका थिए । रु छ करोड १३ लाखको लागतमा बन्न लागेको पुल चालू आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : २७ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक