बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो « Khabarhub

बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ। सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको नयाँ पत्रिकामा खबर छ । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ। गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उनको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने कार्यक्रम छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले राष्ट्रपतिको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ।

यो रकमले नगरपालिकाले मञ्च र स्वागतद्वार निर्माण तथा ८० पाहुनालाई खानबस्नको व्यवस्था गरेको छ। राष्ट्रपति सेनाको ब्यारेकमा जाने कार्यक्रम भएकोले सिँढी पनि नगरपालिकाकै खर्चमा बनेको छ। ‘नगरपालिकाले तीन लाख खर्च गरेर सिमेन्ट, बालुवा–गिटी र ढुंगालगायत निर्माण सामग्री व्यवस्था गरिदिएको हो, जनशक्ति भने सेनाकै प्रयोग भएको छ,’ सूचना अधिकारी राईले भने। राईका अनुसार नगरपालिकाले सकेसम्म आफ्नै बजेट र जनशक्ति प्रयोग गरेर विकासका काम गरेको छ।

रातारात सडक पिच भएको देखेर चकित स्थानीय भन्दै थिए, ‘विकास निर्माण हुन त ठूलै मान्छे आउनुपर्ने रहेछ ।’ तर, बुधबार साँझ परेको पानीले पिच मात्र होइन उनीहरूको विश्वास पनि पखालिदियो ।

तीन दिनभित्र भएको विकास निर्माणको काम देखेर ओखलढुंगा सदरमुकामका बासिन्दा चकित थिए। ‘सडकका खाल्डा आधा घन्टामै पुरिए। सरसफाइ र मर्मतलगायत तमाम काम तीन दिनमै फत्ते भए,’ स्थानीय सुविन राजभण्डारीको भनाइ थियो, ‘विकास हुन त ठूला मान्छेहरू जिल्ला आइरहनुपर्ने रहेछ। तर, यस्तो विकास कसरी दिगो होला ?’

तर, उनीहरूको त्यो आशा पनि बुधबार साँझ भ्रममा परिणत भयो जब ओखलढुंगा बजारमा पानी पर्‍यो। बुधबार साँझको पानीले सडकको नयाँ पिच बगाइदियो। सडक जस्ताको तस्तै भएको छ। त्यसो त, सदरमुकामका सडकमा वर्षौँदेखि ठुल्ठूला खाल्डा थिए। ढल व्यवस्थित थिएन। मन्दिर र पार्कहरू फोहोरले कुरूप थिए। तर, राष्ट्रपति आउने भनेपछि रातारात विकासको ‘मूल फुटेको’ थियो।

पानीले पिच पखाले पनि अरू तयारीमा भने नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन। तीन दिनमै बजारक्षेत्र बेहुलीझैँ सिँगारिएको छ। स्वागत ब्यानर र ध्वजापताकाले झिलिमिली पारिएको छ। सडकका खाल्डाखुल्डी पुरिएका छन्। सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय र सेनाको ब्यारेकआसपासको सिँढी निर्माण गरिएको छ। यो सबै राष्ट्रपतिको भव्य स्वागतका लागि गरिएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

‘नराम्रो देखाउँ भन्ने हुँदैन। स्वाभाविक रूपमा हामीले सकेसम्म राम्रो गर्ने र देखाउने प्रयास गरिरहेका छौँ। राष्ट्रपतिज्यूको भ्रमणलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौँ। सुरक्षा प्रबन्धसहितका तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ,’ बुधबार दिउँसो पत्रकार सम्मेलनमा नगरप्रमुख श्रेष्ठले भने, ‘राष्ट्रप्रमुखको आगमनले सिद्धिचरण नगरपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौँ।’

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : १४ बजे

प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडाैँ – नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै

युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको घोषणा

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : नेता गच्छदार

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं – जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ

खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल