ओलीले बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं « Khabarhub

ओलीले बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदनलाई लिएर चर्किएको विवाद अझै समाधान हुन सकेको छैन ।

पार्टी पुनर्गठनसम्बन्धी दुई प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी पाएका तीन नेतामध्ये दुई जनाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निम्तोसमेत अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले बुधबार कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई भक्तपुरको गुन्डुस्थित निवासमा बोलाएका थिए । प्रतिवेदनको भाषा तथा विषयवस्तुमा सहमति जुटाउने उद्देश्यले ओलीले तीनै नेतालाई बोलाएको बताइएको छ ।

तर, बादल गुन्डु पुगे पनि पौडेल र पोखरेल भने गएनन् । उनीहरूले ओलीलाई आफूहरू गुन्डु नआउने र प्रतिवेदनमार्फत नै आफ्नो धारणा स्पष्ट गर्ने सन्देश पठाएका छन् ।

दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिने जिम्मेवारी पाएका तीन नेताबीच नै सहमति नजुटिरहेका बेला ओलीले उनीहरूलाई गुन्डु बोलाएका हुन् ।

बल्थली बैठकबाट नमिलेको विवाद

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल शनिबारदेखि सोमबार दिउँसोसम्म काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा बसेको थियो । त्यहाँ दुई छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भए पनि एउटै निष्कर्षमा पुग्न सकेन ।

त्यसपछि कार्यदलले संयोजक बादल, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल रहेको तीन सदस्यीय सम्पादन टोली गठन गरी दुवै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी दिएको थियो ।

उक्त बैठकमा उठेका विषयलाई समेटेर दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिइएको थियो । त्यसका लागि कार्यदलको बैठक १ असोजसम्मका लागि स्थगित गरिएको थियो । तर सम्पादन टोलीले समेत अहिलेसम्म विवाद टुंग्याउन सकेको छैन ।

पोखरेलको प्रतिवेदनमा ओलीको नेतृत्वमाथि प्रश्न

कार्यदलका महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत पोखरेलको प्रतिवेदनमा छ। यो प्रस्ताव कार्यान्वयनमा आए अध्यक्ष ओलीको नेतृत्व निरन्तरतामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

विशेष महाधिवेशनको प्रस्तावसमेत पोखरेलको प्रतिवेदनमा समेटिएको छ। यही विषयलाई लिएर ओली पक्ष असन्तुष्ट रहेको नेताहरूले बताएका छन् ।

बादलको प्रतिवेदनमा ओलीको विकल्प नखोज्ने प्रस्ताव
कार्यदल संयोजक बादलले भने छुट्टै प्रतिवेदन तयार गरेका छन् । उनको प्रतिवेदनमा तत्काल अध्यक्ष ओलीको विकल्प खोज्न नहुने धारणा समेटिएको छ ।

बादलको प्रतिवेदनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासहितका विषयमा फरक दृष्टिकोण अघि सारेको छ। दुई प्रतिवेदनका मूल प्रस्तावमै फरक देखिएपछि कार्यदलमा विवाद चर्किएको हो ।

कार्यदलमा पोखरेलको प्रतिवेदनलाई बहुसंख्यक सदस्यको समर्थन रहेको दाबी गरिएको छ । उपाध्यक्ष पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत प्रभावशाली नेताहरू पोखरेलको प्रस्तावको पक्षमा रहेको बताइएको छ ।

बल्थलीमा कार्यदलको बैठक चलिरहेका बेला अध्यक्ष ओलीले संयोजक बादललाई फोन गरेर विशेष महाधिवेशन र प्रतिनिधि परिषद्को विषयमा सहमति नगर्न निर्देशन दिएका थिए ।

ओलीले बादललाई भनेका थिए, ‘विशेष महाधिवेशन र प्रतिनिधि परिषद्मा सहमति नगर्नू। गर्नुपर्ने अवस्था आए बैठक क्यान्सिल गरेर हिँड्नू ।’

पोखरेलको प्रतिवेदनमा विशेष महाधिवेशनको प्रस्ताव आएपछि ओली पक्ष थप दबाबमा परेको नेताहरूको भनाइ छ ।

च्यासलमा पनि तीन नेताबीच छलफल

बुधबार दिउँसो एमाले केन्द्रीय कार्यालय च्यासलमा बादल, पौडेल र पोखरेलबीच छलफल भएको थियो। त्यहाँ पनि दुई प्रतिवेदनलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।

तर सहमति जुट्न नसकेपछि ओलीले साँझ तीनै नेतालाई गुन्डु बोलाएका थिए । बादल गुन्डु पुगे पनि पौडेल र पोखरेलले भने नजाने निर्णय गरेका हुन् ।

यससँगै दुई प्रतिवेदनलाई एउटै बनाउने जिम्मेवारी पाएको तीन सदस्यीय टोलीमै मतभेद कायम रहेको देखिएको छ ।

एमालेको पुनर्गठन कार्यदल गत जेठ १० गते बसेको सचिवालय बैठकबाट गठन भएको हो। फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको ‘अकल्पनीय धक्का’ पछि एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन कार्यदल गठन गरिएको थियो ।

कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ छन् । पछिल्लो समय ओलीसँग दूरी बढाएका महासचिव पोखरेलसहित १५ जना सदस्य कार्यदलमा छन् ।

पोखरेललाई ओलीले कार्यदलको सदस्य-सचिवको जिम्मेवारी दिएका थिए। गत शुक्रबार च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक बादलले दुईवटा प्रतिवेदन प्रस्तुत गरेका थिए । एउटा महासचिव पोखरेलको तर्फबाट तयार भएको प्रतिवेदन थियो भने अर्को बादलले प्रस्तुत गरेको संशोधित प्रतिवेदन थियो ।

दुई प्रतिवेदनबीचको मतभेद चर्किएपछि कार्यदल बल्थली पुगेको थियो । तीन दिनको छलफलपछि पनि सहमति नजुटेपछि बादल, पौडेल र पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गर्ने जिम्मेवारी दिइएको थियो ।

तर २९ भदौसम्म आइपुग्दा सम्पादन टोलीबाट समेत सहमति ननिस्किएपछि विवाद थप जटिल बनेको छ । बुधबार ओलीले तीन नेतालाई गुन्डु बोलाएको घटनाले पनि कार्यदलको प्रतिवेदनको विवाद अझै गहिरो रहेको संकेत गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ८ : ४२ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि