वैदेशिक रोजगारीका लागि नेपाली विभिन्न मुलुकमा पुगेजस्तै विदेशी पनि नेपालमा कामदारका रुपमा आउँछन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।
विभिन्न झन्झट व्यहोर्दै नेपाली कामदार विदेसिनुपर्ने बाध्यता भए पनि विदेशी कामदार भने नेपालमा निर्वाध अवैधरुपमा काम गरिरहेका छन् । अझ त्यो भन्दा अचम्म कतिपय विदेशीलाई अवैधरुपमा काम गर्न सरकारले नै छुट दिइरहेको भेटिएको छ ।
यसको ज्वलन्त उदाहारण हो– नेपालस्थित उत्तर कोरियाली एक रेष्टुरेन्टमा कार्यरत उत्तर कोरियाली कामदार ।
रेष्टुरेन्टमा अवैध कामदार
ललितपुरको सानेपामा एउटा रेष्टुरेन्ट छ– हिमालय सोजे रेष्टुरेन्ट । रेष्टुरेन्टको बोर्डमा कोरियन र अंग्रेजी भाषामा लेखिएको रेष्टुरेन्टको नाम स्पष्ट देखिन्छ ।
केही समय अघि मात्र सञ्चालनमा आएको त्यो रेष्टुरेन्टमा अहिले ६ जना उत्तरकोरियन नागरिकले अवैध रुपमा काम गरिरहेका छन् । ती मध्ये तीन जनाको त पर्यटक भिसा छ । बाँकी तीन जनाले पनि श्रम स्वीकृति नलिइकन काम गरिरहेका छन् ।
हिमालय सोजे रेष्टुरेन्ट प्रा. लि.को नाममा उद्योग विभागमा २०७५ भदौ २० गते Ju Ok Hwang र IL Hyang Kang को नाममा रेष्टुरेन्ट दर्ता भएको देखिन्छ । तर रेष्टुरेन्ट काठमाडौंको लाजिम्पाटमा राख्ने भनेर दर्ता गरिए पनि ललितपुरमा खोलिएको छ ।
१ सय सिट क्षमता र २३ जना कामदार राख्ने भनेर दर्ता गरिएको यो रेष्टुरेन्टमा कार्यरतक कामदार अवैध छन् ।

दरबारमार्ग स्थित प्योङयोङ आर्रेयाङ रेष्टुरेन्ट बन्द
अघिल्लो वर्षको बैशाख तेस्रो साता अवैध रुपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको महानगरीय अपराध महाशाखाको विशेष टोलीले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको दरबारमार्ग स्थित प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ लगत्तै प्रहरीले अध्यागमन विभागको जिम्मा लगाए पनि दबाबका कारण विभागले उनीहरुलाई तत्काल छाडेको थियो । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिनै नेपालमा काम गर्दै आएका थिए । उनीहरु बिजनेस भिसामा नेपाल आएर गैरकानूनी तरिकाले श्रमिकका रुपमा कार्यरत थिए ।
अवैध रुपमा काम गरेको भन्दै प्रहरीले काङ जोङ रियोल (Kang Jong Ryol), किम हेइ रियोन (Kim Hye Ryon), जोङ सोङ मी (Zong Song Mi), जी याङ गोङ (Zi Yang Gyong), रि ग्याङ योङ (Ri Gang Yong), रि ओक मी (Ri Ok Mi), क्याङ इल हाङ (Kang Il Hang), ह्युङ्ग जु ओक (Hyung Ju Ok), योङ्ग उन जोङ्ग (Young Un Jong), किम उन हाइ (Kim Un Hye) र रिम जो यो (Rim Jo Yo) लाई पक्राउ गरेको थियो ।
पक्राउ पछि कारवाही हुन नसक्दा लामो समयसम्म उनीहरुले निर्वाध रुपमा प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टमै काम गरिरहे । तर, रेष्टुरेन्ट पटक–पटक विवादमा परेपछि अन्ततः बन्द भयो ।
त्यहाँका केही कामदारहरु उत्तरकोरिया नै फर्किए भने केही सानेपाको हिमालय सोजे रेष्टुरेन्टमा अवैध रुपमा काम गरिरहेका छन् । उत्तर कोरियाले आफ्नो जासुसी संयन्त्रलाई बलियो बनाउन रेस्टुरेन्ट सञ्चालन गरेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघले उत्तरकोरिया माथि आणविक हतियार उत्पादन र परीक्षण गरेको भन्दै कडा नाकाबन्दी गरेको छ । तर, नेपालले भने उत्तर कोरियालीहरुलाई निर्वाध रूपमा बिजनेस भिसामा श्रम गर्न दिइरहेको छ ।
उद्योग विभागको सूचीमा हेर्ने हो भने अहिले १०० प्रतिशत लगानीमा ५ वटा रेष्टुरेन्ट दर्ता भएको देखिन्छ ।
यस्तो छ दर्ता सूची
२०६४ असार २५ गते, Tong Min Ri को नाममा काठमाडौंको गोलढुंगामा चलाउने भन्दै १६ बेड ३२ सिट क्षमताको रेष्टुरेन्ट सर्भिस दर्ता
२०६४ साउन ३० गते, Young Ju Kim को नाममा २०० सिट क्षमताको रेष्टुरेन्ट सर्भिस दर्ता
२०७५ असार ८ गते, Hwang UN HA, Sin Yong IM र Ri Chang Nam को नाममा १५० सिट क्षेमताको बोतोङगाङ्ग रेष्टुरेन्ट एण्ड बार प्रा.लि. (Botonggang Restaurant and Bar pvt. ltd) दर्ता ।
२०७५ असोज १५ गते, Jong Kum Yong, Pak Son Hui र Ho IL Ran को नाममा १ सय सिट क्षमताको मिनास रेष्टुरेन्ट एण्ड बार प्रा.लि. दर्ता
काठमाडौंको कमलादीस्थित तेस्रो तलामा रहेको द बोटोङ्गाङ रेष्टुरेन्ट एन्ड बारमा १४ जना उत्तरकोरियन नागरिक अवैध रुपमा काम गरिरहेका छन् । यो रेष्टुरेन्ट एन्ड बार उनीहरुले चिनियाँ नागरिकबाट खरिद गरेका हुन् ।
यसरी विदेशी कामदारले अवैधरूपमा गतिविधि बढाउँदा सुरक्षा खतरा बढ्न सक्ने विश्लेषकहरूको ठहर छ ।

अमेरिकी दबाबपछि उत्तर कोरियालीमाथि निगरानी
खबरहबले उत्तर कोरियालीले नेपाली भूमि प्रयोग गरी अवैध गतिबिधि सञ्चालन गरिरहेको विषयमा खोजमूलक समाचारको श्रृङ्खला शुरु गरेको थियो । त्यही क्रममा उत्तर कोरियालीहरुले नेपालमा बसेर ह्याकिङ गरिरहेको लगायत विभिन्न अवैध गतिविधिको खुलासा भएपछि सरकारी निकायको ध्यानाकृष्ट भएको थियो ।
सरकारी टोलीले छानविन शुरु गर्न नपाउँदै उत्तर कोरियाली ह्याकरहरु आफू बसेको घर नै खाली गरेर भागेका थिए । उत्तर कोरियालीमाथि निगरानी बढेपछि नेपाली साझेदारहरु पनि उनीहरुको सम्पर्कबाट विच्छेद भएका थिए ।
खबरहबमा समाचार प्रकाशन भएपछि अनुगमन गर्दा दमौलीमा सञ्चालनमा आएको ‘ने कोर्यो’ अस्पतालमा कार्यरत चिकित्सहरुले विना श्रम स्वीकृति नै काम गरिरहेको पुष्टि भएको थियो ।
पर्यटक भिसामा आएर ने कोर्यो अस्पतालमा काम गरिरहेका डाक्टरहरुलाई राख्न उत्तर कोरियाली दूतावासले राजनीतिक लबिङ गरेपनि गुणस्तरको प्रश्न उठाउँदै मेडिकल काउन्सिलले सेवा बन्द गर्न पत्र काटेको थियो । अस्पतालले गुणस्तहीन सेवा दिइरहेको र अवैध भएको पुष्टिसँगै अन्ततः अस्पताल बन्द भयो । बन्द अस्पताल खुलाउन उत्तर कोरियाली कुटनीतिज्ञहरु अहिले पनि नेकपाका केही नेताहरुमार्फत राजनीतिक लबिङमा जुटिरहेका छन् ।
उत्तर कोरियालीका अवैध आर्थिक गतिविधि बढेसँगै अमेरिकी विदेशमन्त्री पम्पेओले गत फागुनमा प्रधानमन्त्री ओलीलाई पत्र लेखेर उत्तर कोरियाली अवैध गतिविधि रोक्न आग्रह गरेका थिए । अमेरिकी दबाबको बेवास्ता गर्दै नेपालमा उत्तर कोरियाली गतिविधि बढेसँगै अमेरिकी अधिकारीहरुले नेपाली नेतृत्वसँग प्रत्यक्ष भेटवार्ता गरी धारणा मागेका थिए ।
नेपालमा अपमानित हुँदै उत्तर कोरियाली कुटनीतिज्ञ
अमेरिका र उसका साझेदारहरुले नेपालमा उत्तर कोरियाली अवैध गतिविधि रोक्न निरन्तरको दबाबपछि नेपालमा उत्तर कोरियाली कुटनीतिज्ञसँग उच्च अधिकारीहरु भेटवार्ता गर्न हच्किएका छन् ।
नेपालस्थित अमेरिकी दूतावास र उसका साझेदारहरुले परराष्ट्रमन्त्रालयलाई दुई पटकसम्म पत्राचार गरी संयुक्त राष्ट्रसंघीय नाकाबन्दी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि उत्तर कोरियालीसँग नेपाल सर्तक बनेको हो ।
अमेरिकी अधिकारीहरुले उत्तर कोरियासँगको सम्बन्ध र उसका अवैध गतिविधि नरोके नेपालसँगको सम्बन्ध र सहायता नै प्रभावित हुने चेतावनी दिएपछि सरकारले उत्तर कोरियाली कुटनीतिज्ञसँगको भेटवार्तामा सावधानी अपनाउन थालेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक पटक उत्तर कोरियाली राजदूतसँग भेटेका थिए । पछि उत्तर कोरियाली राजदूतले पटक-पटक भेटवार्ताका लागि समय मागे पनि ज्ञवालीले भेट दिएका छैनन् ।
उत्तर कोरियालीहरु परराष्ट्रमन्त्रीको उत्तर कोरिया भ्रमण र उत्तर कोरियालीहरुको नेपाल भ्रमणका लागि पहल गरिरहेको भए पनि अहिले उनीहरुले परराष्ट्र सचिव शंकरदास बैरागीलाई समेत भेट्न सकेका छैनन् ।
अमेरिकी दबाबसँगै परराष्ट्रका उच्च अधिकारी अहिले उत्तर कोरियालीसँग सजग र सतर्क बन्न थालेका छन् । उनीहरुले गर्ने भोजभतेरको निम्तोमा समेत जान छाडेका छन् ।
गत कार्तिकमा द्विपक्षीय व्यापार र लगानी विस्तारको लागि अमेरिकाको वासिङ्टन डिसीमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क (टिफा) काउन्सिलको बैठकमै अमेरिकी व्यापार प्रतिनिधि मार्क लिनस्कटले नेपालमा उत्तर कोरियाली अवैध गतिविधिको फेहरिस्ता सुनाउँदै यस्ता गतिविधिले दुई देशको व्यापार सम्बन्धमा धक्का पार्ने चेतावनी दिएका थिए ।
नेपालको तर्फबाट टोली नेता रहेका तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले अमेरिकी चासो सम्बोधन गरिने प्रतिवद्धता जनाए पनि उत्तर कोरियालीको अवैध आर्थिक गतिविधि रोकिएको छैन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उत्तर कोरियालीले भेटका लागि पटक–पटक समय मागे पनि दिएका छैनन् ।
गत ३ पुस मा अमेरिकाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा अमेरिकी समकक्षी माइक पम्पेओले उत्तर कोरियाले नेपालमा गरिरहेको अवैध गतिविधि प्रस्तुत गर्दै नेपाललाई संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वय गर्न ध्यानाकर्षण गराएका थिए ।
मन्त्री ज्ञवालीले नेपाली भूमि प्रयोग गरी उत्तर कोरियालीलाई गतिविधि गर्न नदिइने बताए पनि अवैध गतिविधि नरोकिएपछि अमेरिकीहरु आक्रोशित बनेका छन् ।
उत्तर कोरियालीका अवैध आर्थिक गतिविधि बढेसँगै विदेशमन्त्री पम्पेओले गत फागुनमा प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर उत्तर कोरियाली अवैध गतिविधि रोक्न आग्रह गरेका थिए । अमेरिकी दबाबको बेवास्ता गर्दै नेपालमा उत्तर कोरियाली गतिविधि बढेसँगै अमेरिकी अधिकारीहरुले नेपाली नेतृत्वसँग प्रत्यक्ष भेटवार्ता गरी धारणा मागेका थिए ।
गत जेठको पहिलो साता नेपाल भ्रमणमा आएका अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यबाहक उपसहायक मन्त्री डेभिड जे रेन्जले गृहमन्त्री रामबहादुर थापासँगको भेटवार्तामा उत्तरकोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।
भेटपछि आफ्ना सल्लाहकारमार्फत सन्देश पठाउँदै गृहमन्त्री थापाले काम गर्दा पारदर्शीता अपनाउन, कार्यालय तोकिएको स्थानमा बोर्डसहित सञ्चालन गर्न र अर्को देशविरुद्ध नेपाली भूमि प्रयोग नगर्न उत्तर कोरियालीलाई सुझाब दिएका थिए ।
गत जेठको अन्तिम साता काठमाडौं आएका अमेरिकी विदेशदूत मार्क लाम्बर्टले नेपाली नेताहरुलाई उत्तर कोरियाली अवैध गतिविधि रोक्न र राष्ट्रसंघीय जिम्मेवार देश नेपाललाई उत्तर कोरियालीको अवैध आर्थिक संकलन गर्ने भूमि बनाउन नदिन आग्रह गरेका थिए ।
उत्तर कोरियाली राजदूतले परराष्ट्र, गृह, श्रम, उद्योगलगायत मन्त्रीहरुसँग भेटवार्ताको लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेपनि भेट्न सकेका छैनन् । उनीहरुले अहिले पनि शीर्ष नेताहरुलाई भेटी राजनीतिक पहुँचको आधारमा अवैध काम गर्न खोजिरहेका छन् ।
उत्तर कोरियालीले नेपाली भूमि प्रयोग गर्दै अवैध रकम लैजान थालेपछि नेपाल सरकार र शीर्ष नेता उत्तर कोरियासँग आजित बनेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उत्तर कोरियालीले पटक–पटक भेटका लागि समय मागे पनि दिएका छैनन् ।
उत्तर कोरियाली कुटनीतिज्ञहरु प्रचण्डलाई भेट्न पार्टीकै धेरै नेताहरुलाई गुहारे पनि प्रचण्डले बेवास्ता गरिरेका छन् । दबाब बढ्दै गएपछि केही नेताहरुको सुझाबमा गत असारमा उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना गतिविधि सञ्चालन गर्न दिनका लागि आग्रह गरेका थिए ।
त्यस यता पनि परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री ओलीसँग भेटवार्ताको आग्रह गर्दा नमिलेपछि राजदूत मेनले जबरजस्ती भेट्ने कोशिस गरेका थिए । उनले असारको पहिलो साता २ पटक समय नै नलिइ बालुवाटार पुगे पनि कुनै उच्च अधिकारीले नभेटी फर्काइएको बालुवाटार स्रोतको दाबी छ ।
उत्तर कोरियाली राजदूतले परराष्ट्र, गृह, श्रम, उद्योग लगायत मन्त्रीहरुसँग भेटवार्ताको लागि पटक पटक परराष्ट्र मन्त्रालयमा पत्राचार गरेपनि भेट्न सकेका छैनन् । उनीहरुले अहिले पनि शीर्ष नेताहरुलाई भेटी राजनीतिक पहुँचको आधारमा अवैध काम गर्न खोजिरहेका छन् ।
नेपालमा उत्तर कोरियालीका अवैध गतिविधि बाहिर आउन थालेपछि नेकपाका शीर्ष नेता र मन्त्रीहरु उत्तर कोरियाली कुटनीतिज्ञसँग तर्केर हिड्न थालेका छन् । उत्तर कोरियालीहरु भने फरक–फरक अवैध व्यवसाय चलाउँदै अझैपनि रकम जम्मा गरिरहेका छन् ।
यो पनि पढौं
श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द
नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर
नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण
ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा
नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो
श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर
प्रतिक्रिया