महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (बर्खास्तीमा परेका) एसपी दिल्ली विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आर्चायको इजलाशले विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । न्यायाधीश आचार्यको इजलाशले विष्टसँग हिरासतमा रहेका व्यक्तिलाई यातना दिएको आरोपमा ६ लाख र घटनाको अनुसन्धानमा लापरवाही गरेको तथा प्रमाण नष्ट गरेको आरोपमा ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको हो ।
यद्यपि विष्टले भने अदालतले तोकेको धरौटी नबुझाएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले खबरहबलाई जानकारी दिए ।
‘अदालतले साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको छ,’ अवस्थीले खबरहबसँग भने, ‘उहाँले आज ५ बजेसम्म धरौटी बुझाउनुभएन भने थुनामा पठाइन्छ ।’
गत साउन १० गते बलात्कार हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनुसन्धानमा लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको भन्दै विष्टसहित ८ जना तत्कालीन प्रहरी अधिकार/कर्मचारीविरुद्ध अदालतमा जाहेरी परेको थियो ।
तत्कालीन एसपी विष्टसहित जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, जिप्रका कञ्चनपुरका इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध अनुसन्धानका क्रममा यातना दिएको अभियोगमा मुद्दा दर्ता भएको थियो । यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध प्रमाण नस्ट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।
निर्मलाकी आमा दूर्गादेवी पन्तले विरुद्ध अनुसन्धानमा लापरवाही गरेको तथा घटनासँग सम्बन्धित प्रमाण नस्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
यस्तै निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा संलग्न रहेको भन्दै गत भदौ पहिलो साता पक्राउ परेका दिलीपसिंह विष्टका खडक सिंह विष्टले हिरासतमा रहेका बेला यातना दिएको भन्दै जाहेरी दिएका थिए ।
विष्टसहित अन्य ८ जना तत्कालीन प्रहरी अधिकारी/कर्मचारीविरुद्ध अदालतमा जाहेरी दर्ता भएकोमा ६ जना धरौटी तिरेर रिहा भइसकेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का तत्कालीन डिएसपी (हाल) निलम्बित अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् ।
प्रतिक्रिया