३ वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनःनिर्माणको विधि तय | Khabarhub Khabarhub

३ वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनःनिर्माणको विधि तय


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आइतबार बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो ।

रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइनेछ । त्यहाँको सबै बालुवा निकाली माटो नमिसिने गरी जम्मा गरिनेछ । पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करीब दुई फिटको बालुवा राखिनेछ ।

पोखरीको डिल निर्माणका बारेमा पनि प्राधिकरणले निर्णय गरेको छ । विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार मिलाइनेछ । पोखरीको डिलको माथिल्लो भागमा ठूलो माअप्पा इँट्टाको पेटी लगाइनेछ ।

पोखरीको डिल र पैदलमार्गको छेउसम्म इँट्टा सोलिङ एवं लाइम कङ्क्रिट गरिन्छ । यसपछि ठाडो इँट्टा बिछ्याइनेछ । हालै बनाइएको ढुङ्गाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई पैदलमार्ग तहमा लाइम कङ्क्रिटपछि माअप्पाकै रेलिङ वाल बनाइने जनाइएको छ । पैदलमार्गमा इँट्टा सोलिङ र लाइम कङ्क्रिट गरी दुई इञ्च बाक्लो कालो ढुङ्गा बिछ्याइनेछ ।

पोखरीको सिँढीमा बस्न ढुङ्गाको पेटी राखी बाहिरबाट इँट्टा (माअप्पा) ले मोड्ने, साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुङ्गाको पेटी बनाइन्छ । बाहिरबाट इँट्टा (माअप्पा) ले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीको निर्माण हुनेछ ।

पोखरीको पानीका लागि पूर्वतर्फ बोरिङको व्यवस्था गर्ने र ठाउँठाउँमा आकाशे पानी सङ्कलन गर्ने संयन्त्र निर्माण गर्ने निर्णय पनि गरिएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्चीको पाइप लाइनसँग जोड्ने ठाउँ पनि खुला राखिनेछ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम बनाइनेछ ।

रानीपोखरीको मध्यभागमा स्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ‘ड्राई ड्रेस स्टोन वाल’ लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँट्टाहरु प्रयोग गरिनेछ ।

पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइम र सुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएसम्म पुरानै इँट्टाको प्रयोग हुनेछ । पुलको पैदलमार्गमा कालो ढुङ्गाले पेभिङ गर्ने र पुलको दायाँ एवं बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इञ्चको पर्खाल निर्माण गरिने निर्णयसमेत प्राधिकरणले गरेको छ ।

बालगोपालेश्वर मन्दिर प्रताप मल्ल कालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने निर्णय यसअघि नै भइसकेको छ । मन्त्रिपरिषद्को गत माघ १४ गतेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो ।

बैठकमा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की, वरिष्ठ स्ट्रक्चरल इञ्जिनीयर प्रेमनाथ मास्के, पुरुषोत्तम डङ्गोल र पूर्णबहादुर श्रेष्ठ, प्राधिकरणका वरिष्ठ डिभिजनल इञ्जिनीयर ध्रुव पौडल र पुरातत्व अधिकृत भीष्म बाँस्कोटा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : २५ बजे

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ

हाउथीले इजरायलमा आक्रमण नरोक्ने

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा