रानीपोखरीमा प्राधिकरणले फेरि चलायो डोजर, जोगिएला सम्पदाको मौलिकता ? | Khabarhub Khabarhub

रानीपोखरीमा प्राधिकरणले फेरि चलायो डोजर, जोगिएला सम्पदाको मौलिकता ?

पुनर्निर्माणबाट पछि हटे भक्तपुरे महिला



काठमाडौं– केही दिनअघिसम्म भक्तपुरे महिलाले भरिएको रानीपोखरी अहिले सुनसान देखिएको छ । पोखरीभित्र दुईवटा डोजर चलिरहेका छन् भने बालगोपालेश्वर मन्दिरको पर्खाल उठाउने काम केही कामदारहरुले गरिरहेको देखिन्छ ।

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण गत फागुन २० गतेबाट शुरु भएको थियो । जसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको काम शुरु गरेको थियो ।

उपभोक्ता समितिले भक्तपुर नगरपालिकाका ख्यातीप्राप्त ५० जना महिला ल्याएर रानीपोखरी तयार पार्ने योजनासहित काम अघि बढाएको थियो । सोहीअनुरुप ती महिलाहरुले पोखरीको पर्खाल र जमिनको इँटा तथा माटो बिछ्याइरहेका थिए ।

अहिले रानीपोखरी पुनर्निर्माणमा दुई छुटाछुटै समूहले काम गरिरहेका छन् । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम सीएमसी कम्पनीले गरिरहेको छ ।

प्राधिकरणले सम्पदा पुनर्निर्माणमा चलायो ठूला औजर

भक्तपुरका ५० जना महिला दैनिक रानीपोखरी पुनर्निर्माण खटिरहेका थिए । उनीहरुले हात र खुट्टाले माटो मुस्ने देखि पानी अड्याउनका लागि कालो माटो बिछ्याउने काम गर्दै आएका थिए ।

तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम छिटै सक्ने र पुनर्निर्माण लागत थोरै हुने भन्दै रानीपोखरीमा डोजर चलाएको छ । डोजर चलाएसँगै सबै महिलाहरु काम छोडेर गएका छन् । यसअघि पनि प्राधिकरणले रानीपोखरीमा डोजर चलाउँदा बिरोध भएको थियो ।

रानीपाखेरी भित्र अहिले २ वटा डोजर रहेका छन् । दुईवटा डोजरले माटो ओसार्ने, माटो मुस्ने काममा एस्काभेटरको प्रयोग भइरहेको छ ।
ऐतिहासिक महत्वका सम्पदामा प्रविधिको प्रयोग भइरहेको भन्दै सम्पदा अभियान्ताहरुले विरोध समेत गरिरहेका छन् ।

लागत र समयलाई मध्यनजर गर्दै डोजर चलाइयो : प्राधिकरण

तोकिएको समयावधिमा काम नसकिने भएपछि डोजर चलाएको प्राधिकरणका सम्पदाविज्ञ राजुमान महर्जनले खबरहबलाई जानकारी दिए । ‘भूकम्प गएको लामो समयसम्म रानीपोखरी विवादमै अल्झिरह्यो’ उनले भने ‘पुनर्निर्माण सुरु भएसपछि राम्रोसँग काम अघि बढ्न सकेको थिएन ।’

‘१ टिप माटो मुछ्न १० जना महिलालाई ५ दिन लाग्यो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘एक टिप माटो मुस्न मात्र ५० हजार लाग्यो त्यसरी त लागत तेब्बर नै पर्न गयो नि ।’

त्यसरी हेर्दा लागत तेब्बर पर्न जाने बताउँदै उनी भन्छन्, ‘हामीसँग समय पनि थोरै छ सम्माननीय प्रत्रानमन्त्री ज्यूले समेत छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ त्यसकारण पनि प्रविधिको प्रयोग गरिएको हो ।’

उनकाअनुसार डोजर लगाएसँगै मानिसले २६ दिनमा गर्ने काम डोजरले १ दिनमै गरिरहेको उनले बताए । ‘महिलाहरुले हात खुट्टाले काम गर्दा अझै ५ वर्ष पनि लाग्न सक्थ्यो’ उनले भने ‘डोजरको प्रयोगले समयमै सकिने देखेका छौं ।’

अहिले रानीपोखरीमा इट्टा राख्नका लागि ५ जनामात्रै कामदार रहेका छन् ।

प्रविधिको प्रयोगले जोगिएला त रानीपाखेरीको मौलिकता ?

त्यसो त सम्पदा पुनर्निर्माणमा पहिलो प्राथमिकता मानवीय श्रमलाई दिइन्छ । पुरातात्विक दृष्टिकोणले हेर्ने हो भने आधुनिक तथा ठूला औजारहरु सम्पदा क्षेत्रमा प्रयोग गर्न मिल्दैन । मौलिकता बचाउनका लागि पनि मानवीय श्रमलाई महत्वका रुपमा हेरिन्छ ।

ऐतिहासिक तथा साँस्कृतिक महत्वका सम्पदामा प्रविधिको प्रयोग हुनु हुँदैन र पुरानै शैलीमा जस्ताको त्यस्तै बनाउनुपर्ने पुरातत्वविद्हरु बताउँछन् ।

रानीपोखरीमा डोजरको प्रयोग भएसँगै पछि पानी थिग्रन्छ कि थिग्रदैन र दीर्घकालीन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा महर्जन जवाफ दिन्छन्, ‘हामीले यसअघि ट्याङ्की बनाएर पानी र माटोको परीक्षण गरेका थियौं, पानी काहीबाट छिर्दैन ।’

‘ढुवानीको साधनका रुपमा डोजर चलाएका हौं’ उनी भन्छन्, ‘पुरातात्विक महत्वका कुराहरुलाई ध्यानमा राखेरै सुरक्षाका साथ काम अघि गरिरहेका छौं ।’

प्राधिकरणले रानीपोखरी बनाउनका लागि ९ करोड ५४ लाख बजेट छुट्याएको छ ।

आगामी पुष मसान्तभित्र पोखरी वरीपरी गारो लगाउने र बीचमा माटो बिछ्याएर सोलिङ गर्ने काम सम्पन्न गरिसक्ने महर्जनले बताए ।

किन रानीपोखरीको काम छोडेर गयो उपभोक्ता समिति ?

गत वर्षको फागुन २० गतेबाट रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिले भक्तपुरका सीपालु महिलाहरु ल्याएर पुनर्निर्माण सुरु गरेको थियो ।

भक्तपुर नगरपालिकाले यसअघि सोही क्षेत्रको भाजुपोखरी निर्माण गरि उदाहरणीय बनेका सीपालु महिलाहरुलाई ल्याएर काम गरेको समितिका संयोजक कृष्णप्रसाद दुमरुले खबरहबलाई जानाकारी दिए ।

उनीहरुले रानीपोखरीमा रहेको घाँसलाई फडानी गर्ने, आगो लगाउने, सरसफाइ गर्ने पोखरीको चारैतिर गारो लगाउनका लागि माटो मुछ्ने, इट्टा बोक्ने बालुवा र मसला तयार गर्ने लगायतका काम गरिरहेका थिए ।

हालसम्मको काम हेर्दा गारो लगाउने काम लगभग ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

पोखरीमा माटो बिछ्याउने र इँट्टा राख्ने काम सुरु गर्ने बेलामा उनीहरुले रानीपोखरी छोडेर गएका छन् । प्राधिकरणले रानीपोखरी पुनर्निर्माणमा डोजरको प्रयोग गरेसँगै समितिमार्फत आएका ५० जना महिलाहरुले काम छोडेको दुमरु बताउँछन् ।

सम्पदाभित्र मेशिनको प्रयोग गर्ने भएपछि समितिले काम छोडेको हो ।

‘काम छिट्टै सक्न प्राधिकरणले भनिरहेको थियो’ उनले भने ‘हामीले पहिल्यै पनि भनेका थियौं, यो काम ढिला हुन्छ पुरातात्विक सम्पदाको क्षेत्रमा कार्यशैलीअनुसार नीति नियमप्रति प्रतिवद्ध रहेर काम गर्ने हो भने ढिलाइ हुन्छ नै ।’

विवादित रानीपोखरीमा उपभोक्ता समति प्रवेश गरेसँगै काम विवादरहित ढंगमा पुनर्निर्माण कार्य अघि बढेको दुमरुको भनाइ छ ।

गारो लगाउन बाँकी २५ प्रतिशत कामका लागि प्राधिकरणले समितिलाई बोलाएमा समिति जहिले पनि रानीपोखरी प्रवेश गर्न तयार रहेको उनले बताए ।

तस्वीर–अदीप श्रेष्ठ

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ५४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित