साग फुटबलबाट पन्छिँदै भारत, नेपाललाई च्याम्पियन बन्ने अवसर | Khabarhub Khabarhub

साग फुटबलबाट पन्छिँदै भारत, नेपाललाई च्याम्पियन बन्ने अवसर



काठमाडौं– १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ ।

आइतबार औपचारिक रुपमै इन्डियन ओलम्पिक एसोशिएसन (आईओए) ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रष्ट पारेको छ ।

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो टोली भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा स्वर्ण जितेको छ ।

तर, पछिल्लो २४ वर्षदेखि भारत सागमा स्वर्णविहीन टोलीका रुपमा रहेको छ । आफ्नै भूमिमा सम्पन्न सागमा सातौं सागमा स्वर्ण पदक जितेको भारतीय फुटबल टोली त्यसयता बलियो बन्दै गए पनि सागमा भने स्वर्ण जित्न सकेको छैन् ।

यद्यपि भारत सागमा हुँदा र नहुँदाको माहौल भने छुट्टै हुने गरेको नेपाली फुटबलका जानकारहरु बताउँछन् । उनीहरुको मान्यता छ कि भारत मात्रै यस्तो टोली हो, जोसँग खेल्ने दक्षिण एसियाली देशहरुले यस्तै ठूला प्रतियोगिता कुर्नु पर्दछ ।

नेपाली टोलीका पूर्व खेलाडी तथा राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक राजुकाजी शाक्य विश्वकपमा ब्राजिल, अर्जेन्टिना र जर्मनी नखेल्नु र सागमा भारत नखेल्नु एउटै हुने बताउँछन् ।

‘भारत बलियो टोली हो । यसमा उसले खेल्दा माहोल छुट्टै हुन्छ । विश्वकपमा ब्राजिल, अर्जेन्टिनाहरुले नखेल्नु र सागमा भारतले नखेल्नु एउटै कुरा हो,’ शाक्य भन्छन्, ‘भारतलाई नेपालीले मन पराउँदैनन् । त्यसैले पनि नेपालले भारतसँग खेलेको हेर्न रुचाउँछन् ।’

भारतले दोस्रो ढाका, तेस्रो कलकत्ता र सातौं मदरासमा भएको सागमा स्वर्ण जितेको थियो । त्यसयता भने भारत सागमा च्याम्पियन बन्न सकेको छैन ।

नेपालसामू थप चुनौती

सागमा भारत सहभागी हुँदा नेपालका लागि उसको डर रहन्थ्यो । तर, यो संस्करणमा भारत सहभागी नहुने भए पछि नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्नै पर्ने दबाव रहनेछ ।

आफूभन्दा बलियो टोली प्रतियोगितामा सहभागी नहुने भए पछि नेपालका लागि माल्दिभ्स र बंगलादेशले चुनौती प्रस्तुत गर्न सक्नेछन् । तर, यी दुवै टोली तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मानिन्छन् । यस क्षेत्रमा भारतपछि नेपाल बलियो टीम मानिन्छ ।

१२ औं संस्करणमा भारतले खेलेको खेलमा उसलाई उसैको मैदानमा पराजित गरेको नेपाली फुटबल टोलीलाई लगातार दोस्रो संस्करण जित्ने अवसर रहेको छ । तर, भारतविनाको प्रतियोगितामा खेलेर स्वर्ण जित्दा यसअघिको माहोल भने हुने छैन् ।

१२ औं सागमा स्वर्ण बिजेता नेपाली फुटबल टोली

बंगलादेश र माल्दिभ्ससँग भने पराजित हुने अवसर नेपाली टोलीलाई रहने छैन । काठमाडौंमा हुन लागेको सागमा स्वर्ण जित्दै सागमा चार स्वर्ण जितेको पाकिस्तानसँग बराबरी गर्ने अवसर नेपालले चुकाउनु नहुने विश्लेषकहरुको भनाइ ।

‘भारत हुँदा स्वर्ण जितेको छ भने उ नहुँदा स्वर्ण जित्ने सम्भावना बढी रहन्छ । त्योसँगै अन्य टोलीलाई पराजित गर्दै स्वर्ण जित्न नेपालसामू दबाब पनि बढेको छ,’ फुटबल विश्लेषक मिश्रले भने ।

भारत– पाकिस्तान दुवै सहभागी नहुने

सागमा चार स्वर्ण जितेको पाकिस्तानको फुटबल टिमले शुरुमै साग नखेल्ने बताइसकेको थियो । तर, भारतले टाई सिट ड्र गरिसकेपछि नखेल्ने बारे औपचारीक जानकारी दिएको हो । राजनीतिक तनावमा रहेका कारण पनि दक्षिण एसियाली खेलकुदमा यी दुई टोली रहँदा खेलले ठूलै चासो पाउँछ ।

तर, सागमा यी दुई टोली सहभागी नहुँदा छुट्टै माहोल बनाउन सक्नु सागमा सहभागी देशका खेलाडीले त्यस्तै राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

नेपाली फुटबल विश्लेषक मिश्र भारतले सहभागीता नजनाउँदा सागमा फुटबलको माहोल कम हुन सक्ने बताउँछन् । ‘भारत नहुँदा सागमा फुटबलको जुन वातावरण बन्थ्यो, त्यो हुँदैन,’ मिश्रले भने ।

साग फुटबलमा पन्छिँदै भारत

सागमा बलियो टोली भारत सहभागी हुँदा अन्य टोलीका लागि राम्रो एक्सपोजर पनि हुन्छ । तर, पछिल्लो समय भारत सागबाट पन्छिँदै गएको छ । सन् २००४ मा सागमा यु–२३ फुटबल टोलीले खेल्ने मापदण्ड बनेदेखि भारतले सिनियर टोली खेलाएको छैन ।

२००४ पाकिस्तान, २००६ श्रीलंकामा भएका सागमा भारतले यु–२० टिमलाई सागमा सहभागी गराएको थियो भने २०१० ढाकामा भएको सागमा भारतले १९ वर्ष मुनिको टिमलाई सागमा सहभागी गराएको थियो । तर, २०१६ मा गुवाहाटीमा भएको सागमा भने भारतले २३ वर्षमुनिको टोलीलाई मैदान उतारेको थियो ।

उक्त संस्करणमा भारतलाई २–१ गोलले पराजित गर्दै नेपाल सागमा तेस्रो पटक च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ०८ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी