साग फुटबलबाट पन्छिँदै भारत, नेपाललाई च्याम्पियन बन्ने अवसर « Khabarhub

साग फुटबलबाट पन्छिँदै भारत, नेपाललाई च्याम्पियन बन्ने अवसर



काठमाडौं– १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ ।

आइतबार औपचारिक रुपमै इन्डियन ओलम्पिक एसोशिएसन (आईओए) ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रष्ट पारेको छ ।

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो टोली भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा स्वर्ण जितेको छ ।

तर, पछिल्लो २४ वर्षदेखि भारत सागमा स्वर्णविहीन टोलीका रुपमा रहेको छ । आफ्नै भूमिमा सम्पन्न सागमा सातौं सागमा स्वर्ण पदक जितेको भारतीय फुटबल टोली त्यसयता बलियो बन्दै गए पनि सागमा भने स्वर्ण जित्न सकेको छैन् ।

यद्यपि भारत सागमा हुँदा र नहुँदाको माहौल भने छुट्टै हुने गरेको नेपाली फुटबलका जानकारहरु बताउँछन् । उनीहरुको मान्यता छ कि भारत मात्रै यस्तो टोली हो, जोसँग खेल्ने दक्षिण एसियाली देशहरुले यस्तै ठूला प्रतियोगिता कुर्नु पर्दछ ।

नेपाली टोलीका पूर्व खेलाडी तथा राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक राजुकाजी शाक्य विश्वकपमा ब्राजिल, अर्जेन्टिना र जर्मनी नखेल्नु र सागमा भारत नखेल्नु एउटै हुने बताउँछन् ।

‘भारत बलियो टोली हो । यसमा उसले खेल्दा माहोल छुट्टै हुन्छ । विश्वकपमा ब्राजिल, अर्जेन्टिनाहरुले नखेल्नु र सागमा भारतले नखेल्नु एउटै कुरा हो,’ शाक्य भन्छन्, ‘भारतलाई नेपालीले मन पराउँदैनन् । त्यसैले पनि नेपालले भारतसँग खेलेको हेर्न रुचाउँछन् ।’

भारतले दोस्रो ढाका, तेस्रो कलकत्ता र सातौं मदरासमा भएको सागमा स्वर्ण जितेको थियो । त्यसयता भने भारत सागमा च्याम्पियन बन्न सकेको छैन ।

नेपालसामू थप चुनौती

सागमा भारत सहभागी हुँदा नेपालका लागि उसको डर रहन्थ्यो । तर, यो संस्करणमा भारत सहभागी नहुने भए पछि नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्नै पर्ने दबाव रहनेछ ।

आफूभन्दा बलियो टोली प्रतियोगितामा सहभागी नहुने भए पछि नेपालका लागि माल्दिभ्स र बंगलादेशले चुनौती प्रस्तुत गर्न सक्नेछन् । तर, यी दुवै टोली तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मानिन्छन् । यस क्षेत्रमा भारतपछि नेपाल बलियो टीम मानिन्छ ।

१२ औं संस्करणमा भारतले खेलेको खेलमा उसलाई उसैको मैदानमा पराजित गरेको नेपाली फुटबल टोलीलाई लगातार दोस्रो संस्करण जित्ने अवसर रहेको छ । तर, भारतविनाको प्रतियोगितामा खेलेर स्वर्ण जित्दा यसअघिको माहोल भने हुने छैन् ।

१२ औं सागमा स्वर्ण बिजेता नेपाली फुटबल टोली

बंगलादेश र माल्दिभ्ससँग भने पराजित हुने अवसर नेपाली टोलीलाई रहने छैन । काठमाडौंमा हुन लागेको सागमा स्वर्ण जित्दै सागमा चार स्वर्ण जितेको पाकिस्तानसँग बराबरी गर्ने अवसर नेपालले चुकाउनु नहुने विश्लेषकहरुको भनाइ ।

‘भारत हुँदा स्वर्ण जितेको छ भने उ नहुँदा स्वर्ण जित्ने सम्भावना बढी रहन्छ । त्योसँगै अन्य टोलीलाई पराजित गर्दै स्वर्ण जित्न नेपालसामू दबाब पनि बढेको छ,’ फुटबल विश्लेषक मिश्रले भने ।

भारत– पाकिस्तान दुवै सहभागी नहुने

सागमा चार स्वर्ण जितेको पाकिस्तानको फुटबल टिमले शुरुमै साग नखेल्ने बताइसकेको थियो । तर, भारतले टाई सिट ड्र गरिसकेपछि नखेल्ने बारे औपचारीक जानकारी दिएको हो । राजनीतिक तनावमा रहेका कारण पनि दक्षिण एसियाली खेलकुदमा यी दुई टोली रहँदा खेलले ठूलै चासो पाउँछ ।

तर, सागमा यी दुई टोली सहभागी नहुँदा छुट्टै माहोल बनाउन सक्नु सागमा सहभागी देशका खेलाडीले त्यस्तै राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

नेपाली फुटबल विश्लेषक मिश्र भारतले सहभागीता नजनाउँदा सागमा फुटबलको माहोल कम हुन सक्ने बताउँछन् । ‘भारत नहुँदा सागमा फुटबलको जुन वातावरण बन्थ्यो, त्यो हुँदैन,’ मिश्रले भने ।

साग फुटबलमा पन्छिँदै भारत

सागमा बलियो टोली भारत सहभागी हुँदा अन्य टोलीका लागि राम्रो एक्सपोजर पनि हुन्छ । तर, पछिल्लो समय भारत सागबाट पन्छिँदै गएको छ । सन् २००४ मा सागमा यु–२३ फुटबल टोलीले खेल्ने मापदण्ड बनेदेखि भारतले सिनियर टोली खेलाएको छैन ।

२००४ पाकिस्तान, २००६ श्रीलंकामा भएका सागमा भारतले यु–२० टिमलाई सागमा सहभागी गराएको थियो भने २०१० ढाकामा भएको सागमा भारतले १९ वर्ष मुनिको टिमलाई सागमा सहभागी गराएको थियो । तर, २०१६ मा गुवाहाटीमा भएको सागमा भने भारतले २३ वर्षमुनिको टोलीलाई मैदान उतारेको थियो ।

उक्त संस्करणमा भारतलाई २–१ गोलले पराजित गर्दै नेपाल सागमा तेस्रो पटक च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ०८ बजे

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण