काठमाडौं – सानैमा आमा गुमाएको र बाबुबाट टाढा भएको एक युवकको मनोदशा कस्तो होला? बाबुले जबरजस्ती विदेश पठाएका कारण हङकङ पुगेका युवाहरु ११ वर्षपछि फर्केर आउँदा नेपालप्रति कस्तो व्यवहार गर्लान्? के उनीहरु नेपालमै हुर्केको जस्तो व्यवहार गर्लान्?
वास्तविक जीवनमा कस्तो मनोदशा होला । त्यो फरक पाटो हो । तर, ‘चच हुई’ मा भने यो फिल्ममा रमाइलो किसिमले देखाइएको छ ।
आर्यन सिग्देल र भोलाराज सापकोटा ११ वर्षदेखि एउटा कम्पनीमा काम गरिरहेका छन् । उनीहरुले कम्पनीमा पनि राम्रोसँग काम गर्दैनन् । सधै काम बिगार्ने प्रेम (आर्यन सिग्देल) र भोला (भोलाराज सापकोटा) लाई कम्पनीले कामबाट निकालिदिन्छ ।
जागीर छोडेपछि उनीहरुको भेट काशीराम (माओत्से गुरुङ) सँग हुन्छ । मोस्ट वान्टेड सूचीमा परेका काशीरामले उनीहरुलाई नेपाल फर्किन कन्भिन्स गराउँछ ।
छुट्ने बेलामा काशीरामले एक किताब उपहार दिन्छ । त्यसपछि बाबु खोज्न निस्केका युवा एक किताबको चक्करमा फस्छन्, यही विषयलाई कथानक बनाइएको छ ।
व्वावसायिक रुपमा सफल बन्न नसकेको यो फिल्मले समीक्षा पनि राम्रो पाउन सकेन । आखिर किन रुचाइएन त यो फिल्म? कारण खोजौँ ।
कमजोर कथा
निर्देशक साम्तेन भुटिया राम्रा निर्देशक मानिन्छन् । उनले यसअघि निर्देशन गरेका फिल्मले समीक्षा राम्रो पाएका थिए । तर, ‘चच हुई’ मा भने साम्तेन चुकेका छन् । फिल्मको कथा कमजोर छ । सामान्य कथालाई कमेडी शैलीमा तयार पार्न खोजे पनि फिल्ममा नै कमेडी छैन ।
एकाध संवादले बाहेक फिल्ममा हँसाउने खुराक त्यस्तो केही छैन । फिल्मका प्लट पनि शक्तिशाली लाग्दैनन् । संवादले दर्शकको मन जित्दैन ।
कलाकारको अभिनय
नेपाली जुन फिल्म हेर्दा पनि कलाकारको अभिनय उस्तै हुन्छ । ती पात्र र चरित्रलाई मेकरले फरक रुपमा जीवित बनाउन खोज्दैनन् । कलाकार जस्तो देखिन्छ, उस्तै खालको भूमिकामा कलाकारलाई देख्न सकिन्छ ।
‘चच हुई’ मा आर्यन सिग्देल मात्र होइन, भोलाराज सापकोटा, मिरुना मगरलाई पनि सामान्य भूमिकामा देखाइएको छ । जस्तो यी कलाकार पहिले अन्य फिल्ममा हुन्थे । त्यो बाहेक फिल्ममा नयाँपन केही छैन । अभिनयमा नयाँपन छैन । चरित्र उस्तै छ । राम्रो अभिनय गर्न सक्ने कलाकारलाई लिएर पनि साम्तेनले अभिनय गराउन भने सकेका छैनन् । बरु माओत्से गुरुङको काम केही फरक छ ।
स्टारडम र प्रचार
हुन त आर्यन सिग्देलले आफू नम्बर वान अभिनेता हुन यो क्षेत्रमा नआएको बताउँदै आएका छन् । ‘चच हुई’ मा आर्यनको स्टारडम देखिनुपर्ने हो । फिल्मको त्यही अनुसार चर्चा हुनुपर्ने हो । तर, फिल्ममा न त आर्यनको क्रेज देखिन्छ, न त रिलिजअघि प्रचार पनि त्यसरी नै गरिएको थियो ।
केही समययता फिल्म चलाउन पनि खुलेर प्रचार गर्नुपर्ने अवस्था छ । किनकि, फिल्मबीच प्रतिस्पर्धा धेरै छ ।
दर्शकलाई अहिले कुन फिल्म हलमा चलिरहेको छ भन्ने नै मतलब हुन छोडेको छ । यो फिल्म एक तहमा राम्रो बनेर पनि नचल्नुको कारण यसको प्रचार नै पर्याप्त नहुनु हो । नेपालमा योभन्दा पनि कमजोर फिल्म हेर्न हलसम्म दर्शक ओइरिएका उदाहरण पनि छन् ।
निर्देशन
साम्तेन भुटियाको काम फिल्ममा खासै देखिँदैन । कलाकारको अभिनयमा दम नहुनुको कारण निर्देशकीय कमजोरी पनि हो । उनले फिल्मलाई कस्तो बनाउने भनेर पक्कै पहिले नै खाका बनाएका थिए । तर, त्यो फिल्म त्यति शक्तिशाली भएन ।
निर्देशक साम्तेन भुटियाले फिल्मलाई व्यावसायिक बनाउने धाउन्नमा फिल्मको मूल्य मान्यता नै भुलिदिएको भान हुन्छ ।
प्रतिक्रिया