भाग्यले बाँचेका दुवाल दम्पत्ती | Khabarhub Khabarhub

भाग्यले बाँचेका दुवाल दम्पत्ती


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रत्येक दिनको साँझले तिमिलालाई झस्काउँछ । जब दिन अध्यारो बन्दै जान्छ तब, भक्तपुरकी तिमिला दुवालको मनमा चिसो पस्छ । उनको मानसपटलमा सँधै कालो दिन बनेर आउने गरेको छ २०७२ वैशाख १२ गतेको सम्झना । भूकम्पले सँधै मन काप्ने तिमिला पुनर्जन्म पाएको भन्दै खुसी पनि साट्छिन् ।

वैशाख १२ गते । घडीमा ११ बजेर ५६ मिनेट गएको थियो । जुन दिन हजारौँ नेपालीले ज्यान गुमाएका थिए लाखौँको संख्यामा घाइते भएका थिए, धेरै मानिसहरु घरविहीन बन्न पुगेको थिए भने कति भाग्यले बाँचेका पनि छन् ।

त्यसमध्ये भक्तपुरकी ३३ वर्षीया तिमिला दुवाल पनि एक हुन्। उनका परिवार खेतमा आलु खन्न गएका थिए । भक्तपुर जिल्लाको ‘झौ खेल’ मा तिमिलाको साढे तीन तलाको घर थियो । सबैभन्दा माथिको तलामा भान्साकोठा थियो । उनी श्रीमानको साथमा भान्साकोठामा खाना बनाइरहेकी थिइन ।

‘शुरुमा घर हल्लिए जस्तो लाग्यो, चारैतिर चरा कराइरहेका थिए, मानिसहरुको कोलाहल उस्तै सुनिन्थ्यो’ उनले त्यो दिनको स्मरण गर्दै भनिन् ।

भूकम्प आउँदा कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारे थाहा थियो तर त्यो समय कहाँ दिमागमा आउँदो रहेछ र उनले थपिन । त्यसमाथि उनी गर्भवती थिइन् । उनको पेटमा ९ महिनाको बच्चा थियो ।

‘बिस्तारै घरको सिढी चढ्न त गाह्रो हुने समय भइसकेको थियो, भाग्ने त कुरै छोडौं’ तिमिलाले भनिन् ।

भूकम्प गएको हप्तादिन अघि मोटरसाइकल दुर्घटनामा परी उनका श्रीमानको एउटा खुट्टा भाचिएको थियो । जसले उनी पनि हिड्न सक्ने अवस्थामा थिएनन् ।

‘मेरो त भाग्न सक्ने अवस्था थिएन्, तिमिलालाई चाहिँ भाग् भाग भनिरहेको थिएँ’ उनका श्रीमान राजेश दुवालले भने । अचानक आफूलाई केही भइहाले पनि श्रीमती र बच्चालाई केही नहोस् भन्ने सोचले भाग्न आग्रह गरेको उनले बताए ।

साढे तीन तलामा माथि रहेकी तिमिला जसोतसो दोस्रो तलासम्म त आइपुगिन् । ‘जहाँ खुट्टा टेक्छु त्यहाँ अड्डिदैन, के गर्ने के नगर्ने अतालिएँ, पिलर समाए बेस्सरी र त्यही उभिएँ’ तिमिलाले काहालिलाग्दो दिन सम्झँदै भनिन् ।

‘मलाई त्यति बेला बाँच्छु जस्तो लागेकै थिएन’ उनले सुनाइन् । घर हल्लिएको महशुस भइरहेको थियो ।

अपशोच उनको साढे तीन तले घर ढल्यो । राजेश र तिमिला ढलेको घरमा पुरिए । त्यसपछि उनले केही सुनाउन सकिनन् । घरले पुरिएका उनीहरुलाई खोज्न स्थानीयहरु भेला हुन थाले । खेतमा गएका उनका परिवारका सबै सदस्य घर आइपुगे ।

घरमा आइपुग्दा छोरा बुहारीलाई नै घरले पुर्‍यो रे भन्दा आफूले आफूलाई सम्हाल्न नसकेको राजेशकी आमाले बताइन् । उद्धारका लागि तुरुन्त डोजर ल्याए परिवारले । स्थानीयहरु चिच्याइरहेका थिए । सकुशल भेट्ने हो कि होइन भन्ने कुराले परिवारका सदस्यहरुलाई छटपटि लागिरहेको थियो ।

४ घण्टाको प्रतीक्षापछि तिमिला सामान्य घाइते तर बेहोस अवस्थामा घरको दोस्रो तलामा भेटिइन् । उनलाई घाइते अवस्थामा भेटिएसँगै राजेशलाई खोज्न परिवार आतुर भए ।

नेपालीहरुले भन्ने गरेका छन्– ‘दिन नआएसम्म केही हुदैँन’ । त्यस्तै भयो उनको परिवारलाई । राजेशलाई पनि सामान्य घाइतेकै अवस्थामा भेटियो । उनलाई घुँडामा सामान्य चोट लागेको थियो त्यसैले हस्पिटल जानुपर्ने अवस्था देखिएन ।

तर परिवारले तिमिलालाई भने भक्तपुर अस्पताल लगियो । उनको अनुहारमा गम्भीर चोट लागेको भन्दै उनलाई भक्तपुर अस्पतालले धुलिखेल रिफर गर्दियो । धुलिखेल हस्पिटलले आँखाको छेउमा ४ वटा टाका लगाइदियो । त्यो समयसम्म तिमिलाको होस आइसकेको थियो ।

‘भूकम्पले पुरेको भन्ने थाहा थियो, शरीरको कुनै पनि अंग चल्न नसक्ने जस्तै भएको थियो, जताततै दुख्थ्यो’ उनले भनिन् । ‘भगवान्‌ले मलाई बचाइदिए भन्दै मनमनै भगवानलाई पुकार गरेँ’ उनले भनिन् । तर मनमा एउटै कुराले पिरोल्न थाल्यो उनलाई । त्यो हो गर्भमा रहेको उनको बच्चा ।

पुनर्निर्माणपछिको तिमिलाको घर

एउटी गर्भवती महिलालाई गर्भमा रहेको सन्तानको भन्दा बढि माया कसको होला र ? ‘म त बाच्ने भएँ मेरो बच्चालाई केही भयो कि भन्ने कुराले चिन्तित बनाएको थियो’ उनले भनिन् ।

रिपोर्ट नआउन्जेलसम्म उनलाई निकै छटपटी भइरहेको थियो । केही समयको पर्खाइपछि हस्पिटलको रिपोर्ट आयो । रिपोर्ट सुनेर उनी खुसी भइन । उनको पेटको बच्चा पनि स्वस्थ्य रहेको खबर पाइन । हस्पिटलले तिमिलालाइ तीन दिनपछि डिसचार्ज गरिदियो ।

एकहप्ता पछि तिमिलाले छोरी जन्माइन । अहिले छोरी ४ वर्षकी भइसकिन् । उनी एलकेजीमा पढ्छिन् । तिमिला र राजेशलाईलाई अझै पनि वैशाख १२ गते भन्नासाथ मरेर बाँचेको दिन झै लाग्छ ।

उनले भने, ‘पहिलाको दिन सम्झँदा अहिले पनि दिउँसै रात परेजस्तो हुन्छ। हावाहुरी चल्दा पनि मन नै चिसो हुन्छ भूकम्प आउँछ जस्तो लाग्छ ।’

भूकम्पले भत्किएको उनको घर अहिले पुनर्निर्माण भइसकेको छ । भगवानले हाम्रो परिवारको खुसी खोस्न चाहेनन् दम्पत्तीले मुस्कुराउँदै भने ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : २९ बजे

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६