काठमाडौं-सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ। राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन्। ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन्। तर, सांसदहरू पुस्तकालय नै जाँदैनन्। संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेको नयाँ पत्रिकामा खबर छ ।
संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ। तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन्। पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन्। त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन।
४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरूले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांकसमेत छैन। तर, डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ। २७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रिय सभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड छ। ‘कुन सांसदले कति पुस्तक र कुन–कुन लानुभयो भन्ने विवरण उतार्न समय लाग्छ। सबै कुरा बताएर पनि हुन्न,’ पुस्तकालय प्रमुख कमलादेवी शर्माले भनिन्। संसद्को पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन। उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरू बताउँछन्।
माथिल्लो सदनका सांसद तुलनात्मक रूपमा बढी अध्ययनशील देखिएका छन्। पुस्तकालयमा गत पाँच महिनाको अवधिमा पुग्ने २७ सांसदमध्ये १७ जना राष्ट्रिय सभाकै छन्। ५९ सदस्यीय राष्ट्रिय सभाका अधिकांश सांसद पटकपटक पुस्तकालय पुग्दा प्रतिनिधिसभाका १० जना मात्रै सांसद पुस्तकालय पुगेका छन्।
संघीय संसद्का केही सांसद मात्रै दोहोर्याएर पुस्तकालय पुग्ने गरेका छन्। माघदेखि हालसम्म पटकपटक गइरहने सांसदमा अग्नि सापकोटा, कमला रोका, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, राजेन्द्रप्रसाद गौतम र उदया शर्मा छन्। पूर्वमन्त्री सापकोटा पछिल्लो पाँच महिनामा १२ पटक पुस्तकालय पुगे। माघमा तीन, फागुनमा चार, चैतमा तीन तथा वैशाख र जेठमा एक–एकपटक उनी त्यहाँ गएका छन्।
संघीय संसद् सचिवालय पुस्तकालय सुधारका लागि बजेट नभएको बताउँछ। पुस्तकालयका लागि चालू आर्थिक वर्षमा छुट्याइएको आठ लाखमध्ये ६ लाख खर्च भइसकेको र दुई लाख रुपैयाँ बाँकी रहेको सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। ‘पुस्तकालय व्यवस्थित भएन भन्ने गुनासो आएको छ। हामीले पनि व्यवस्थित बनाउन खोजिरहेका छौँ। तर, सरकारले आवश्यक बजेट दिएकै छैन,’ प्रवक्ता पाण्डेले भने। संघीय संसद्मा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा छ। पुस्तकालय भुइँतलामा सार्दा ठाउँ सानो भएको महाशाखा प्रमुख घनिन्द्रराज चिमोरियाले बताए।
०५६ अघिसम्म संसद्को पुस्तकालय हाल सचिवालय रहेको भवन नम्बर एकमा थियो। त्यसपछि भने भवन नम्बर दुईको एउटा तलामा पूरै पुस्तकालय राखियो। त्यो तलामा अहिले राष्ट्रिय सभाको सचिवालय तथा अन्य पदाधिकारीको कार्यकक्ष बनाउने भन्दै पुस्तकालयलाई भुइँतलामा सारिएको छ। सचिवालय स्रोतका अनुसार हाल भुइँतलामा पुस्तक असरल्ल छरिएका छन्, कतिपय कुनामा फालिएका छन् । धेरै पुस्तकमा ढुसी लागिसकेको छ, नष्ट हुने जोखिम छ । पुस्तकालय लथालिंग बनेको छ। त्यहाँ पुग्ने सांसदहरू बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन्।
आवश्यक पुस्तक नपाए सांसदहरू रिसाउने गरेको कर्मचारी बताउँछन्। ‘माननीयज्यूहरू आउनुहुन्छ, सबै पुस्तक उपलब्ध त छैन। उहाँहरूले भनेको पुस्तक पाउनुभएन भने हामीसँग झनक्क रिसाउनुहुन्छ,’ पुस्तकालय शाखाका एक कर्मचारीले दुःखेसो गरे।
पहिलो संविधानसभादेखि पछिल्लो रूपान्तरित व्यवस्थापिका संसद्सम्मका सांसदहरूले संसद्को पुस्तकालयबाट दुई सयभन्दा बढी पुस्तक लगेर फिर्ता नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ। तर, पुस्तकालय प्रमुख कमलादेवी शर्माले भने सबै पुस्तक फिर्ता भएको दाबी गरिन्। ‘हामीले ०७४ सम्मका सबै पुस्तक क्लियर गरिसकेका छौँ। विगतमा माननीयज्यूहरूले लगेका पुस्तक सबै फिर्ता भइसकेका छन्। लगेर पुस्तक फिर्ता नगरेकाहरूबाट पनि फिर्ता गरिसकेका छौँ,’ उनले भनिन्। तर, संसद्कै समितिले भने सांसदहरूले लगेर फिर्ता नगरेका पुस्तक किन्न आवश्यक निर्देशन दिने जनाएको छ।
पुस्तकालयको जिम्मेवारी सम्हालिरहेकी शर्माले ००८ देखिकै राजपत्र रहेको बताइन्। तर, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुगमन गर्दा ०१६ अघिको राजपत्र फेला पार्न सकेको छैन।
प्रतिक्रिया