यो भ्रमण युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर हो : उप-कप्तान ऐरी (अन्तरवार्ता) « Khabarhub

यो भ्रमण युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर हो : उप-कप्तान ऐरी (अन्तरवार्ता)



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन, दीपेन्द्र सिंह ऐरी । अहिले उनी सिंगापुर र ओमानमा हुने दुई अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने राष्ट्रिय टोलीको उप–कप्तानको जिम्मेवारीसहित भ्रमणमा निस्किएका छन् ।

राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल टोलीमा नरहँदा छनोट समितिले उनलाई उप–कप्तानको जिम्मेवारी दिएको हो ।

सन् २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका दीपेन्द्रले छोटो समयमै आफूलाई राष्ट्रिय टोलीमा स्थापित गर्न सफल भएका छन् । त्यतिमात्रै नभई कप्तान पारसपछिको कप्तानका रुपमा पनि दीपेन्द्रलाई हेर्न थालिएको छ । सन् २०१७ को मार्च ११ मा भएको आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्या विरुद्धको खेलबाट राष्ट्रिय टोलीका लागि टि–२० क्रिकेटमा उनले डेब्यु गरेका थिए । त्यसयता दीपेन्द्र राष्ट्रिय टोलीमा नियमित पर्दै आएका छन् ।

उमेर समूहमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका दीपेन्द्रले अहिले सिनियर टोलीको उप–कप्तानसम्मको जिम्मेवारी पाएका छन् । सिंगापुर र ओमान टुरका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली टोलीका कप्तान कारणवश टोलीमा नरहँदा दीपेन्द्रले नेतृत्वको जिम्मेवारी पाउने लगभग पक्का छ । उनै दीपेन्द्रसँग खबरहबले गरेको संक्षिप्त कुराकानी :

टिममा उप–कप्तानको जिम्मेवारी पाउँदा कस्तो महसुस गरिरहनु भएको छ ?

उपकप्तानको जिम्मेवारी पाउँदा एकदमै खुसी लागिरहेको छ । तर, जसरी पहिला म अन्य खेलाडीलाई हेर्थें र मैदानमा आफू पनि खेलाडी मात्रै भएर खेल्थें अहिले पनि खेल्ने त्यसैगरी हो । भूमिका मात्रै फरक हो । यद्यपि, टिमप्रतिको केही जिम्मेवारी थपिएको महसुस भएको छ ।

अब नेपालले सिंगार र ओमानमा गरी दुई श्रृंखला खेल्दै छ । सिनियर खेलाडी २–३ जना टिममा छैनन् । नेपालको प्रदर्शन कस्तो रहला ?

पहिला हामी सिंगापुरको जाँदै छौं । त्यहाँ रहँदा प्रत्येक खेललाई एक–एक गरेर हेर्छु । र, त्यहाँ सिनियर–जुनियर भन्दा पनि टिममा नयाँ खेलाडीहरुले कसरी खेल्ने र सिनियर खेलाडीबाट के सिक्ने भन्नेमा केन्द्रीत हुन्छौं ।

यो पटक एकैचोटी नेपालले धेरै खेल खेल्दै छ । यस्तो अवस्थामा दबाब हुन्छ कि हुँदैन धेरै युवा खेलाडी पनि छन् ?

सायद त्यस्तो दबाब चाहिँ हुँदैन होला । किनभने सबैले टि–२० खेलहरु खेलिरहेका छन् । घरेलु लिग भएपनि सबैमा खेलको अनुभव भइरहेको छ । सिनियर खेलाडीहरुसँग पनि युवा खेलाडी सबैले खेलिसकेका छन् । त्यस्तो दबाब हुन्छ जस्तो लाग्दैन मलाई ।

टोलीमा केही नयाँ र केही खेलाडीले पुनरागमन गरेका छन् । यसले गर्दा टिमको प्रदर्शनमा केही परिवर्तन त पक्कै आउँला । यस्तो अवस्थामा तपाईंले कुन पोजिसनमा ब्याटिङ गर्नुहुन्छ ?

म यो पोजिसनमा खेल्छु भनेर ठ्याक्कै त भन्न सक्दिनँ । खेलमा जस्तो अवस्था आउँछ । प्रशिक्षकले जुन परिस्थितिमा परिचालन गर्छन् । त्यसैमा म ब्याटिङ गर्छु । यसका साथै टिममा परेका युवा खेलाडीका लागि यो सुवर्ण अवसर पनि हो । उनीहरुले यो टुरमा आफूलाई प्रमाणित गर्ने मौकाको सदुपयोग गर्लान् भन्ने लाग्छ । त्यसका लागि पनि यो टुर महत्वपूर्ण छ भन्ने लाग्छ ।

पारस खड्काले टिमका सबै खेलाडीलाई कप्तानका रुपमा तयार पार्ने भन्दै अभिव्यक्ति दिएका छन् । यदि पारस टोलीमा रहेनन् भने पक्कै पनि तपाईंको काधमा जिम्मेवारी आउन सक्छ । त्यसका लागि आफूलाई कसरी तयार पार्नु भएको छ ?

पारस दाइ नेपाली क्रिकेटका लागि महत्वपूर्ण योगदान दिने खेलाडी मध्येका एक हुनुहुन्छ । उहाँको स्तरमा सायदै खेलाडी पुग्लान् । तर पनि टिमको नेतृत्व गर्ने जिम्मेवारी मेरो काँधमा आएको खण्डमा उहाँबाट मैले धेरै कुरा सिक्नु पर्छ नै ।

त्यसका लागि म तयार छु । कसरी सिक्न सक्छु, त्यसअनुसार आफूलाई मानसिक, शारीरिक, रणनीतिक सबै हिसाबमा तयार पार्ने छु ।

मैदानमा कसरी टिमको नेतृत्व गर्दै जीत हात पार्नेलगायत यस्ता धेरै कुरामा मैले आफूलाई तयार पार्न आवश्यक छ । यी सबै कुरा मैले पारस दाइबाट सिक्न पाउँछु र उहाँले पनि मलाई यसैगरी सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छु ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : १८ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति