भारतीय निर्वाचनमा उत्तर प्रदेश : मोदीदेखि गान्धीसम्म चुनावी मैदानमा | Khabarhub Khabarhub

भारतीय निर्वाचनमा उत्तर प्रदेश : मोदीदेखि गान्धीसम्म चुनावी मैदानमा




काठमाडौं– भारतमा आम निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक उचारचढाव र घटनाक्रम पनि उत्तिकै तीब्रताका साथ विकसित भइरहेका छन् । चुनावमा राजनीतिक पार्टीहरुबीच सबैभन्दा भीषण प्रतिस्पर्धा हुने राज्यमा उत्तर प्रदेशको नाम अगाडि आउँछ ।

आगामी अप्रिल ११ बाट शुरु हुने निर्वाचनका क्रममा उत्तर प्रदेशले सबैभन्दा धेरै लोकसभा सदस्यहरु चुन्दैछ । लोकसभाका ५ सय ४५ मध्ये उत्तर प्रदेशमा मात्र ८० सिट छन् । त्यसैले पनि यहाँ हुने मतदानले कुनै पनि राजनीतिक पार्टीको प्रदर्शनमा ठूलो अर्थ राख्छ ।

भारतका प्रभावशाली राजनीतिज्ञहरु प्रधानमन्त्री नरेन्द्र मोदी तथा विपक्षी भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि उत्तर प्रदेशबाटै चुनाव लड्दैछन् । त्यसकारण पनि उत्तर प्रदेशमा हुने लोकसभाको निर्वाचनले अर्थ राख्छ । यसपटकको चुनावमा राज्यस्तरमा प्रभावशाली रहेको बताइने पार्टीहरुले पनि ‘महागठबन्धन’को नाममा चुनावी गठबन्धन निर्माण गरेका छन् । त्यसले पनि चुनावलाई अझ रोचक बनाउने छ ।

उत्तर प्रदेशमा हुने चुनावलाई सामान्य रुपमा हेर्दा त्यहाँको धार्मिक तथा जातीय बनावटलाई पनि ध्यानमा राख्नु जरुरी हुन्छ । उत्तर प्रदेश जनसङ्ख्याको आधारमा भारतको सबैभन्दा ठूलो राज्य हो । उत्तर प्रदेशको जनसंख्या करिब २० करोड छ । यो जनसङ्ख्या जातीय, धार्मिक, भाषिक र साम्प्रदायिक रुपमा पनि उत्तिकै विविध छ । उत्तर प्रदेशमा ७९ प्रतिशत भन्दा धेरै मानिसहरु हिन्दू छन् भने १९ प्रतिशत भन्दा धेरै मुस्लिम धर्मावलम्बी छन् ।

हिन्दू र मुसलमान बाहेक शिख, जैन र अन्य धर्मका मानिसहरु पनि उत्तर प्रदेशमा बसोबास गर्दै आएका छन् । त्यसैले यहाँको चुनाव जित्नका लागि हरेकजसो पार्टीहरुले धार्मिक आधारमा बहुसङ्ख्यक हिन्दूहरुको मत तान्न विभिन्न रणनीति अख्तियार गर्ने गर्छन् ।

उसैपनि पपुलिष्ट हिन्दूवादी साँस्कृतिक तथा धार्मिक राष्ट्रवादी पार्टीको छवि बनाएको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) उत्तर प्रदेशमा निकै अगाडि छ । अघिल्लो आम निर्वाचनमा ८० सिटमध्ये भाजपा एक्लैले ६९ सिट आफ्नो नाममा पार्न सफल भएको थियो ।

भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए)मा आवद्ध ‘अपना दल’को दुई सिट समेत जोड्ने हो भने यो सिट ७१ हुन आउँछ । उत्तर प्रदेश भारतीय जनता पार्टी भाजपाको गढ नै मानिन्छ ।

भाजपाले आम चुनावका लागि उत्तर प्रदेशमा आफ्ना उम्मेद्वार उठाउँदा पनि धेरै नै सावधानी अपनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई बनारसबाट उम्मेद्वार उठाएको भाजपाले स्मृति इरानीलाई अमेठीबाट उम्मेद्वार उठाएको छ भने राजनाथ सिंहलाई लखनउबाट टिकट दिइएको छ ।

त्यसबाहेक हालसम्म उत्तर प्रदेशमा ३१ जना उम्मेद्वार उठाएको भाजपाले ६ जना वर्तमान लोकसभा सदस्यलाई हटाएको छ भने कैराना निर्वाचन क्षेत्रका अर्का उम्मेद्वारलाई टिकट नदिने भएको छ ।

खासगरी उत्तर प्रदेशका प्रभावशाली दुई दलहरु बहुजन समाज पार्टी र समाजवादी पार्टीले महागठबन्धनका नाममा गठबन्धन बनाएपछि यसले पनि भाजपालाई टाउको दुखाई बन्नसक्ने भारतीय सञ्चारमाध्यमहरु बताउँछन् । त्यसैलाई ध्यानमा राखेर पनि भाजपाले चुनाव जित्न सक्ने क्षमताका आधारमा उत्तर प्रदेशमा आफ्ना उम्मेद्वार छानेको बताइएको छ ।

उत्तर प्रदेशमा आफ्नो राज्य सरकार बनाउँदा कट्टर हिन्दू धार्मिक नेता योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएका कारण पनि भाजपाले हिन्दूहरुको संभावित मतलाई आकर्षित गर्न खोजेको स्पष्टै छ । त्यसबाहेक केन्द्र र राज्य सरकारमा रहेको भाजपाको अग्रसरतामा विभिन्न स्थानका ऐतिहासिक मुसलमान नामलाई परिवर्तन गरी हिन्दूत्वकरण गरेबाट पनि भाजपा हिन्दूहरुको मतलाई आकर्षित गर्न चाहिरहेको देखिन्छ । त्यस्तै राज्यमा हुने धार्मिक मेला तथा महत्वपूर्ण मन्दिरहरुमा पनि भाजपाका ठूला नेताहरुको बारम्बार उपस्थिती रहने गर्छ ।

उत्तर प्रदेशको राजनीतिमा अनुसूचित, दलित तथा पिछडिएका जातिका मानिसहरुको निकै ठूलो प्रभाव रहेको बताइन्छ । खासगरी हिन्दू धार्मिक तथा साँस्कृतिक राष्ट्रवादको आह्वानको प्रभावले नछुने समाजको तल्लो स्तरमा रहेका जातिका मानिसहरुले उत्तर प्रदेशमा हुने निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

त्यसका लागि राज्यस्तरका क्षेत्रीय दलहरुले अनुसूचित जातीका मानिसहरुको मत तान्न सक्छन् । खासगरी उत्तर प्रदेशमा प्रभावशाली मानिने दुई दलहरु बहुजन समाज पार्टी र समाजवादी पार्टीले महागठबन्धनको नाममा गठबन्धनको स्थापना गरेका छन् । दुई दलहरु मिलेर चुनाव लड्दा दुई दलबीचको मतविभाजन कम हुन गई त्यसबाट गठबन्धनले लाभ लिनसक्ने बताइन्छ ।

अघिल्लो चुनावको परिणाम विश्लेषण गर्दा सन् २०१४ मा उत्तर प्रदेशबाट समाजवादी पार्टीले मात्र ५ सिट जितेको थियो भने बहुजन समाज पार्टी सांसदविहीन बन्न पुगेको थियो । अर्को रोचक तथ्य के पनि छ भने २०१४ को चुनावमा ५ सिट जितेको समाजवादी पार्टीले २२.३५ प्रतिशत मत प्राप्त गरेको थियो भने एक सिट पनि जित्न नसकेको बहुजन समाज पार्टीले करिब २० प्रतिशत मत प्राप्त गरेको थियो । यसपटक यी दुबै पार्टीले गठबन्धन निर्माण गरेका कारण मत विभाजन कम हुन गई चुनावमा ठूलो प्रभाव पार्ने संभावना छ ।

यता मूलधारको भारतीय राजनीतिमा अगाडि रहेपनि भारतको विपक्षी पार्टी काँग्रेस उत्तर प्रदेशमा त्यतिधेरै प्रभावशाली देखिँदैन । सन् २०१४ मा भएको आम निर्वाचनमा काँग्रेसले उत्तर प्रदेशबाट मात्र २ सिट जितेको थियो । अमेठीबाट काँग्रेसका वर्तमान प्रमुख राहुल गान्धी र रायबरेलीबाट तत्कालीन प्रमुख सोनिया गान्धीले निर्वाचन जित्नुबाहेक उत्तर प्रदेशमा काँग्रेस पार्टीले कुनै पनि सिट जित्न सकेको थिएन ।

काँग्रेसले यसपटक भने उत्तर प्रदेशमा आफ्नो राजनीतिक प्रभावलाई विस्तार गर्न विभिन्न कदमहरु चालिरहेको छ । त्यसबाहेक काँग्रेसले गान्धी परिवारकी सदस्य तथा पार्टीका वर्तमान प्रमुख राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई उत्तर प्रदेशमा हुने निर्वाचनलाई महत्व दिएर मूलधारको राजनीतिमा तानेको छ ।

उनलाई काँग्रेस पार्टीले पूर्वी उत्तर प्रदेशको नेतृत्व सम्हाल्ने गरी महासचिव पदको जिम्मेवारी दिएको छ । उनले उत्तर प्रदेशमा काँग्रेस पार्टीका लागि मत माग्न विभिन्न राजनीतिक प्रचार र ¥यालीलाई पनि तीब्र पार्दै गइरहेकी छिन् । यद्यपि काँग्रेस पार्टीले हालसम्म सार्वजनिक गरेको उम्मेद्वारको सूचीमा प्रियंका गान्धीको नाम भने समावेश छैन ।

तर, उत्तर प्रदेशमा काँग्रेस पार्टीले राम्रो प्रदर्शन गर्नेमा भने काँग्रेस पार्टी नै शत प्रतिशत ढुक्क नरहेको काँग्रेस पार्टीका कदमले सङ्केत गर्छ । काँग्रेस पार्टी वर्तमान अध्यक्ष राहुल गान्धीले सन् २००४ यता उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् ।

त्यसअघि, राहुलकी आमा तथा काँग्रेस पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीले पनि त्यही निर्वाचन क्षेत्रबाट सन् १९९९ मा निर्वाचन जितेकी थिइन् । हुन पनि सन् १९९८ मा भएको निर्वाचनमा भारतीय जनता पार्टीका उम्मेद्वार डा. सञ्जल सिंहले चुनाव जित्नु अघिदेखि अमेठीको निर्वाचन क्षेत्रबाट काँग्रेस पार्टी र नेहरु गान्धी परिवारका सदस्यहरुले चुनाव जित्दै आएका छन् ।

तर, यसपटकको निर्वाचनमा भने राहुल गान्धी अमेठीका साथै दक्षिण भारतको अर्को निर्वाचन क्षेत्रबाट पनि आफ्नो उम्मेद्वारी दिन लागेको काँग्रेस पार्टीको श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसलाई अमेठीबाटै भारतीय जनता पार्टीको तर्फबाट उम्मेद्वारी दिएकी स्मृती इरानीले भने राहुल गान्धीलाई अमेठीले लखेटेको टिप्पणी गरेकी छिन् ।

के कारण छ जसले राहुल गान्धीलाई आफ्नो परम्परागत निर्वाचन क्षेत्रबाहेक दोश्रो निर्वाचन क्षेत्रबाट पनि उम्मेद्वारी दिन बाध्य बनायो ? आलोचकहरु काँग्रेस पार्टी अमेठीको निर्वाचन क्षेत्रमा ढुक्क हुन नसकेकाले राहुल गान्धीले दक्षिण भारतको अर्को निर्वाचन क्षेत्रबाट उम्मद्वारी दिनुपरेको भन्ने टिप्पणी गरिरहेका छन् । जे जस्तो भएपनि राहुल गान्धीले अमेठीबाहेक अर्को निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनुले अमेठीमा काँग्रेस पार्टी र पार्टीका कार्यकर्तालाई सकारात्मक सन्देश नजाने बताइन्छ ।

भारतमा हुने निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण र रोचक भीडन्त हुने राज्यको रुपमा रहेको उत्तर प्रदेशको नतिजाले ठूलो अर्थ राख्छ । क्रमैसँग राजनीतिक घटक्रम विकास हुँदै जाँदा राज्यमा त्यसैअनुसार चुनावी माहोल पनि तात्दै जानेमा शंका छैन । यस्तो अवस्थामा उत्तर प्रदेशले कस्ता र कुन पार्टीका उम्मेद्वारलाई लोकसभाका सदस्य बनाएर दिल्ली पठाउँछ, त्यो भने समयले देखाउने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : ११ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को